Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

शिक्षामन्त्रीको चुनाव : प्रचारमा शिक्षक विद्यार्थी प्रयोग गरेको आरोप

आइतबार, ०३ मंसिर २०७४

काठमाडौं ३ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन दलहरूले कन्जुस्याइँ गरे । लोकतान्त्रिक र वाम दुवै गठबन्धन महिला उम्मेदवार बनाउन उदार नभए पनि केहीले भने टिकट पाएका छन् । टिकट पाउने यस्तैमध्येकी एक हुन्–पद्मा अर्याल । वामपन्थी गठबन्धनको प्रतिनिधित्व गर्ने उनी एमालेबाट स्याङ्जा २ को प्रतिनिधिसभामा लड्दै छिन् । उनका प्रतिस्पर्धी छन्, बहालवाला उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ ।

कांग्रेसका श्रेष्ठ पटक–पटक मन्त्री र यही जिल्लाबाट सांसद भएका व्यक्ति हुन् । हाल उपप्रधानमन्त्री रहेकै अवस्थामा चुनावी प्रतिस्पर्धामा उत्रिएका श्रेष्ठलाई अर्यालले टक्कर दिइरहेकी छन् । ‘हेभिवेट’ उम्मेदवार श्रेष्ठलाई एक महिला उम्मेदवारले दिइरहेको चुनौतीले स्याङ्जाको चुनाव रोचक बनेको छ । ‘नेतृत्वको विकास चुनौती बीचबाटै हुन्छ भनेर मैले यो क्षेत्र रोजेकी हुँ,’ अर्याल भन्छिन्, ‘त्यसैले ठूलै ठानिने व्यक्तिसँग प्रतिस्पर्धा गर्न म तयार भएकी हुँ र मेरो जितको आधार तयार भइसकेको छ ।’

कांग्रेसको राजनीतिका माथिल्लो तहमा पुगिसकेका श्रेष्ठले पनि अर्याल आफूसँग चुनाव लड्न आएकोमा रोचक नै मानेका छन् । तर, उनले अर्याललाई ठूलो प्रतिस्पर्धी ठानेका छैनन् । पार्टीको पकड र वर्षौंदेखि जनप्रतिनिधिको रूपमा काम गरेकाले श्रेष्ठले आफूलाई निकै बलियो उम्मेदवार सम्झेका छन् । ‘यो क्षेत्रमा कांग्रेसको राम्रो संगठन र जनमत छ, विगतमा एकपटक ‘काकताली’ परेर अर्को पार्टीले चुनाव जितेको हो, नभए यहाँ सधैं हाम्रै विजय हुँदै आएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसैले अहिले मैले कोही प्रतिस्पर्धी खासै ‘सिन’ मा देखेको छैन ।’

श्रेष्ठले २०४८ र २०५६ को चुनाव जितेका थिए । त्यसपछि २०६४ र २०७० को संविधानसभा चुनावमा भने उनी समानुपातिक तर्फबाट सभासद भए । प्रत्यक्षमा प्रतिस्पर्धा गरेनन् ।

अर्याललाई २०६४ को संविधानसभामा एमालेले समानुपातिकबाट सभासद बनाएको थियो । २०५६ को चुनावमा पार्टी विभाजनका बेला तत्कालीन मालेबाट अर्यालले उम्मेदवारी दिएकी थिइन् । त्यसबेला पनि उनी श्रेष्ठसँगै प्रतिस्पर्धामा थिइन् । ‘त्यसबेला पद्माजीको उम्मेदवारीले मलाई चुनावमा जित्न सहयोग गरेको थियो,’ श्रेष्ठ भन्छन् । २०५६ को प्रतिस्पर्धामा अर्यालको उम्मेदवारीबाट राहत महसुस गरेका भए पनि यसपटक श्रेष्ठले भने जस्तो सहज छैन । त्यसबेला एमालेबाट टुक्रिएको मालेको प्रतिनिधि बनेकी अर्याल यसपटक एमाले–माओवादी गठबन्धनकी उम्मेदवार हुन् ।

२०५६ भन्दा अहिले अर्यालको पार्टीभित्र पनि राजनीतिक उचाइ बढिसकेको छ । उनी जिल्लामै बसेर काम गरिरहेकी छन् । पहिलो संविधानसभाको कार्यकाल सकिएलगत्तै उनी एमालेको जिल्ला अध्यक्ष बनिन् । त्यसपछि झन्डै २ वर्ष जिल्ला पार्टी हाँकेकी उनी हाल एमाले केन्द्रीय सदस्य छिन् । एमाले र माओवादीको समेत गठबन्धन बनेकाले चुनावी परिवेश पहिलेभन्दा धेरै फरक भइसकेको उनको भनाइ छ ।

कांग्रेस नेता श्रेष्ठ भने गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार केही नरहेको र लोकतान्त्रिक व्यवस्थालाई पनि बदल्न खोज्ने मनसाय राखेकाले सचेत मतदाता आफ्नो पक्षमा रहको बताउँछन् । पदमा छँदा जिल्लामा आफैंले काम गरिरहेकाले त्यसले आफूलाई सहयोग पुर्‍याउने उनको दाबी छ । ‘संविधान नै परिवर्तन गर्ने कुरा गरेका छन् । त्यसैले सचेत र बौद्धिक जमातले कांग्रेसलाई नजिताए लोकतन्त्र नै रहँदैन भन्ने बुझेका छन्,’ श्रेष्ठले भने ।

चुनावी प्रतिस्पर्धा बढ्दै जाँदा दुई पक्षबीचको तिक्तताको पारो पनि चढिरहेको छ । बहालवाला उपप्रधानमन्त्री भएकाले श्रेष्ठले राज्यसत्ताको दुरुपयोग गरिररहेको आरोप अर्यालको छ । शिक्षामन्त्री समेत भएकाले श्रेष्ठले विद्यालयका शिक्षक र विद्यार्थीलाई दबाबमा पारेर आफ्नो पक्षमा महौल सिर्जना खोजेको उनको दाबी छ । यसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने उनको तयारी छ । ‘उहाँ मर्यादित चुनाव लडिरहनुभएको छैन,’ अर्यालले भनिन् ।

विपक्षीबाट आइरहेका यस्ता आरोपको श्रेष्ठ खण्डन गर्छन् । ‘उपप्रधान तथा शिक्षामन्त्री समेत भएकाले कुनै स्थानमा जाँदा शिक्षकहरू आफैं सरकारी कामकै सिलसिलामा भेट्न आउनुहुन्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मैले उनीहरूलाई मेरो पक्षमा प्रचार गर भनेको छैन र त्यो गर्ने कुरा पनि होइन ।’ सरकारमा भएकाले सरकारी व्यक्तिहरूले कतै जाँदा भेट्नु सामान्य भएको तर, आफूले कुनै विद्यालयलाई प्रयोग नगरेको सफाइ श्रेष्ठ दिन्छन् ।

विगतमा राम्रो पकड भएको मानिने भए पनि जिल्लामा स्थानीय तहको चुनावमा कांग्रेस धेरै स्थानमा पराजित भयो । ११ स्थानीय तहमध्ये आठवटाको प्रमुख एमालेले जित्यो भने कांग्रेसले ३ वटामा चित्त बुझाउनुपर्‍यो । यो परिणामअनुसार कांग्रेसको मत कमजोर छ । वाम गठबन्धनको मत धेरै छ । तर, स्थानीय चुनावपछि झन्डै १५ हजार मतदाता थपिएका छन् । स्थानीय चुनावभन्दा अहिलेको फरक भएकाले विगतको मतको खासै अर्थ नहुने श्रेष्ठको दाबी छ ।

एमालेसँगको गठबन्धनमा माओवादी पनि मिलेकाले श्रेष्ठले केही चुनौती ठानेका छन् । माओवादीको मत एमालेमा जाँदा श्रेष्ठ समस्यामा पर्छन् । त्यसैले होला, श्रेष्ठले माओवादी अध्यक्ष दाहाललाई

आफ्नो जिल्लामा आएर माहौल नबिथोल्न चेतावनी दिए । ‘उहाँ (दाहाल) यहाँ आएर बिथोल्न खोजिरहनुभएको छ, यहाँ आएर थप बल गर्नुभयो भने म पनि उहाँको चितवनमा बिथोल्न जान्छु,’ श्रेष्ठले भने । श्रेष्ठले यस्तो भनिरहँदा वाम गठबन्धनका मुख्य नेताहरू केपी ओली र पुष्पकमल दाहाल दुवैले स्याङ्जाका दुवै क्षेत्रमा चुनावी सभा गरिसकेका छन् ।

स्याङ्जामा प्रतिनिधिसभाका दुई क्षेत्रमध्ये तुलनात्मक रूपमा क्षेत्र १ एमालेसहितको वाम गठबन्धनको निकै बलियो क्षेत्र हो । क्षेत्र २ कांग्रेसको राम्रो क्षेत्र हो । स्थानीय चुनावलाई नै आधार मान्ने हो भने पनि कांग्रेसले जितेका नगरहरू क्षेत्र २ मा पर्छन् भने एमालेले जितेका नगरपालिका तथा गाउँपालिका धेरैजसो क्षेत्र १ मा छन् । कांग्रेसभित्रै पनि नेता धनराज गुरुङले टिकट नपाएकोमा असन्तुष्ट एउटा समूह छ । युवा नेता गुरुङ जिल्ला आएर खासै चुनावी कार्यक्रममा हिँडेका छैनन् ।

कान्तिपुरमा दुर्गा खनाल, भीम घिमिरे, प्रतीक्षा काफ्लेले विभिन्न दलका उम्मेद्वारबारे लेखेको खबरको एक अंश/ कान्तिपुरमा यो खबर उपप्रधानमन्त्री श्रेष्ठसँग भिड्दै अर्याल शिर्षकमा प्रकाशित छ ।

प्रतिक्रिया