Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

वयोवृद्ध प्राध्यापकको जीवनकथा

शनिबार, २२ पुस २०७४

काठमाडौं २२ पुस / प्रा.डा. केशवप्रसाद उपाध्यायलाई प्राज्ञिक जगतमा गुरुका पनि गुरु मानिन्छन् । प्रारम्भिक शिक्षादेखि त्रिभुवन विश्वविद्यालयसम्म प्राध्यापन गर्दाका उनका क्षणहरू निकै रोचक छन् । उमेरले ८५ वर्ष टेकेका केशवलाई शुक्रबार दुइटा खुसी मिल्यो ।

पहिलो खुसी उनको जन्मोत्सवको थियो, दोस्रो खुसी उनको आत्मवृत्तान्त कृति ‘मेरो जीवन कथा’ को । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनको आत्मकथ
लोकार्पण गरे ।मदन पुरस्कार विजेता यी स्रष्टाले कार्यक्रममा आफ्नो पुरानो समय सम्झे । खासमा उनी आफ्नो आत्मवृत्तान्त तीन दशकअघि नै प्रकाशन गर्ने योजनामा थिए । शारीरिक अस्वस्थता र पत्नी वियोगले योजनामा भाँजो हाल्यो । तैपनि उनले हिम्मत हारेनन् र कृति ल्याएरै छाडे । ‘सकी न सकी पूरा गरेको छु,’ उनले भने, ‘मेरा भोगाइले हाम्रो पुरानो समाज र अहिलको समाजको चित्रण गर्नेछ भन्ने मेरो विश्वास छ ।’

उपाध्यायले आफ्नो बाल्य, किशोर र वृद्धा अवस्थाका तीता, मीठा एवं संघर्षपूर्ण अनुभूतिहरूलाई पुस्तकमा समेटेका छन् । बाल्यकालमै आमा गुमाएर टुहुरो बन्नुपरेका उनले बुढेसकालमा पत्नी गुमाउँदाको गहिरो पीडा सबैमाझ सुनाए । ‘मेरा दिनहरू सुखद र दु:खद दुवै रहे,’ उनले भने, ‘यिनै अनुभूतिलाई पाठकसामु बाँड्न चाहेको हुँ ।’

कलैयामा जन्मेहुर्केका यिनले प्राध्यापनसँगै नेपाली भाषा–साहित्य र रंगमञ्चमा ठूलो योगदान दिएका छन् । २०५५ मा मदन पुरस्कार पाएका उनका ‘पूर्वीय साहित्य सिद्धान्त,’ ‘बालकृष्ण समको दु:खान्त नाट्य चेतना’ माथि विद्यावारिधि गरे । उनका ‘नाटक र रंगमञ्च’, ‘कलैयाका तीरमा तीन मूर्ति’, ‘पाश्चात्य दु:खान्त नाटकको सृजन परम्परा’ लगायतका कृतिहरू प्रकाशित छन् ।

उनले आफूले विद्यार्जन गर्ने समयको संघर्षपूर्ण अवस्थालाई पनि पुस्तकमा समेटेका छन् । बाल्यकालमै आमा र बुबा बितेपछि उनको जीवनमा आर्थिक संकट छायो । यसले शैक्षिक यात्रामा अवरोध पुर्‍यायो । अनेक संघर्ष गरेरै भए पनि शिक्षा हासिल गर्ने उनले दृढता लिए ।
‘१४ वर्षको पुग्दा पनि खुट्टामा जुत्ता थिएन,’ उनले बाल्यकाल सम्झे, ‘तर मेरो दिमागमा पढाइभन्दा अरू केही थिएन । भौतिक सुविधालाई कहिल्यै प्राथमिकतामा राखिनँ ।’

कार्यक्रममा उपाध्यायको पुस्तक र प्राज्ञिक योगदानमाथि विभिन्न व्यक्तित्वले चर्चा गरे । वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठी, समालोचक डा. ज्ञानु पाण्डे, प्राज्ञ गोपाल अश्क, डा. निर्मोही व्यासलगायतले उपाध्यायको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । डा. त्रिपाठीले उपाध्यायको जीवन आफंैमा विश्वविद्यालयजस्तो रहेको उल्लेख गर्दै उनले नेपाली भाषा–साहित्यमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए गरे । कुलपति उप्रेतीले पनि उपाध्यायको योगदान सबैका लागि उत्प्रेरक रहेको बताए । समालोचक पाण्डेले उपाध्यायको आत्मबृतान्तमा उनले भोगेको जीवनको कालखण्ड मात्रै नभएर सिंगो समाज दर्शन भेटिने दाबी गरिन् । अश्कले उपाध्यायको पुस्तकमा तराईको जीवनशैली र भोजपुरी भाषा–संस्कृति अत्यन्त सूक्ष्म तरिकाले झल्किएको बताए ।

कान्तिपुरबाट

प्रतिक्रिया