Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

असल अभिभावकका अभिभारा

विहीबार, १३ पुस २०७४

काठमाडौं १३ पुस / बच्चालाई खान–लाउन दिएर मात्रै अभिभावकको जिम्मेवारी पूरा हुँदैन । अभिभावक बच्चाको पहिलो शिक्षक भएकाले उसको क्षमता विकास तथा भविष्य निर्धारणका लागि उचित वातावरणको पनि सिर्जना गर्नुपर्छ । यसो गर्नु अभिभावकका लागि त्यति सजिलो भने छैन । बाल्यकालमा कसरी हुर्कियो, अभिभावकबाट कस्तो संस्कार पायो वा कस्तो बानी व्यवहार सिक्यो भन्ने कुराले उसको भविष्य निर्धारण हुन्छ । त्यस्ता संस्कार पैसाले किन्न पनि सकिँदैन । त्यसैले असल अभिभावक बन्नका लागि यस्ता विषयमा ध्यान पुर्‍याउन जरुरी हुन्छ :

चिन्तारहित अभिभावक

अभिभावक काममा व्यस्त रहनु स्वाभाविक हो । काम गर्ने दौरानमा विभिन्न चिन्ता या तनाव पनि हुन सक्छ । तर, आफ्नो कार्यालय वा व्यवसायको तनाव बच्चामा पोख्नु हुँदैन । प्रायः अभिभावकले तनावका कारण बच्चाप्रति समर्पित नभएको वा उनीहरूसँग राम्रो व्यवहार नगरेको पनि पाइन्छ । परिणाम बच्चा आमाबाबुको आत्मीयताबाट उछिट्टिन सक्छ । त्यसपछि बच्चा घर, परिवारभन्दा साथीहरूसँग रमाउन थाल्छन् । त्यसैले अभिभावकमा जति तनाव भए पनि घरमा त्यसको प्रतिक्रिया देखाउनु हुँदैन । बच्चालाई आफ्नो तनावको अनुभूति हुने व्यवहार देखाउनु हुँदैन ।

कति दिने समय ?

कतिपय बच्चामा नैराश्य उत्पन्न हुन्छ । त्यसको कारण अभिभावकले बच्चालाई कम समय दिनु पनि हो । बच्चासँग अन्तक्र्रिया नहुँदा उनीहरू कुन बाटोमा छन् भन्ने थाहा हुँदैन । सकेसम्म बच्चाले अभिभावकसँग मित्रवत् व्यवहार गर्नुपर्छ । यसले अभिभावक र बच्चाबीच आत्मीयता विकास गर्छ । र, बच्चाले आफ्ना हरेक कुरा स्पष्ट रूपमा व्यक्त गर्न सक्छन् । कतिपय कार्यक्रममा पुग्दा बच्चालाई पनि सँगै लाने बानी गर्नुपर्छ । यसो गर्दा उसमा सामाजिक भावना र आत्मविश्वासको विकास हुन्छ ।

डर नदेखाउने

प्रायः अभिभावक सानो बच्चा रोयो भने फकाउनुको सट्टा भूत, गुजी, पागल, पुलिस आयो भन्दै तर्साएर चुप लगाउन खोज्छन् । प्रायः अभिभावकको नेचर नै के हुन्छ भने बच्चालाई डर देखाएरै ठेगान लगाउने । यसो गर्दा बच्चा केहीछिनका लागि त शान्त होलान् तर दीर्घकालीन रूपमा भने ठूलो मनोवैज्ञानिक असर पुर्‍याउँछ । बच्चाको अवचेतन मस्तिष्कमा उक्त डर रेकर्ड भएर बसेको हुन्छ । जसको कारण ठूलो भएपछि पनि त्यस्ता डर प्रस्फूटन हुन्छ र वेलावेला असर पु¥याइरहेको हुन्छ । त्यसैले, बच्चालाई डरभन्दा पनि साहस र ऊर्जा दिनु आवश्यक हुन्छ ।

गुणस्तरीय खानेकुरा

अभिभावकले बच्चाको खानेकुरामा अत्यन्त ध्यान दिनुपर्छ । पोषणयुक्त सन्तुलित खानाको प्रयोग बढाउन आवश्यक हुन्छ । प्याकिङ, जंकफुडलगायतका खाद्य पदार्थले बच्चाको स्वास्थ्यमा हानि पुर्‍याउँछ । पछिल्लो समय बच्चाले अत्यधिक रूपमा चाउचाउ प्रयोग गरिरहेका हुन्छन् । यसको सट्टा मधेसी बदाम, ओखरको गुदीलगायतका पदार्थ मात्रा मिलाएर खुवाउनुपर्छ । यस्ता खाद्यान्नले मस्तिष्कलाई फाइदा पुर्‍याउँछ ।

सदावहार प्रेम

स्वभावैले बच्चा प्रेमको भोका हुन्छन् । त्यसैले उनीहरूलाई प्रेमपूर्ण वतावरणमा हुर्काउन, बढाउन आवश्यक हुन्छ । बच्चाले अभिभावकले आफ्नो ध्यान राखोस् भन्ने चाहन्छ । बिरामी पर्दा बढी माया गर्ने तर अरू वेलाचाहिँ केयर नगर्ने गर्नु हुँदैन । बिरामी परेका वेला औषधि उपचारमा बरु बढी ध्यान दिन आवश्यक छ । अविभावकले बच्चालाई सधैँभरि समान रूपमा माया गर्ने बानीको विकास गर्न आवश्यक छ । औषधि उपचारमा बढी ध्यान दिने गर्नुपर्छ । यसो गर्नुको कारण के भने बिरामी पर्दा मात्र माया पाउने भएमा उसको अवचेतन मनमा बिरामी हुने चाहना पाल्न सक्छ । त्यसैले चाहिनेभन्दा बढी सुरक्षा पनि गर्नु हुँदैन । यसो गर्दा बच्चाको आत्मविश्वासमा कमी आउन सक्छ ।

प्रविधिको संगत

अहिले त रोएको बच्चालाई भुलाउन पनि ग्याजेट, मोबाइल, ट्याबलगायतका सामग्री दिने गरिन्छ । यस्ता सामग्रीले केही समय बच्चालाई अल्मल्याउन सकिने भए तापनि दीर्घकालीन रूपमा भने असर पुर्‍याइरहेको हुन्छ । यस्ता सामग्रीले बच्चाको शारीरिक, मानसिक र भावनात्मक असर पुर्‍याउँछ । धेरै समय मोबाइल चलाउँदा आँखाको समस्या, बढी निहुरिँदा गर्दनको समस्या, एकोहोरो हेर्दा मानसिक समस्यासमेत उत्पन्न हुन सक्छ । यसबारे अभिभावक सधैँ सचेत हुन आवश्यक छ । बच्चाले ग्याजेटमा बढी समय बिताउन थालेपछि साथीभाइसँग खेल्न पनि त्यति मन गर्दैन । जसले उसमा शारीरिक परिश्रमको कमी हुन्छ असल अभिभावकका अभिभारार मोटाउन थाल्छ । यस्ता सामग्रीले बच्चामा छिटो रिसाउने, अनिद्राजस्ता समस्याको पनि सिर्जना गर्छ । यस्ता सामग्री प्रयोगको बानी परिसकेपछि लत छुटाउन गाह्रो हुने भएकाले यसबारे अभिभावक सचेत हुन जरुरी छ ।

नयाँ पत्रिकामा मनोविज्ञ विपुला श्रेष्ठले लेखेकी छन् ।

प्रतिक्रिया