ललितपुर - आइतबार बिहान ९ बजेदेखि नै पुल्चोक स्थिल खेल मैदानमा चहलपहल थियो । त्रिभुवन विश्वविद्यालयको ४३ औ दीक्षान्त दिवसमा दीक्षित हुने ती विद्यार्थीलाई त्रिवि व्यवस्थापनले संकाय अनुसार बस्ने व्यवस्था गरेको थियो ।
१२ बजे कार्यक्रम सुरु हुने भनिए पनि त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा साढे एक घण्टा ढिला आए ! उनीभन्दा केही छिन पछि दीक्षान्त समारोहका प्रमुख अतिथि जवाहरलाल नेहरु विश्वविद्यालय, भारतका उपकुलपति प्रा. एम.जगदेश कुमार पुगे । उनलाई स्वागत गर्न प्रधानमन्त्री देउवा, सह कुलपति एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, उप कुलपति तिर्थ खनिया, शिक्षाध्यक्ष, रजिष्टार लगायत उपस्थित भए ।
जब एम. जगदेश कुमार दीक्षान्त मण्डप तर्फ अघि बढे, सबैको आँखा उनै तिर थियो ।
पातलो जिउका उनी कुर्तासुरुवाल र चप्पलमा कार्यक्रममा सहभागि भएका थिए !
यति ठूलो विश्वविद्यालयका उपकुलपति कति ‘सिम्पल’ ! कतिपयले खासखुस गरेको सुनिन्थ्यो ।
चप्पल लगाएरै यस्तो कार्यक्रममा ! ? भन्ने आवाज पनि सुनियो ।
उनै जगदेशकुमारले दीक्षित विद्यार्थीलाई शुभकामना दिए । आफ्नो विश्वविद्यालयमा भर्ना हुन धेरै प्रतिष्पर्धा हुने गरेको उनले बताए । निवेदन दिएका २ प्रतिशत विद्यार्थी मात्रै भर्ना हुने गरेको बताउँदै उनले नेपाल र भारतको शिक्षा क्षेत्रमा राम्रो सम्बन्धन रहेको समेत उल्लेख गरे ।
‘हजारौ नेपाली विद्यार्थी भारतका विश्वविद्यालयमा बर्षेनी अध्ययन गरिरहेका छन्,’उनले भने,‘जेएनयूमा मात्रै एक सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।’
जेएनयू र त्रिवि बीच सहकार्य गर्न केही बर्षअघि नै सम्झौता भइसकेको उनले उल्लेख गरे । उनले त्रिविको प्रशंसा समेत गरे । ‘त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रको सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा योग्दान पु¥याएको छ,’ प्रा. एम जगदेशले भने ।
त्रिविको ४३ औ दीक्षान्त समारोहमा ८ हजार २ सय ६७ विद्यार्थी दीक्षित भएका छन् । ०७३ असार २ देखि ०७४ जेठ १७ सम्म त्रिविका ६० आंगिक र एक हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उतिर्ण गरेका ६८ हजार २ सय ९२ मध्ये ८ हजार २ सय ६७ दीक्षान्त समारोहमा सहभागि भएको उपकुलपति तिर्थराज खनियाले बताए ।
‘दीक्षित हुन योग्य विद्यार्थीको संख्याले विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको पुष्टि हुन्छ,’उनले भने,‘त्रिवि संसारका विभिन्न राष्ट्रका विद्यार्थीहरु तथा अनुसन्धानकर्ताहरुको आकर्षणको केन्द्र पनि भएको छ । यो हाम्रो गर्बको बिषय हो ।’
३ सय भन्दा बढी विदेशी विद्यार्थी, प्राध्यापक तथा अनुसन्धनकर्ताहरु त्रिवि अन्तर्गतका विभिन्न क्याम्पसमा अनुसन्धानमा संलग्न रहेको उनले बताए ।
विदेशमा अध्ययन पुरा नगरी फर्केका विद्यार्थीलाई लक्षित गरेर क्रेडिट ट्रान्सफरको व्यवस्था गरिने उनले उद्घोष गरे । यसका लागि त्रिविले प्राविधिक समिति समेत गठन गरिसकेको जानकारी दिए ।
‘अब यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढाइनेछ,’उनले भने ।
विश्वविद्यालयको शैक्षिक अनुभव लामो भएपनि नीतिगत प्रश्नको समाधान हुन नसकेको उनले स्वीकार गरे ।
‘शैक्षिक कार्यक्रमको सुधार र बिस्तार हुनु अनिवार्य छ,’उनले भने ।
प्रतिक्रिया