Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

आहा यस्तो पो स्कुल !

सोमबार, १४ फागुन २०७४

काठमाडौं १४ फागुन / सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कुबिन्डेका रमेश नेपाल आफूले सिकेको प्रयोगात्मक ज्ञान खेतबारीमा प्रयोग गर्छन् । सातादिनअघि ड्याङ बनाएर विद्यालयछेउ प्रशस्त आलु फलाएका उनले घरमा आफैंले आलु रोपे ।

कुबिन्डेस्थित सेतीदेवि पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत उनले नमुना कृषक बनेर कुबिन्डेलाई समृद्ध बनाउने सपना बुनेका छन् । कृषि बालीविज्ञानबारे करिब ६० प्रतिशत सीप उनले विद्यालयका प्रयोगात्मक कक्षामा सिक्ने गरेका छन् ।

‘सिकाइसँगै कमाइ गर्न जानिएको छ, खुब खुसी लाग्छ ।’ कक्षा छेउको आलुको ड्याङ गोड्दै उनले भने । किताबी ज्ञान खासै प्रभावकारी नभए पनि प्रयोगात्मक प्रयोगले बाँच्न सिकाएको उनको बुझाइ छ ।‘पढ्न/लेख्न जान्नु नौलो कुरा होइन जस्तो लाग्छ, पढाइले बाँच्ने आधार दिए पो जाँगर चल्छ ।’ उनले भने, ‘प्राविधिक प्रयोगबाट कृषिलाई बुझेपछि आत्मनिर्भर बन्नेमा विश्वास पलाएको छ ।’

सेतीदेवि पञ्चकन्या माविका ९ देखि १२ सम्म १ सय ४१ विद्यार्थीले कृषि बाली विज्ञानअन्तर्गत स्थलगत प्राविधिक प्रयोगात्मक गर्ने गर्छन् । यहाँ आलु, माछापालन, च्याउ, पुष्पखेतीदेखि फलफूल लगायतका दर्जनौं प्रयोग ४ प्रशिक्षक र २ सहायकबाट विद्यार्थीलाई सिकाइन्छ ।
‘नेपालमा पढेर मात्रै केही हुँदैन’ भन्ने भनाइ तथा विदेशमा अध्ययन गर्न जाने प्रवृत्तिलाई यहाँको प्रयोगात्मक शिक्षाले तोडेको कक्षा १२ मा अध्ययन गरिहेकी पूजा न्यौपानेको दाबी छ । ‘बाहिर कृषिको विषयमा अध्ययन गर्न जानेले यहाँको प्रयोगात्मक शैलीलाई हेरेर बुझ्दा हुन्छ,’ उनले भनिन् ।

कृषि बालीको प्राविधिक शिक्षालाई उनले उत्कृष्ट सिकाइको रूपमा लिएकी छन् । ‘यो शिक्षाले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ,’ उनले उत्साहसाथ भनिन्, ‘भविष्यमा कृषक या कृषि विशेषज्ञ बन्छु भनेर म ढुक्कसाथ भन्न सक्छु ।’ पूजा च्याउदेखि आलु, पुष्पखेतीको विषयमा सिकेर अब्बल भइसकेकी छन् । ‘कहाँ लगेर बेच्ने, कहाँबाट बीउ ल्याउने र कसरी रोपेर उमार्ने सबै जानिसकेकी छु ।’ उनले भनिन्, ‘अब विदेश जाउँ भन्ने लागेको छैन, कृषिमा केही फरक उत्पादन गरेर देखाउने योजना बनाइसकेको छु ।’ रटाइ र कक्षागत किताबी ज्ञानले मात्रै केही नहुने र प्रयोगात्मक शिक्षाले केही परिर्वतन ल्याउनेमा उनीहरूको एकमत छ । पूजा र रमेश मात्रै होइनन्, पञ्चकन्याभरका बालबालिका कृषि विज्ञानको सिकाइसँगै कृषि पेसातर्फ आकर्षित भएका छन् ।

विद्यालयको वरिपरिका झन्डै साढे सात रोपनी खेतमा विद्यार्थीलाई प्रयोगात्मक ज्ञान सिकाइन्छ । कक्षा १० की स्वस्तिका बैजुले सुरुवातमा किन दु:ख दिइएको होला भन्ने लागे पनि ‘आत्मनिर्भर बनाउन ज्ञान दिइएको’ भन्दै खुसी व्यक्त गरिन् । विगतका वर्षहरूमा कृषिमा खासै भविष्य नदेखेकी उनले जीवनशैली नै परिर्वतन भएको बताइन् । घरमा बाबुआमालाई उल्टै कृषि उत्पादनमा सघाउन र सिकाउन सक्ने भएपछि थाहै नपाई जाँगर बढ्दै गएको छ उनको । विद्यार्थी समूहबाट उत्पादित सामग्री विद्यालयकै लागि खर्चने गरेको प्रधानाध्यापक बालकृष्ण न्यौपानेले बताए । ‘प्रयोगात्मक ज्ञान दिइने भएकाले यसप्रति आर्कषण बढ्दो छ ।’ उनले भने, ‘शिक्षणसँगै सीपमूलक शिक्षा दिए सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिन्छ ।’

सामुदायिक विद्यालयमै कृषि प्राविधिक शिक्षाबारे अभ्यास गराएर रोजगारी सिर्जना गर्ने माध्यम सिकाएको उनले सुनाए । २०७० सालमा कृषि बालीविज्ञानको विषयमा अभ्यास गराउन सुरु गरेको सेतीदेवी पञ्चकन्या मावि नमुना विद्यालयको रूपमा अगाडि बढ्दै छ । कृषि विज्ञानअन्तर्गत माध्यमिक तहमा पहिलोपटक प्रयोगात्मक कक्षा सञ्चालन गर्न धेरै कसरत गर्नुपरेको तितो अनुभव पनि हालैको सफलताले बिर्सेको न्यौपानेले बताए ।

कान्तिपुरमा अनिश तिवारीले लेखेको खबर ।

प्रतिक्रिया