भक्तपुर - चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको गणेश डाँडामा रहेको गणेश माविमा आइतबार केही विदेशीहरु पुगे ।
शिक्षामा भैरहेको निजीकरणले कसरी सार्वजनिक विद्यालयलाई निलिरहेको छ ? भन्ने विषयमा शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकसँग प्रत्यक्ष साक्षात्कार गरी कारण पत्ता लगाउने उद्देश्यले आएका उनीहरुले गणेश मावि ताथलीको अवलोकन भ्रमण गरे ।
विक्रम सम्वत २०१६ सालमा स्थापना भएको सो विद्यालय ५८ वर्ष पार गर्दा विद्यालयले थुप्रै उतारचढाव झेलेको छ । भक्तपुरको पूर्वी भेगको शैक्षिक इतिहास निर्माणमा उल्लेख्य भूमिका खेलेको सो विद्यालयमा पुगेका विदेशीसहित विभिन्न संघसंस्थाका प्रतिनीधिहरु भने विद्यालयको गिर्दो अवस्था देख्दा चिन्तित भए, उनीहरुले दुःख मनाउ पनि गरे ।
उनीहरु विद्यालयमा पुगे, कक्षाकोठामा पुगे, केही विद्यार्थीसँग अन्तरक्रिया र सोधपुछ गरे, शिक्षकसँग परिचय गरी विद्यालयको बारेमा बुझे ।
करिब आधाघण्टा विद्यालयको बाहिरी वातावरणको अवलोकन गरेपछि टोलीले विद्यालयका शिक्षक, प्रअसँग विद्यालयको विगत, वर्तमान र भविष्यको बारेमा अन्तरक्रिया गर्यो । सो क्रममा विद्यालयकी प्रअ दिव्यकुमारी श्रेष्ठले विद्यालयको इतिहासदेखि वर्तमान अवस्थासम्म जानकारी दिईन् ।
उनका अनुसार विद्यालयमा १७ जना सरकारी दरबन्दीका शिक्षक, १ जना ईसिडी शिक्षक, १ जना लेखाका कर्मचारी, २ जना निजी स्रोतका शिक्षक र २ जना कार्यालय सहयोगी छन् । शिक्षकको संख्या २१ जना भएको विद्यालयमा अहिले भने ८१ जनामात्र विद्यार्थी रहेको प्रअ श्रेष्ठले बताउँदा उपस्थित विदेशीहरु मुखामुख गर्दै थिए ।
फिलिपिन्सका इरुम सरिफले सोधी हाले ‘स्कुलबाट वरपर हेर्दा धेरै घरहरु देखिन्छन्, वस्ती वाक्लै देखिन्छ, तर स्कुल पढ्न आउने बालबालिका चाहिँ किन कम ?’
प्रअ श्रेष्ठले जवाफ दिइन्, ‘यहाँका धेरै बालबालिकाहरु बोर्डिङ स्कुल जान्छन्, बस चढेर काठमाडौं सम्मका विद्यालयमा जान्छन्, यहाँ त्यस्तै ८/९ वटा निजी विद्यालयका विद्यार्थी लिन स्कुल बस आउँछन् । यतिमात्र होइन, हामै्र विद्यालयको केही पर निजी स्कुल पनि छ, नजिकै हाम्रो भन्दा राम्रो सार्वजनिक विद्यालय पनि छ ।’
प्रअले आफ्नो जवाफ नसकाउँदै अन्तरक्रियामा सहभागी विदेशीहरु ईसाड्की ओमैमा, मस्ताफिजन रहमान, सिल्भिया लरजोवाले संयुक्त रुपमा प्रश्न राखे, ‘निजी स्कुल महंगो हुन्छ, तर अभिभावकले भने त्यहीँ किन पठाउँछन् त ?’ सो प्रश्नको जवाफमा अन्तरक्रियामा सहभागी धेरै शिक्षकहरु जवाफिए, कोहीले बोर्डिङको फेशनले प्रभाव पारेको बताए, कोहीले भने बोर्डिङ पढाउनुलाई सामाजिक प्रतिष्ठाको विषयको रुपमा बुझिएको बताए, कोहीले अभिभावकले देखासिकी गरेको आरोप पनि लगाए । त्यही बीचमा शिक्षक निरेन्द्र कुँवरले भने आर्थिक अवस्थाकै कारण र सरकारी नीतिकै कारण पनि नीजि विद्यालयमा विद्यार्थी बढेको र सरकारीमा घटेको बताए ।
उनले समाजका सम्भ्रान्त वर्गमात्र नभएर केही आर्थिक रुपले सक्षम भएकाले समेत सरकारी स्कुुल नरोज्ने, ज्याला मजदूरी गरी खानेहरुले मात्र सरकारी स्कुल रोज्ने गर्दा सरकारी स्कुलमा विद्यार्थीको संख्या दयनीय भएको बताए ।
फ्रान्सेली नागरिक फ्रान्क एडम्सनले जिज्ञासा राखे, ‘यहाँ एकदमै थोरै विद्यार्थी संख्या छन्, दुईजना निजी स्रोतका शिक्षक पनि रहेछन्, तिनीहरुलाई किन राख्नुभएको हो, तिनीहरुलाई कसरी तलब दिनुहुन्छ ?’
जवाफमा प्रअ श्रेष्ठले भनिन्, ‘खासमा सरकारी विद्यालय भए पनि अँग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि, ग्रेड टिचिङ गराउनका लागि निजी स्रोतबाट शिक्षक राखेका हौं ।’ प्रअ श्रेष्ठको जवाफपछि शिक्षक श्रीकृष्ण केसीले पनि थपे, ‘ती शिक्षकलाई तलब यहीँका केही शिक्षकहरुको तलबबाट मिलाएका छौं, उहाँहरुले अँग्रेजी माध्यमबाट कक्षा लिए वापत तलब पाउनुहुन्छ ।’
यसबीचमा केन्याका नागरिक मरिक रेण्डरले विद्यालय सेवा क्षेत्रमा विद्यालयले कुनै अध्ययन गरेको छ कि भन्ने जिज्ञासा राखे, फिलिपिन्सका नागरिकले पाठ्यक्रम र पाठ्यपुस्तकबारे प्रश्न राखे, मोरक्कोमा नागरिकले पहिलेभन्दा अहिले झन् किन विद्यार्थी घटे ? भनेर सोधिन्, ब्राजिलका नागरिक एन्नी भर्सले निजी स्कुल किन खोलिरहेका छन्, निजीका शिक्षक र सरकारीका शिक्षकहरु कति तलब खान्छन् ? भन्ने प्रश्नहरु राखे ।
यी सबै प्रश्नको जवाफ पनि शिक्षक र प्रअले क्रमशः दिए । विद्यालयको अवलोकन, शिक्षकहरुसँगको अन्तरक्रियाले पनि उनीहरुको जिज्ञासा मेटिएको थिएन ।
विद्यार्थी अभावमा सुनसान बन्दै गएको विद्यालय, खिया लाग्दै गएको झ्यालढोका, प्रयोग हुन छाडेका डेस्क बेञ्च । यतिमात्र नभएर एक जना शिक्षक बराबर चार जना विद्यार्थीमा सीमित बन्दै गएको
विद्यालयको अहिलेको अवस्था देखेर विदेशीहरुलाई थप जिज्ञासा पनि पैदा भयो, अनि चिन्ता पनि लाग्यो र सोधिहाले, ‘यस्तो विद्यालयको भविष्य चाहिँ के होला ?’
प्रश्न निक्कै गम्भीर थियो, मनन् योग्य थियो, त्यही बीचमा सोही विद्यालयका स्रोतव्यक्ति मञ्जु झा पनि आइसकेकी थिइन् । प्रश्न उनीप्रति पनि तेर्सियो । सार्वजनिक विद्यालयहरुमध्ये एकाधलाई छोडेर हेर्ने हो भने अधिकांशको अवस्था गणेश माविको जस्तो हुँदैछ । अझै पनि सुधारको लागि ठोस कदम चालिएको छैन । किन गणेश माविकै बाटोमा धेरै विद्यालय लागे ? भन्ने प्रश्नको उत्तर खोज्न लागेको छैन ।
प्रअ श्रेष्ठले यो अवस्थाबाट आफूहरु नआँत्तिएको पनि बताइन् । उनले विद्यालयले कोल्टे फेर्नेमा आशावादी भएको जनाउँदै विद्यालयमा विद्यार्थी संख्या बढाउन अँग्रेजी माध्यम सहित अन्य सुधारका लागि आफूहरुले संयुक्त रुपमा प्रयास थालिसेकेको बताइन् ।
गर्दा गर्दै केही सीप नलागे अन्तिममा सरकारले लिने बताएर कुरा टुङ्ग्याईन् ।
सार्वजनिक शिक्षा सुधारका पक्षमा काठमाडौंमा जारी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन आएका विदेशीहरुलाई विद्यालयको स्थलगत भ्रमण गराउने क्रममा उक्त टोली भक्तपुर पुगेको थियो । सम्मेलनको आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान एनसीईले उक्त अवलोकनको संयोजन गरेको थियो ।
प्रतिक्रिया