काठमाडौं १० कार्तिक / आकाशमा हवाईजहाज उडाउने सपना हेर्दै अस्ट्रेलियामा पाइलट पढेका नेपालगन्ज–१३ का ३० वर्षीय युवा अभयकुमार टण्डन एक सफल पेट्रोलियम व्यवसायी बनेका छन् ।
नेपालगन्जको नर्सिङहोम नजिक बिटिएस चोकमा टन्डनले कुसुम फिलिङ सेन्टर सञ्चालन गरेर पेट्रोलियम व्यवसायमा रमाइरहेका छन् । उनले विगत ६ वर्षदेखि पेट्रोलपप्प सञ्चालन गरेर तेल बिक्री गर्दै आएका छन् ।
सन् २००९ देखि पेट्रोलियम व्यवसायमा रहेका टण्डन भन्छन्, “आकाशमा जहाज उडाउन नपाए पनि सन्तुष्ट नै छु, हुन त पढेको कुरा गर्न पाइएन । नेपालगन्जमा युवा व्यवसायीमा अभयको नाम समेत गणना आउन थालेको छ ।
अहिले देशमा धेरै विमान कम्पनीहरु स्थापना भएका छन् । पाइलटको अभाव भइरहेको अवस्था छ तर पाइलट पढेका युवाहरु जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । पाइलट बन्न ३० वर्षीय युवा टण्डनले ६० लाख रुपैयाँ खर्च गरेका थिए । सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजमा पाइलट कोर्ष पढेका हुन् ।
नेपालगन्जको धनाढ्य परिवारका टण्डनले डेढ बर्ष अस्ट्रेलियामा पाइलट कोर्ष पढेर त आए, नागरिक उड्ययन प्राधिकरणको लाइसेन्स परीक्षासमेत पास गरे तर उनले जहाज उडाउन भने पाएनन् ।
प्रारम्भिक शिक्षा नेपालगन्जमा गरेका टण्डनले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टैगोर इन्टरनेसनल स्कुल न्यू–दिल्लीबाट कक्षा १२ सम्मको अध्ययन गरेका थिए । यसपछि न्यू–दिल्लीमा नै केही समय जागिर खाएर टण्डन अस्ट्रेलिया पाइलट कोर्ष गर्न गए ।
उनले पाइलट कोर्ष सकेर नेपाल फर्कँदा यती एयरलायन्स र बुद्ध एयरलायन्स गरी २ वटा मात्र एयरलाइन्स मात्र सञ्चालनमा थिए । टण्डन सन् २००८ मा अस्ट्रेलियाबाट पाइलट कोर्ष पढेर फर्कंदा नेपाली राष्ट्रिय ध्वजावहाक नेपाल एयरलायन्स बन्द अवस्था थियो । नेपाल एयरलायन्सले उडान भर्न सकेको थिएनन्, जहाजहरु बिग्रिएर थन्किएका थिए । बुद्ध र यती एयरलायन्समा जागिर खान धैरे प्रयास गरे तर अभयले सकेनन् ।
“जागिरको खोजीमा लागे तर पाइन,” अभय भन्छन् , “नेपाल एयरलायन्स बन्द थियो, बुद्ध र यतीको जागिर उपलब्ध हुन सकेन ।” मागभन्दा पाइलट उत्पादन धेरै भएको कारणले पनि आफूलगायत धेरै युवाले जागिर नपाएको टण्डन बताए । अहिले जस्तो धेरै विमान कम्पनी सञ्चालन भएको भएको भए अभयलाई जागिरको समस्या हुने थिएन ।
“मागभन्दा आपूर्ति धेरै भयो, त्यसैले म जस्ता धेरैले जब पाइन,” उनले भने, “अहिले जस्तो धेरै एयरलायन्स भएको भए, जबको प्रोब्लम हुदैन थियो होला ।” उनले पाइलट कोर्ष सबै प्रमाणपत्र दराज थन्क्याएर छन् ।
अभयले अस्टे«लियामा पढाइको सिलसिलामा २५२.४ घण्टा जहाज उडाउन अभ्याससमेत गरेका थिए । नेपालमा आएर अभयले जहाज उडाउने त्यो अवसर पाएनन् । पाइलटको लाइसेन्सको अवधि ६ महिनाको मात्रै हुने गरेको छ । जागिर खोज्दाखोज्दै उनको ६ महिना अवधि सकियो ।
प्राविधिक विषय पढेका युवालाई रोजगार दिन नसक्नु देशकै लागि दुर्भाग्य भएको उनी बताउँछन् । “हाम्रो जस्तो देशमा त्यो समस्या धेरै छ, एकातिर दक्ष जनशक्ति छैनन्, अर्को तिर भएका जनशक्तिले समेत काम पाएका छैनन् ।” युवा व्यवसायी टण्डन भन्छन् ।
अभयका पिता एवं नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजयकुमार टण्डनले चाहेको जागिर नपाएपछि आफ्नो परिवार नै व्यावसायिक भएका कारण छोरालाई पनि बाध्य भएर व्यवसायमा नै लगाएको बताउँछन् ।
“हाम्रो परिवार नै व्यवसायिक हो तर अभयले पाइलट पढ्छु भन्यो, उसको इच्छा अनुसार पाइलट पढाइयो तर जागिर पाउन सकेन, त्यस कारण व्यवसायमा लगायौ, व्यवसायमा पनि उ सफल भएको छ, त्यो हाम्रो परिवारको लागि ठूलो उपलब्धि हो,” पिता अजयले भने ।
कारोबार दैनिकमा प्रकाशित खबर ।
प्रतिक्रिया