काठमाडौं - राज्यको लगानी अनूरुप शिक्षाको प्रतिफल नआएको भन्दै प्रधानमन्त्री केपी ओलीले शिक्षकहरुलाई प्रश्न सोधेका छन् – लगानीको प्रतिफल खै ? शिक्षकहरुले सही ढंगले नपढाएर नै सार्वजनिक शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्केको बताउँदै ओलीले शिक्षण पेशामा क्षमतावानहरुलाई आर्कषित गर्ने तर्फ सरकार गम्भिर रहेको बताए ।
'कक्षामा जानुस् पढाउन लाग्नुस्' नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको उद्घाटन सत्रमा शिक्षकहरुलाई सम्बोधन गर्दै ओलीले भने 'पढाउन नजाने शिक्षकको दरबन्दी रहँदैन । अब शिक्षण पेशामा व्रिलेण्ट विद्यार्थी आर्कषित गर्ने हो ।'
शिक्षक आफूले पढाउन नजान्ने उल्टै विद्यार्थीले जानेन भन्दै फेल गराउने क्रमको अन्त्य गर्न सरकार गम्भिर रहेको उनले बताए ।
'६० नम्बर आफैंले मिलाउँदैन अनी ४० नम्बर ल्याएर पास गराउँछ' शिक्षकहरुलाई ब्यङ्य गर्दै ओलीले भने 'यसमा विद्यार्थी हैन, माष्टर, शिक्षा प्रणाली, नीति र सरकार फेल भएको हो अब त्यस्तो हुँदैन ।'
कुनै पनि विद्यार्थीले जानेन भनेर मनोबल कमजोर बनाउने क्रमको अन्त्य गर्ने बताउँदै ओलीले हरेक बालबालिकासँग भएको क्षमता पहिचान गरेर सोही अनुसार पठन पाठनमा संलग्न गराउने नीति अख्तियार गर्ने बताए । शिक्षालाई आधुनिक प्रतिष्पर्धि र गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताउँदै उनले सर्टिफिकेटलाई पिडाको विषय हुने क्रमको अन्त्य गरेर पढेपछि आत्मनिर्भर हुने शिक्षा प्रदान गर्ने दिशामा सरकार लागेको बताए ।
'कति पढेको छ भन्दा माष्टर्स, के जानेको छ भन्दा केही पनि छैन, अव त्यस्तो क्रमको अन्त्य हुन्छ' उनले भने, 'पढेर सकेपछि बचाईदिने तत्व (जागिर) खोज्दै भौतारिने हैन, पढेपछि हरेक विद्यार्थीले आफू बाँच्ने उद्यम सिक्ने शिक्षा प्रणाली विकास गरी शिक्षालाई विकाससँग जोडिने छ ।'
विना योजना अन्धाधुन्द भएको अवस्थालाई विश्लेषण गर्दै कुन क्षेत्रमा कती जनशक्ति आवश्यक छ भन्ने यकिन गरेर सोही अनुसार शिक्षा प्रदान गर्ने उनले बताए ।
अर्को प्रसंगमा उनले कुनै बेला आफू पनि शिक्षक भएकोले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेको समेत बताए ।
'२०२६ साल ताका म पनि शिक्षक थिएँ, औपचारिक सरकारी नियुक्ति लिएर पढाउने शिक्षक नै हुँ, प्राविको शिक्षक थिएँ भन्दा मेरो ईज्यत जाँदैन तर पछि पार्टिको कामले भ्याईएन र राजिनााम प्रेषित गरेर छाँडे' उनले भने, 'पार्टिका आन्तरिक जिम्मेवारीमा फ्रयाक्सन ईञ्चार्ज भएर पनि शिक्षकहरुसँग नजिक बसेर काम गरेकोले म तपाईहरुका समस्याका बारेमा जानकार छु ।'
तर अहिलेको अवस्था फरक भएको भन्दै ओलीले देशका झण्डै ८० लाख मानिस निरपेक्ष गरीवीको रेखामुनि रहेको अवस्थामा त्यो बर्गको उत्थानमा केन्द्रित हुनु पर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताए ।
आधा पेट खाएर बाँचेको बर्ग छ, घर छैन बस्ने ठाउँ छैन, त्यसैले पहिले त्यस तर्फ सोच्नु पर्ने छ, ओलीले भने म त शिक्षकनै भएको मान्छे तपाईहरुको समस्या बुझ्दिन होला त ? बुझ्या छु नी ।
नेपाल र नेपाली विकासको अन्तिम आशामा बसेको भन्दै ओलीले यो आशा पुरा गर्न आफू र आफ्नो नेतृत्वको सरकार दृढ रहेको पनि बताए ।
'हामी १५ बर्ष १८ बर्ष जेल नेल गोलघर भोगेको पुस्ताले नबनाएउ देश कसले बनाउँछ ?' प्रश्न गर्दै उनले भने ।
कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बदलिएको राजनीतिक अवस्थामा शिक्षकको भूमिका पनि बदलिएको बताउँदैं शिक्षकको मुख्य भूमिका कक्षा कोठानै भएको स्मरण गराए ।
अर्को प्रसंगमा उनले शिक्षाको अपेक्षा पुरा गर्ने खालको बजेट नआए पनि बजेटको घट्दो क्रम रोकिएको तर्क गरे । सामुदायिक विद्यालय सुधार, प्राधिविक धारा, उच्च शिक्षा सुधार र निरक्षरता उन्मुलन बजेटको प्राथमिकतामा परेको उनले बताए । बजेट निर्माणमा शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्ने प्रस्ताव गरेपनि आफू सफल नभएको बताउँदै उनले प्रादेशिक स्तरका अस्पतालहरुबाट शिक्षकको उपचारमा सघाउने योजना निर्माण गर्ने प्रतिवद्धता जनाए । गुणात्मक शिक्षाको नेपाली संस्करण निर्माणमा आफू केन्द्रित भएको बताउँदै मन्त्री पोखरेलले देशको ब्यवस्था परिवर्तन भएसँगै आवश्यक ऐन नियम निर्माणमा आफू केन्द्रित भएको बताए ।
कार्यक्रममा संस्कृतीविद् सत्यमोहन जोशि, संगठनका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा सहितलाई सम्मान गरिएको थियो । यसैगरी संगठनका उत्कृष्ठ जिल्लाशाखाहरुलाई पनि सम्मान गरियो ।
सारमा पञ्चायती शासनको दमन विरुद्ध भए पनि रुपमा पेशागत अधिकारका नाममा शिक्षकहरुले २०३५ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अवधारणा ल्याएका हुन् । २०३६ साल जेठ ४ गते हेटौंडाको भुटनदेवी माविमा भेला भएका २३ जिल्लाका ९९ जना शिक्षकले बद्री प्रसाद खतिवडाको नेतृत्वमा विधिवत रुपमा संगठनको सुरुवात गरेका थिए ।
उक्त दिनलाई नेपालको शिक्षामा राजनीतिको औपचारिक प्रवेश भएको रुपमा समेत विश्लेषण हुँदै आएको छ ।
उक्त समयमा राजनीतिक दलहरु भूमिगत थिए । स्थापनाका बेला शिक्षकहरुमा कम्युनिष्ट–कांग्रेस भन्ने थिएन । राजनीतिक आस्था फरक भए पनि सबै शिक्षक संगठनमै आबद्ध थिए ।
२०४६ को राजनीतिक परिवर्तन सँगै गिरिजाप्रसाद कोइरालाको पहलमा कांग्रेस समर्थित शिक्षकरुको शिक्षक संघ खुल्यो । त्यस पछि त दलै पिच्छे शिक्षकका संगठन खुल्न थाले । पछिल्लो समय त्यस्ता शिक्षक संगठनका १६ घटक मिलेर नेपाल शिक्षक महासंघ बनाईएको छ । तै पनि शिक्षकहरुको राजनीतिक दल र तीनका कार्यक्रमहरुमा हुने संलग्नता भने घट्न सकेको छैन ।
नयाँ नेतृत्व चयन गर्दै संगठनको अधिवेशन सकिने छ । संगठनको आन्तरिक चुनावी गठजोडका बारेमा प्रकाशित यो खबर पनि पढ्नुहोस् : शिक्षक संगठनमा चुनावी रन्को, दलका गर्ने कि शिक्षकका कुरा !
प्रतिक्रिया