Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

विद्यार्थी अझै त्रिपालमा

आइतबार, १४ माघ २०७४

काठमाडौं १४ माघ / धादिङ्को ज्वालामुखी गाउँपालिकाको कुमालबस्ती पीपलटारस्थित निम्नमाध्यमिक विद्यालय अझै पुनर्निर्माण भएको छैन । भूकम्पले उक्त विद्यालयका ३ वटा भवनमा क्षति पुगेको थियो । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै विभिन्न संघ–संस्थाले पनि निर्माणमा बेवास्ता गर्दा विद्यालयका बालबालिका चर्केकै भवन र त्रिपालमा बसेर पढ्न बाध्य छन् ।

‘भूकम्प गएदेखि नै बालबालिकाले बालुवामै बसेर पढाइ गरे, डुबान क्षेत्रमा पर्ने भए पनि प्रयास नेपालको पहलमा २ वटा अस्थायी प्रकृतिका टहरा निर्माण भइरहेका छन्,’ विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दाहालले भने । वर्षौंदेखि पिछडिएका कुमाल बस्तीका बालबालिकाले विद्यालयमा नाम लेखाएका छन् तर पढ्न आउँदैनन् । दिनभर बस्तीमै खेल्ने भए पनि पढ्न रुचि नदेखाउने गरेको ज्वालामुखी गाउँपालिका–१ का वडाध्यक्ष रामप्रसाद सिलवालले बताए । विद्यालयमा ९ जना शिक्षक कार्यरत छन् । २ सय २६ जना विद्यार्थी भर्ना भए पनि उपस्थिति न्यून हुन्छ ।

जिल्लामा भूकम्पले भत्केका विद्यालय र कक्षाकोठा पुनर्निर्माण र मर्मतको काम कछुवा गतिमा भइरहेको छ । भूकम्पले भत्किएका करिब ४२ प्रतिशत विद्यालय भवन मात्र पुनर्निर्माण भएका छन् । १ सय ८५ विद्यालयमा ७ सय ९० कक्षा कोठा निर्माण भइसकेका छन् । यस्तै १ सय ८० विद्यालयमा ७ सय ८० कोठा मर्मत गरिएका छन् ।

भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माणमा ढिलाइ हुँदा अझै पनि विद्यार्थी खुला चौर, त्रिपाल, चौतारा र अस्थायी टहरामा पढिरहेका छन् । ‘जिल्ला आयोजनाअन्तर्गत २ सय १७ वटा विद्यालय भवन बनेका छन् । ‘केन्द्रीय आयोजनाअन्तर्गत जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोग, गरिबी न्यूनीकरणका लागि जापानी कोष (जेएफपीआर) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा ८२ विद्यालयमा सम्पूर्ण पुनर्निर्माण गर्ने लक्ष्यअनुरूप १९ विद्यालयमा पुनर्निर्माण भइरहेको छ,’ शिक्षा मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन इकाइ कार्यालय प्रमुख ईश्वरी ज्ञवालीले भने ।

यस्तै, विभिन्न सरकारी निकाय, व्यक्ति, समूहको स्रोत, जिल्ला शिक्षा कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह तथा विद्यालयको स्रोतबाट ३ सय कक्षाकोठा नयाँ निर्माण र ६ सय कक्षाकोठाको मर्मत भइरहेको छ । संघ–संस्थाहरूले पनि विद्यालय पुनर्निर्माण गरिरहेका छन् । जस अन्तर्गत ४ सय ६२ वटा कक्षाकोठा बनाइसकेका छन् । २ सय २५ कक्षाकोठा निर्माणाधीन छन् ।

विद्यालय भवन समयमै निर्माण नहुँदा हजारौं बालबालिका चिसो भुइँ र खुला आकाशमुनि पढ्न बाध्य छन् । तर, निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमीजस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर निर्मल बोगटीले बताए । ‘विद्यालय पुनर्निर्माणको योजना तर्जुमा गर्न वास्तविक तथ्यांक विवरण समयमा प्राप्त भएन र उच्च बसाइँसराइका कारण विद्यालय गाभ्ने निर्णयले पनि पुनर्निर्माणमा धक्का पुग्यो,’ उनले भने ।

कान्तिपुरमा हरिहरसिंह राठौरले लेखेका छन् । 

प्रतिक्रिया