Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

विद्यार्थीका गुनासो सुन्न विद्यालयमा पत्रमञ्जुषा

सोमबार, ०६ कार्तिक २०७४

काठमाडौं ६ कार्तिक /इन्टरनेट र मोबाइल फोनका कारण सहरमा पत्रमञ्जुषा हराउँदै गए पनि सामुदायिक विद्यालयमा यसको प्रयोग बढ्न थालेको छ ।

शिक्षा विभागले उजुरी पेटिकाका रूपमा पत्रमञ्जुषा राख्नुपर्ने अनिवार्य नियम बनाइदिएपछि विद्यालयमा औपचारिकताका लागि झुन्ड्याइएका पत्रमञ्जुषा पनि प्रयोग हुन थालेको छ ।  प्रदेश नम्बर २ का विद्यालयका प्रधानाध्यापकका अनुसार अधिकांश विद्यालयमा हप्तामा सरदर पाँचदेखि सातवटासम्म गुनासा पर्ने गरेका छन् ।  यतिका गुनासा ती पेटिकामा खस्नुले यस प्रदेशका स्कुले विद्यार्थीले समस्या लुकाउन छाडेको प्रस्ट हुन्छ भने विद्यालयमा धेरै खाले समस्या रहेको छर्लङ्ग हुन पुगेको छ ।

गुनासो पेटिकामा शिक्षकले नपढाएकोदेखि बाटोमा हिँड्दा केटाहरूले जिस्क्याएकोसम्मका गुनासा खसालिने गरेको छ ।  हरेक विद्यालयमा आन्तरिक रूपमा गठन भएका गुनासो सुनुवाइ समितिले ती गुनासाको सम्बोधन गर्ने गर्दछ ।  हरेक शुक्रबार गुनासो पेटिका खोल्ने र आइतबार गुनासोका बारेमा सम्बोधन गरिसक्ने नियम बनाइएको छ ।

शिक्षा विभागले आयोजना गरेको कार्यशालामा पर्साको राधाकृष्ण माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा सिम्रन थापाले भन्नुभयो, “पहिलो बेञ्चमा कक्षाका अब्बल विद्यार्थीमात्र बस्न पाउने नियम थियो ।  स्कुलमा जतिसुकै ढिला आए पनि अगाडिको बेञ्च उनीहरूका लागि सुरक्षित रहन्थ्यो ।  कसैले यसबारेमा उजुरी हालिदियो ।  अहिले त्यो नियम हट्यो ।  छिटो आउने विद्यार्थी अगाडिको बेञ्चमा बस्न पाउँछन् । ”
विभागले गत वर्षबाट गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

त्यस कार्यविधिमा गुनासो सुनुवाइ गर्ने तौरतरिकाका बारेमा प्रस्ट गरिएको छ ।  गुनासो सुनुवाइ कार्यमा स्थानीय तहलाई समेत समावेश गर्ने गरी विभागले कार्यविधि परिमार्जन गर्दैछ ।  प्रदेश १ का सबै जिल्लाबाट आएका शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाले गुनासो पेटिका नराख्ने विद्यालयलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

पर्साकै दिव्य कन्या माध्यमिक विद्यालयकी छात्रा रोशनी शर्माले नबुझेको कुरा सोध्न शिक्षकसँग डराउने विद्यार्थी अब खुलेरै कुरा गर्नसक्ने भएको उदाहरण दिँदै गुनासो पेटिकाका कारण शौचालयमा स्यानिटरी प्याडको व्यवस्था भएको, शिक्षकले जान्ने र नजान्ने विद्यार्थीमाथि गर्दै आएको भेदभाव कम गरेको, विद्यालय हातामा खानेपानीको व्यवस्था भएको, केटाहरूले बाटामा हिँड्दा दुव्र्यवहार गर्न छाडेको बताउनुभयो । 
रौतहटका विद्यालय निरीक्षक उद्धवराय यादवले एउटा विद्यालयमा शौचालय जोडिएका कारण पहिले झुक्किएर छात्रा शौचालयमा छात्र र छात्र शौचालयमा छात्रा जाने गरेकोमा उजुरी परेकै कारण छात्र र छात्राको शौचालय फरक फरक स्थानमा बनाउनुपरेको अनुभव सुनाउनुभयो ।

विद्यार्थीका अनुसार अझै पनि थुप्रै विद्यार्थी उजुरी हाल्न डराउने गरेका छन् ।  उनीहरू पीडकले अझ पीडा दिने पो हो कि भन्ने ठानेर उजुरी हाल्दैनन् भने उजुरीको गोपनीयता कायम नरहन सक्ला कि भनेर पनि लिखित उजुरी हाल्न डराउने गरेका छन् ।

दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसादले उजुरीका कारण लैङ्गिक हिंसा कम भएको र बीचैमा कक्षा छोड्ने प्रवृत्तिमा पनि कमी आएको अनुभव सुनाउँदै थप्नुभयो, “परेका गुनासोको गोपनीयता निकै कायम गरेका छौँ ।  त्यति हुँदा पनि सबै विद्यार्थीलाई आश्वस्त तुल्याउन कठिन छ । ”

पर्साको जिल्ला प्रहरी कार्यालयकी प्रहरी हवल्दार रामकुमारी थापाले कतिपय गम्भीरखाले उजुरी सम्बोधन गर्ने क्रममा विद्यालयले प्रहरीलाई पनि आमन्त्रण गरेमा समाधान सहज हुने सुझाव दिनुभयो । 
कार्यक्रममा विभागका निर्देशक दीपक शर्माले विद्यालयको वातावरण ठीक होस्, शिक्षक समयमा कक्षाकोठाभित्र प्रवेश गरून्, सिकाइ उपलब्धि वृद्धि होस् भन्ने उद्देश्यले नै यसको थालनी गरिएको बताउँदै भन्नुभयो, “उजुरी शून्यमा झरेपछि मात्र विद्यालयमा सुधार आएको ठानिनेछ । ”

प्रकृति अधिकारीले गोरखापत्रमा लेखेको खबर ।

प्रतिक्रिया