काठमाडौं २२ मंसिर / विगतका सरकारले साविकको वडा–वडामा विद्यालय खोल्ने अनुमति दिएको थियो । विद्यार्थीअनुसार विद्यालय पनि नखुलेका होइनन् । प्राथमिक र आधारभूत विद्यालय बग्रेलती खुलेका छन् । माध्यमिक र उच्च मावि भने अझै पर्याप्त मात्रामा खुल्न सकेका छैनन् । भएका मावि पनि संकटग्रस्त छन् । भौगोलिक विकटताका कारण पाल्पाका विद्यार्थीलाई सधैं सास्ती छ ।
निस्दी गाउँपालिका, ७ ज्यामिरेका अधिकांश विद्यार्थीले यस्तै सास्ती खेप्दै आएका छन् । गाउँमै माध्यमिक विद्यालयमा पढ्न नपाउने भएपछि कक्षा ९ पढ्न डेराकै बास हो । पढ्न नपाएर धेरै विद्यार्थीले पढ्न छाड्ने गरेका छन् । ‘हाम्रा छोराछोरीलाई गाउँमै पढाउन पाए हुन्थ्यो,’ निस्दी, ७ क्षेत्रीखर्ककी अभिभावक गमीसरा सोमैले भनिन्, ‘जसले गर्दा छोराछोरीले पढ्न पनि छाड्दैन थिए । अनि नियमित विद्यालय आउने गर्थे होलान् ।’ उनका अनुसार ज्यामिरेको रोल्लाबास, क्षेत्रीयखर्क, बेभोकेलगायत आधा दर्जन गाउँका विद्यार्थीले कक्षा ८ पढेपछि कि विद्यालय छोड्छन् कि त नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा डेरा लिएर पढ्न बस्छन् । आफ्नै जिल्लामा पढ्नलाई कम्तीमा दैनिक ८ घण्टाको पैदलयात्रा गर्नु उनीहरूको बाध्यता हो ।
वडा अध्यक्ष गगनसिंह सोतीका अनुसार निस्दी गाउँपालिकाको ज्यामिरे जिल्लाकै दुर्गम वडा हो । मोटरबाटो, शिक्षा, स्वास्थ्य लगायतको सुविधाबाट वञ्चित थियो । ‘हामी निर्वाचित भएर आएपछि मोटरबाटो, शिक्षा र स्वास्थ्यका लागि कार्ययोजना बनेको छ,’ सोतीले भने । सदरमुकाम तानसेनदेखि झन्डै ७० किलोमिटर पूर्वको यो वडामा अहिले पनि पायक पर्ने स्थानमा माध्यमिक विद्यालय नहुँदा विद्यार्थीहरू डेरा लिएर पढ्न बाध्य छन् ।
‘पायक पर्ने स्थानमा माध्यमिक विद्यालय छैन,’ विद्यार्थी अञ्चल सारु मगरले भने, ‘त्यसैले कक्षा ९ पढ्नलाई डेरा लिएर सर्दी गएर बस्नुपर्छ ।’ उनका अनुसार सबै विद्यार्थी कक्षा ८ पढेपछि डेरा लिएर बस्न बाध्य छन् । आधा दर्जन गाउँका विद्यार्थी विद्यालयमा हिँडेर जान सक्दैनन् । बिहान ७ बजे नै विद्यालय हिँड्ने र साँझ पनि ७ बजे मात्रै घर फर्कने दैनिकी गाउँका धेरै विद्यार्थीको हो ।
‘डेरा पाउनसमेत मुस्किल छ,’ प्रगति आधारभूत विद्यालय क्षेत्रीखर्ककी कक्षा ८ की छात्रा भूमिसरा घर्तीमगरले भनिन्, ‘धेरै जनाले डेरा लिनुपरेपछि डेरा पनि महँगो हुने गर्छ ।’
ज्यामिरे ठूलो वडा हो । यहाँका अधिकांश गाउँका विद्यार्थी स्कुल जाने बेलामा झोलामा कापी किताबसँगै खाजा लिएर हिँड्नुपर्छ । मंसिर महिनादेखि फागुनसम्म झोलामा कापीकिताबसँगै लाइट लिएर हिँड्न बाध्य छन् । घरबाट लामो दूरीमा रहेको विद्यालय धाउनुपर्ने बाध्यताले नै यस्तो गर्नुपरेको भूमिसराले बताइन् । पाल्पासँगै सिमाना जोडिएको नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको दीपेन्द्र माविमा समेत यहाँका विद्यार्थीलाई आउनजान अपायक छ । अहिले पनि कतिपय गाउँका विद्यार्थीलाई पढ्न जान दैनिक ६/७ घण्टाको दूरी पैदल हिँड्नुपर्छ ।
बिहानै साढे ७ बजे हतारहतार विद्यालय पुग्नु अनि साँझ पनि सकभर अन्तिम घण्टी पढाइ नभए हुन्थ्यो भन्ने गर्छन् यहाँका विद्यार्थी । ‘बिहान घरबाट हिँड्दा पनि हतार अनि फर्किंदा पनि हतार नै,’ विद्यार्थी भूमिसराले भनिन्, ‘बिहान खाना रुच्दैन, साँझ पनि थकाइले हैरान हुन्छ ।’ ज्यामिरेको रोल्लाबास, बेभोके, क्षेत्रीखर्क, अरुण खोला, मठेखर्कलगायतका विद्यार्थीले पढ्नका लागि सास्ती खेप्दै आएका छन् । ‘गाउँमा प्रावि र आधारभूत छन्,’ उनले भनिन्, ‘त्यसैले मावि पढ्न निकै दु:ख बेहोर्नुपरेको छ ।’ उनका अनुसार सबैभन्दा बढी दु:ख पाई (बेंसी) बस्नेहरूलाई छ । भुटुके, बतासा, रोल्लाबास, बेभोकेको पाई अरुण खोला हो ।
बेभोके, रोल्लाबास र अरुणखोलाका विद्यार्थी नवलपरासीका विद्यालयमा पढ्न जान पनि समस्या छ । रोल्लाबासका २०, बेभोकेका ३०, क्षेत्रीखर्कका ४० घरपरिवारका बालबालिकालाई निकै कष्टकर यात्रा गर्नुपर्छ । साँझ घर नपुग्दै अँध्यारो हुने समस्याले पिरोलिनुपर्छ । चैतदेखि भदौसम्म अँध्यारोमा हिँड्नु पर्दैन तर अन्य महिनामा भने बेलुका अँध्यारोमा मात्रै घर पुग्ने गर्छन् । ‘सबैले डेरा गरेर बस्न पनि सक्दैनन्,’ वडाअध्यक्ष सोतीले भने, ‘ज्यामिरेका धेरै गाउँका विद्यार्थीले निकै दु:ख कष्ट गरेर पढाइलाई अगाडि बढाउनुपर्ने बाध्यता छ ।’ उनका अनुसार विद्यालय टाढा भएकैले यो गाविसका धेरै विद्यार्थीले बीचमै पढाइ छाड्न बाध्य छन् । सानोमै बिहे गर्ने र पढ्न छाड्ने पनि हुन्छ ।
यहाँका गाउँलेको कमाइ केही छैन । त्यसैले सहरबजार र सुविधा सम्पन्न स्थानमा लगेर पढाउन सक्ने अवस्था कमैको छ । सामान्य परिवारका बासिन्दा खोरिया फाँडेर अन्न उब्जनी गरी गुजारा चलाउने अवस्थामा छन् । ज्यामिरेको पाहासिंह, लामोखर्क, तीनघरे, बाहुनीखर्कका झन्डै ३० घरका विद्यार्थीलाई थप समस्या छ । ८ वर्ष नपुगी कक्षा १ मा पढ्न जानसमेत समस्या भएको स्थानीयले बताए । कक्षा ५ र ८ सम्म पढ्न खासै समस्या नभए पनि त्योभन्दा माथिको कक्षा पढ्न भने नसक्ने अवस्था रहेको उनीहरू बताउँछन् । उनीहरूलाई विद्यार्थी टाढा हँुदा परीक्षामा भने निकै संकट आइपर्ने गुनासो गरे । अधिकांश पढाइ छाडेर तराई र भारततिर कामको खोजीमा जान्छन् ।’
बीचबाटोमा जंगल र दुई तीन स्थानमा खोला तर्नुपर्ने बाध्यता विद्यार्थीलाई छ । ‘ठूलो पानी पर्यो भने बाटोबाटै घर फर्कनुपर्ने अवस्था छ,’ प्रगति आधारभूत विद्यालयकी शिक्षिका तुलमाया आलेले भनिन्, ‘के गर्ने विकट गाउँका बसेका विद्यार्थीको अवस्था यस्तै हो ।’ उनका अनुसार ज्यामिरेमा विद्यालय पढ्न जान टाढा भएकाले ड्रप आउटको चर्को समस्या छ । विद्यालय टाढा हुँदा आउनेजाने पैदल यात्राले ज्यान थाकेर पढ्नै नसक्ने साथै नियमित विद्यालय पुग्न नै समस्या भएको उनले बताइन् ।
कान्तिपुरमा माधव अर्यालले लेखेका छन् ।
प्रतिक्रिया