काठमाडौं २७ असोज/अभिभावक, शिक्षक र समुदाय मिलेर सुधार अभियानमा लागेपछि रुपन्देहीको सियारी गाउँपालिकाको त्रिवेणी आधारभूत विद्यालय देशकै नमुना बनेको छ । विद्यालयले संस्कार, संस्कृति र प्रविधि मिसाएर बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । गरिबीका कारण नियमित विद्यालय नआउने बालबालिकाका अभिभावकलाई सम्झाएर विद्यालय प्रशासनले तिनलाई विद्यालयमा टिकाउने र समुदायमा बिकाउने बनाएको छ ।
कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयमा कक्षा ६ देखि कम्प्युटर पढाइ हुन्छ । यसबाट विद्यार्थीले समयोचित ज्ञान लिन पाएका छन् । शुक्रबार मात्रै होइन, कक्षागत रूपमा दिनहँु अतिरिक्त क्रियाकलाप हुन्छन् । यसले विद्यार्थीमा ऊर्जा थपेको छ । यहाँ हरेक जातजातिका पर्व र संस्कारलाई प्रयोगात्मक रूपमै सिकाउने र आस्था जगाउने काम हुन्छ । दैवी वा प्राकृतिक प्रकोप आइपरे विद्यार्थीलाई सबैभन्दा अघि सहयोग र उद्धारमा लगाइन्छ ।
‘बालबालिकालाई आफ्नो समाजअनुरूप प्रयोगात्मक र व्यावहारिक बनाउन यसो गरेका हौँ,’ प्रधानाध्यापक मथुराप्रसाद यादवले भने ।
शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीचको सम्बन्ध साथीभाइको जस्तो छ । एकलाई परेको समस्या अर्कोले समाधानको कोसिस गर्छन् । विद्यार्थी गयल भए शिक्षक घरमै गएर कारण खोज्छन् । शिक्षक गयल भए व्यवस्थापन समिति पुगेर समस्या बुझ्छ । विद्यार्थी गयल हुने वा अनियमित हुने समस्या घटेको छ । सिकाइ उपलब्धि बढदै गएको छ । यसै कारण विद्यालयप्रति शिक्षक, अभिभावक र विद्यार्थी आकर्षित छन् ।
‘पढाइ राम्रो हुन शिक्षक र विद्यार्थी कक्षाकोठामा घोटिएर मात्रै हँुदैन,’ प्रधानाध्यापक यादवले भने, ‘एकले अर्कोको समस्या बुझेर सामूहिक प्रयास थाले मात्रै समग्र सिकाइ राम्रो हुन्छ । हामीले यहाँ त्यही अभ्यास गरेका हौं ।’
यो गाउँले विद्यालयको सिकाइ शैलीबाट प्रभावित भएर टाढाटाढाका बालबालिका पनि आकर्षित भएका छन् । पढाउन बजार लगिएका बालबालिका पुन: विद्यालयमा फर्काइएका छन् । ‘पहिले पहिले विद्यार्थी पाउन गाह्रो थियो,’ यादवले सुनाए, ‘अहिले विद्यार्थीको ओइरो छ । आएका सबै बालबालिकालाई पढाउन सक्ने अवस्था छैन ।’
विपन्न वर्गका थारू र मधेसीको बाहुल्य रहेको गोठवामा स्थानीयले गच्छेअनुसार सहयोग जुटाएर यो विद्यालय सञ्चालन गरेका छन् । विद्यालयमा कक्षा सञ्चालन गर्ने नगर्नेदेखि लिएर भौतिक पूर्वाधार थप्ने वा शिक्षक राख्ने कुराको निर्णय पनि समुदायले नै गर्ने गरेको छ ।
समुदायले निकै आवश्यकता महसुस गरेर विद्यालय खोलेकाले सञ्चालनमा पनि भरथेग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद थारूले बताए । ‘हाम्रो विद्यालय राम्रो बनाउनुपर्छ भनेर समुदाय नै लागेकाले यो सम्भव भएको हो,’ उनले भने, ‘व्यवस्थापन समितिलाई डोर्याउने काम पनि समुदायले नै गरेको छ ।’
नजिकमा विद्यालय नहुँदा गाउँका बालबालिका पढाइबाट वञ्चित भएपछि २०६२ मा यो विद्यालय खोलिएको हो । विद्यालयले शैक्षिक सत्र २०६३ देखि पढाइ सुरु गरेको थियो । ‘गाउँकै तीन जना शिक्षकको व्यवस्था गरेर करिब ४० विद्यार्थीलाई रुखमुनि पढाउन सुरु गरेका थियौं,’ अध्यक्ष थारूले भने, ‘अहिले पढ्ने लेख्ने मात्रै होइन, लाइब्रेरी र अतिरिक्त क्रियाकलापका लागि समेत छुट्टाछुट्टै कोठाहरूको व्यवस्था गरेका छौं ।’
कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा बालविकास केन्द्रदेखि पढाइ हुन्छ । यसका लागि १० जना शिक्षक छन् । प्राविमा राहतबाट ४ शिक्षक राखिएका छन् । ३ जना निजी स्रोतका छन् । २ जना बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले समेत अन्य कक्षामा पनि पढाएर सहयोग गरेका छन् । अधिकांश शिक्षक गाउँकै भएकाले उनीहरू विद्यालयप्रति थप जिम्मेवार भएको अध्यक्ष थारूले बताए । भने, ‘सीमित स्रोतसाधनमा पढाउँदा पनि उहाँहरू कहिल्यै निराश हुनुभएको छैन । विद्यालयमा मात्रै होइन, छोराछोरीले पढेर के हुन्छ भन्ने अभिभावकलाई घरघरै गई सम्झाएर विद्यार्थी टिकाउन र नियमित बनाउन पनि सहयोग गर्नुभएको छ ।’
सियारी गाउँपालिकाका प्रमुख अयोध्याप्रसाद थारूले शिक्षक, अभिभावक र समुदाय जुटेकाले विपन्न बालबालिकाले पढ्ने त्रिवेणी विद्यालय नमुना बनेको बताए । यसलाई थप व्यवस्थित बनाउन गाउँपालिकाले सहयोग र समन्वयका कार्यक्रम गर्ने उनले प्रतिबद्धता जनाए ।
अमृता अनमोलले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया