काठमाडौं ४ फागुन / विद्यालयको आँगनमा लिपपोत, धुलो धुवाँबाट मुक्त। बालमैत्री शौचालय र पानीका धारा। विद्यालयको क्षेत्र वरपर फूलको बगैंचा। शिक्षक विद्यार्थीबीच मिठो बोलीमा कुराकानी। सबै कक्षाकोठा र विद्यालय भवनका भित्तामा टाँसिएका सन्देशमूलक विभिन्न सामग्री। नगरपालिका क्षेत्रमा पर्ने भए पनि दुर्गम गाउँस्थित छेडापोखरा प्राथमिक विद्यालयलाई चिनाउने माध्यम बनेका छन् यी सबै।
स्वर्गद्वारी नगरपालिका-९ गोठिवाङमा सञ्चालित नगरपालिकाको अति दुर्गम दलित बस्तीमा समेत छेडापोखरा प्रावि जिल्लाको नमुना विद्यालयका रूपमा चिनिएको छ। विद्यालय पुग्ने जोसुकैले पनि सकारात्मक अभ्यासको पाठ सिकेर फर्कन्छन्। विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये करिब ८० प्रतिशत दलित समुदायका छन्। विद्यालय प्रशासनले आफ्ना विद्यार्थीको स्वास्थ्यमा विशेष ध्यान दिने गरेको छ। विद्यालयले दिवा खाजा, विद्यार्थीको व्यक्तिगत र विद्यालय परिसरको सरसफाइमा जोड दिने गरेको छ। पानी सुद्धीकरण गर्न फिल्टर राखिएको छ।
‘विद्यार्थी-शिक्षक स्वस्थ नहुन्जेल शैक्षिक क्रियाकलाप प्रभावकारी हुँदैनन्’, प्रधानाध्यापक सृजना पण्डितले भनिन्, ‘सबैको सहयोगमा विद्यालय राम्रो बनाउन मद्दत पुगेको छ।’ विद्यालय ३ वर्षदेखि स्रोत केन्द्रमा नियमित पहिलो र दोस्रो भइरहेको उनले बताइन्। विद्यालयमा बालबालिकासहित हाल २ सय २७ जना विद्यार्थी अध्ययनरत रहेका छन्। ‘दुई जना शिक्षक निजी स्रोतमा हुनुहुन्छ’, पण्डितले भनिन्, ‘मासिक ८ हजार तलब चाहिन्छ। सबै अभिभावकले सघाउनु हुन्छ।’ विद्यालय सञ्चालनमा अभिभावकले सक्दो सघाउने गरेको उनले सुनाइन्।
भौतिक पूर्वाधारका दृष्टिकोणले विद्यालयमा पुग्न हिँड्नुपर्ने सडक धेरै कठिन मानिन्छ। विद्यालयमा अध्ययन गर्न झण्डै अढाइ घण्टा टाढाबाट समेत विद्यार्थी आउँछन्। दिवाङकोट, गडीगाउँ, नाम्रीकोट, छापधारा, पुननदिप, ढाडपोखरा, नामधारा र डाँडाकेटेरीलगायत गाउँबाट विद्यार्थीहरू पढ्न आउने गरेको पण्डितले बताइन्। गत मंसीरदेखि जिल्ला शिक्षा कार्यालय प्युठानबाट दिवाखाजा समेत लागू भएको छ। १ देखि ५ कक्षासम्म ३० जना दलित विद्यार्थीले छात्रवृत्ति पाउँछन्। विद्यालयले बेलाबेला अभिभावकको भेला डाकेर सुधारका योजना बनाउने र प्रशिक्षणको समेत व्यवस्था गर्दै आएको छ।
‘अभिभावकहरूको सुझाव गम्भीरतापूर्वक मनन् गर्छौं’, प्रअ पण्डितले भनिन्, ‘गाउँ दुर्गम भए पनि विद्यालय उत्कृष्ट बनाउन प्रयासरत छौं।’ विद्यालयमा रंगरोगन र पोषण सुधारका लागि कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्ड्रेनबाट सहयोग पाएको उनले बताइन्। ५ कक्षासम्म मात्र अध्यापन हुने भएकाले माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या गाउँमा अत्यन्त न्यून रहेको विद्यालयले जनाएको छ। एसईई र उच्च शिक्षा अध्ययन गर्न गोठिवाङबाट जुडापाटा र भिंगृमा पुग्न धेरै समय लाग्ने भएकाले विद्यार्थीले बीचमै अध्ययन छाड्ने गरेका छन्।
गाउँलेले भौतिक पूर्वाधार सुदृढ पारेर यो विद्यालयमा एसईईसम्म पठनपाठन गर्ने व्यवस्था मिलाउन नगरपालिकासँग आग्रह गरेका छन्। स्थानीयहरूका अनुसार गाउँमा ५ कक्षासम्म अध्ययन गरेपछि अधिकांश बालबालिकाले सानै उमेरमा विवाह गर्ने र रोजगारीका लागि भारत जाने प्रचलन अत्यधिक छ। शिक्षण शैली, निरन्तर मूल्यांकन र पोषणमा विद्यालयको अभ्यास धेरै राम्रो रहेको जिल्ला शिक्षा कार्यालय भिंगृ स्रोतकेन्द्रका स्रोतव्यक्ति बलबहादुर रोकायले जानकारी गराए। ‘स्रोत केन्द्रमा ३६ वटा सामुदायिक विद्यालय छन्’, उनले भने, ‘जिशिकाको मूल्यांकनमा छेडापोखरा प्रावि अग्रपंक्तिमा पर्छ।’ उनका अनुसार स्रोत केन्द्रभर २४ वटा प्रावि र ६/६ वटा निमावि र मावि सञ्चालित छन्। कम्तीमा निमाविसम्म यस विद्यालयमा अनिवार्य अध्यापन हुनुपर्ने धारणा राख्दै उनले भने, ‘यस विषयमा नगरपालिकाले पहल गर्नुपर्छ।’
समग्र नगरपालिकामा शिक्षा विकासका लागि कार्यालयबाट करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए। ‘भौतिक संरचनामा बजेट विनियोजन भएको छैन’, उनले भने, ‘वडा कार्यालयले पनि आआफ्नै ढंगले बजेट विनियोजन गरेका छन्।’
अननपूर्ण पोष्टमा केशर रोकाले लेखेका छन् ।
प्रतिक्रिया