Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

दीक्षान्तको छैन आकर्षण

सोमबार, १७ पुस २०७४

फोटो खिचाउने परम्परामा सीमित भएकाले त्रिविको दीक्षान्त समारोहमा सहभागिता न्यून

काठमाडौं १७ पुस / त्रिभुवन विश्वविद्यालयबाट बर्सेनि ६० हजारभन्दा बढीले उच्च शिक्षा हासिल गरे पनि दीक्षान्तमा मुस्किलले १२ प्रतिशत मात्रै सहभागी हुने गरेका छन् । समारोह प्रमाणपत्र लिने र गाउन लगाएर फोटो खिचाउने परम्परामा सीमित भएकाले सहभागिता न्यून हुने गरेको छ ।

०७३ असार २ देखि ०७४ जेठ १७ सम्म त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उत्तीर्ण गरेका ६८ हजार २ सय ९२ मध्ये आइतबार भएको ४३ औं दीक्षान्त समारोहमा ८ हजार २ सय ६७ मात्र सहभागी भएको उपकुलपति तीर्थराज खनियाँले जानकारी दिए । यो संख्या उत्तीर्णको १२.१० प्रतिशत मात्र हो ।

गत वर्ष पनि ८३ हजार विद्यार्थी उत्तीर्ण भएकामा ९ हजार ७ सय ३४ (११.६६ प्रतिशत) विद्यार्थी मात्रै दीक्षान्तमा सहभागी थिए । तीन वर्षयता दीक्षान्तमा सहभागी हुने विद्यार्थी संख्या सरदर ११ प्रतिशत रहे पनि उपकुलपति प्रा. तीर्थराज खनियाँ विद्यार्थीको आकर्षण बढिरहेको दाबी गर्छन् । ‘यस कार्यक्रममा दीक्षित हुन योग्य विद्यार्थीको संख्याले विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको पुष्टि गर्छ,’ उनले भने, ‘त्रिवि विभिन्न राष्ट्रका विद्यार्थी तथा अनुसन्धानकर्ताको आकर्षणको केन्द्र भएको छ । यो हाम्रो गर्वको विषय हो ।’

उपकुलपतिले विश्वविद्यालयको गुनगान गाइरहँदा विद्यार्थी भने दीक्षित प्रमाणपत्र लिन लाइनमा पुगिसकेका थिए । विद्यावारिधिबाहेक अन्य तहका दीक्षितहरूलाई कुलपति वा अन्य पदाधिकारीले प्रमाणपत्र दिने व्यवस्था त्रिविमा छैन । अन्य विश्वविद्यालयमा संकायअनुसार फरक दिनमा दीक्षान्त राखिन्छ, उपकुलपतिले नै दीक्षित सबैलाई प्रमाणपत्र प्रदान गर्छन् । त्रिविमा दीक्षित विद्यार्थीको नाम उच्चारणसमेत गरिँदैन ।

विदेशको अधुरो पढाइ स्वदेशमा

त्रिविले विदेशमा अध्ययन पूरा नगरी फर्केका विद्यार्थी लक्षित गरेर क्रेडिट ट्रान्सफर व्यवस्था गर्ने भएको छ । ‘अध्ययन गर्न विदेश गएर पूरा नगरी फर्केका र स्वदेशमा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि क्रेडिट ट्रान्सफर व्यवस्था गरिने भएको छ,’ उपकुलपति खनियाँले भने, ‘नेपालभित्र र बाहिरका विश्वविद्यालयहरूसँग त्रिविमा क्रेडिट ट्रान्सफरको व्यवस्था गर्ने विषयमा प्राविधिक समिति बनेर प्रतिवेदनसमेत आइसकेको छ ।’

आइतबारको ४३ औं दीक्षान्तमा निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको थियो । ८ हजार विद्यार्थी, उनका अभिभावक र प्राध्यापकलाई कुराएर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अन्य कार्यक्रममा व्यस्त थिए । समारोहका प्रमुख अतिथि जहवरलाल नेहरू विश्वविद्यालयका उपकुलपति प्रा. एम जगदीश कुमार थिए । जेएनयूमा भर्ना हुन धेरै प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए । ‘हजारौं नेपाली विद्यार्थी भारतका विश्वविद्यालयमा बर्सेनि अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘जेएनयूमा मात्रै एक सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।’ जेएनयू र त्रिविबीच सहकार्य गर्न केही वर्षअघि नै सम्झौता भइसकेको जनाउँदै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै त्रिविको प्रशंसा गरे ।

एकै जनालाई तीन पदक

त्रिवि गणित केन्द्रीय विभागबाट स्नातकोत्तर प्रसन्नकुमार तामाङले तीनवटा पदक पाए । ९२.५० प्रतिशत ल्याएका उनले चान्सलर पदक, विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्टलाई प्रदान गरिने प्राध्यापक संघ स्वर्णपदक र रामप्रसाद मानन्धर स्वर्णपदक पाएका हुन् ।

पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमा एमए गरेका रोशन कर्माचार्यले पनि तीनवटा पदक पाए । ७४ प्रतिशत ल्याएका उनले खगेन्द्रमानसिं प्रधान पदक, चन्द्रराज ढुंगेल स्मृति पुरस्कार र तारापद चौधरी पदक पाएका हुन् । जैविक प्रविधि केन्द्रीय विभागबाट एमएस्सी गरेकी गौरी थापाले डा. रेखा र लक्ष्मैया श्रीराम पदक पाइन् । रसायनशास्त्र केन्द्रीय विभागबाट एमएस्सी गरेका टोपप्रसाद काप्रीले अमृत पदक र पीएम सिंह पदक पाए ।

पद्मकन्या बहुमुखी क्याम्पसबाट गृह विज्ञानमा एमए गरेकी डिनिता आङदेम्बेले मालती तिमल्सिना पदक पाइन् । गणितमा एमएड गरेका प्रेमप्रसाद दाहालले हिमांशु दाहाल स्मृति नगद पुरस्कार पाए । क्याम्पियन कलेजबाट समाजशास्त्रमा एमए गरेकी रूपाश्री निरौलाले सुमन रिजाल पदक पाइन् । शंकरदेवबाट एमबीएस गरेका गायत्री कार्कीले रामकृष्ण न्हुच्छे प्रदान पुरस्कार र नेपाल बैंक सरदार गुञ्जमान सिं स्वर्ण पदक पाइन् । यो पदक वीरेन्द्र बहुमुखी क्याम्पसका पोस्टराज निरौलाले समेत पाएका छन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक काठमाडौं मोडल कलेजकी प्रमिता श्रेष्ठले पाइन् ।

६२ जनाद्वारा पीएचडी

त्रिविका अनुसार यस वर्ष मानविकीका ३६, विज्ञान तथा प्रविधिबाट ७, शिक्षाशास्त्रबाट ३, व्यवस्थापनबाट ३, चिकित्साशास्त्रबाट २, कृषि र पशु विज्ञानमा ९ तथा वन विज्ञानमा २ जनाले पीएचडी गरेका हुन् ।

किन आउँदैनन् विद्यार्थी ?

-कुलपति/उपकुलपतिबाट दीक्षित हुन नपाउनु
-घण्टौं लाइन बस्नुपर्ने बाध्यता
-एकै दिन सबै संकायको दीक्षान्त राख्दा भीडभाड

कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया