Edukhabar
आइतबार, २५ साउन २०८२
अन्तैवाट

४ वर्षमा अढाइ लाख विद्यार्थी घटे

विहीबार, २१ भदौ २०७५

काठमाडौं २१ भदौ / त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् ।

नयाँ पत्रिकाका अनुसार केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको हो । ०७२ मा आंगिकमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धनप्राप्त क्याम्पसमा ३ लाख ३१ हजार ८८ गरी ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भएका थिए । ०७३ मा अघिल्लो वर्षभन्दा झन्डै दुई लाख विद्यार्थी घटेका छन् । सो वर्ष आंगिकमा १ लाख ६९ हजार ८ सय ६५ र सम्बन्धनप्राप्त क्याम्पसमा २ लाख ६६ हजार ९ सय १६ गरी जम्मा ४ लाख ३६ हजार ७ सय ८१ विद्यार्थी मात्र भर्ना भए ।

०७४ मा पनि विद्यार्थी संख्या निरन्तर घट्यो । सो वर्ष त्रिविका सबै क्याम्पसमा गरी ३ लाख ६० हजार २ सय ५४ विद्यार्थी मात्र भर्ना भए । ०७५ मा अघिल्लो वर्षभन्दा कुल विद्यार्थी संख्या ७ हजार बढेको त्रिविको तथ्यांक छ । ०७५ मा आंगिकमा १ लाख ४२ हजार २ सय ९६ र सम्बन्धनप्राप्तमा २ लाख २८ हजार ९ सय ६ गरी ३ लाख ६७ हजार चार २७ विद्यार्थी भर्ना भएका छन् ।

चुनाव हुने वर्ष बढ्छन् लाखौँ विद्यार्थी

त्रिविमा स्ववियु चुनाव घोषणा भएको वर्ष विद्यार्थीको संख्या ह्वातै बढ्ने गरेको देखिन्छ । ०७१ मा त्रिविका सबै क्याम्पस कुल ४ लाख ५ हजार ३ सय ४१ विद्यार्थी भर्ना भएका थिए । अर्को वर्ष भने २ लाख विद्यार्थी बढे । अर्थात् ०७२ मा ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भए । त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा.डा. ऋदिसकुमार पोखरेल स्ववियु चुनाव हुने चर्चा भएकाले ०७२ मा विद्यार्थी संख्या बढेको अर्थात् ०७२ मा ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भए । त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा.डा. ऋदिसकुमार पोखरेल स्ववियु चुनाव हुने चर्चा भएकाले ०७२ मा विद्यार्थी संख्या बढेको बताउँछन् । चुनावमा जित्नका लागि विद्यार्थी संगठनले आफूनिकटका विद्यार्थी भर्ना गर्दा संख्या बढ्ने गरेको उनको भनाइ छ ।

उच्च शिक्षामा छात्रा बढी

उच्च शिक्षा लिनेमा छात्रभन्दा छात्राको संख्या बढेको छ । पछिल्ला वर्ष त्रिविको सम्बन्धनप्राप्त क्याम्पसमा मात्र होइन, कुल विद्यार्थी संख्यामा छात्राको संख्या धेरै रहेको पाइएको छ । ०७५ मा त्रिविमा कुल ३ लाख ६७ हजार ४ सय २७ विद्यार्थी संख्या रहेकामा छात्रा १ लाख ९९ हजार ५ सय ७० र छात्र १ लाख ६७ हजार ८ सय ५७ छ । त्रिविको तथ्यांकअनुसार छात्रभन्दा छात्राको संख्या ३१ हजार ७ सय १३ बढी छ । प्रा.डा. पोखरेलले अहिले त्रिविका सम्बन्धनप्राप्त क्याम्पसहरू गाउँ–गाउँमा खुलेको र त्यहाँ सहरमा आउन कठिन हुने छोरी–बुहारीले समेत बढ्ने अवसर पाएकाले छात्राको संख्या बढेको बताए ।

विद्यार्थी घट्नुका कारण

चुनाव हुने चर्चा भएको वर्ष विद्यार्थी धेरै भर्ना हुने र चुनाव भएपछि वा नभए छाड्ने कारणले संख्यामा घटबढ हुने गरेको छ । विद्यार्थी संख्या घट्नुमा अर्को मुख्य कारण त्रिविमा सेमेस्टर प्रणाली लागू हुनु पनि हो । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु भएको छ र सेमेस्टरमा सीमित कोटा हुने तथा नियमित उपस्थित हुनुपर्ने कारणले विद्यार्थी कम भएका हुन् । त्यसैगरी नेपाली विद्यार्थी विदेश अध्ययनमा जाने क्रम पनि बढिरहेको छ । अरू विश्वविद्यालय बढेका छन्, तर अहिले पनि उच्च शिक्षामा ८० प्रतिशत विद्यार्थी त्रिविमै रहेका छन् - प्रा.डा. ऋदिसकुमार पोखरेल, प्रमुख, योजना निर्देशनालय, त्रिवि

केही वर्षयता कुनै पनि विश्वविद्यालयमा विद्यार्थी संख्या बढेको छैन । प्रत्येक वर्ष हजारौँ विद्यार्थी भारतलगायत देशमा अध्ययन गर्न गएका छन् । नयाँ विश्वविद्यालय खुलेका छन् । केही विद्यार्थी नयाँ विश्वविद्यालयमा गएका छन् । उच्च शिक्षा लिने विद्यार्थीको संख्या बढेको छैन । अहिले मलेसिया, कतारलगायतका देशमा काम गर्न जानेमा २० देखि ३० प्रतिशत व्यक्ति विश्वविद्यालयमा भर्ना भएकामध्ये हुन्छन् - वैदेशिक रोजगारी र अध्ययनका कारण घटे, प्रा.डा. देवराज अधिकारी

मानविकीका केन्द्रीय विभागमा विद्यार्थी संकट, इतिहास विभाग रित्तै

त्रिविको इतिहास केन्द्रीय विभागमा अहिले एकजना पनि विद्यार्थी छैनन् । मानविकी तथा सामाजिक विज्ञान संकायको डिन कार्यालयका अनुसार हिन्दी विभागको एमए पहिलो सेमेस्टरमा चार र तेस्रो सेमेस्टरमा ६ विद्यार्थी छन् । संस्कृतको पहिलो सेमेस्टरमा ६ र तेस्रो सेमेस्टरमा दुई विद्यार्थी मात्र छन् । भाषाशास्त्रमा पहिलो सेमेस्टरमा ७ र तेस्रोमा दुई विद्यार्थी छन् । बौद्ध अध्ययनको पहिलो सेमेस्टरमा १० र तेस्रोमा सात, संस्कृतिको पहिलो सेमेस्टरमा १७ र तेस्रोमा १५ विद्यार्थी छन् । नेपाल भाषामा पहिलो सेमेस्टरमा ९ विद्यार्थी भर्ना भए पनि तेस्रो सेमेस्टर रित्तो छ । जनसंख्या केन्द्रीय विभागमा ५२ विद्यार्थी भए पनि तेस्रो सेमेस्टरमा दुईजना मात्र छन् ।

भूगोल विभागका प्रमुख भन्छन्, ‘यो अवस्थाले धेरै चल्न सक्दैन’

भूगोल विभागमा तुलनात्मक रूपले धेरै विद्यार्थी हुन्थे । तर, गर्त वर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन् । अहिले तेस्रो सेमेस्टर रित्तो छ । तर, स्थानीय तहमा काम गर्ने कर्मचारीलाई आवश्यक पर्ने भएपछि यस वर्ष पहिलो सेमेस्टरमा ३२ जना भर्ना भएका छन् ।

तर, विभाग प्रमुख हृदयलाल कोइराला विद्यार्थीको यही संख्याले विभाग धेरै चल्न नसक्ने बताउँछन् ।

‘पाठ्यक्रममा जिआइएस समावेश गरिएकाले केही मात्रामा भए पनि विद्यार्थी आइरहेका छन् । स्थानीय तहका कर्मचारीलाई जिआइएस आवश्यक पर्ने हुँदा तानिएका हुन्,’ प्रमुख कोइराला भन्छन्, ‘तर, उनीहरूकै भरमा विभाग सधैँ चल्न सक्दैन । स्नातक सकेर भूगोल पढ्न आउने विद्यार्थीको संख्या नगन्य नै छ ।’

किन आउँदैनन् मानविकीमा विद्यार्थी ? जागिर नपाउने विषय पढ्नै छाडे - प्रा.डा. शिवलाल भुसाल, डिन, मानविकी तथा समाज विज्ञान संकाय

नयाँ कार्यक्रममा भने बढ्दै छ आकर्षण

त्रिविको गरिमासँग गाँसिएका विभागहरू रित्तिँदै गए पनि नयाँ कार्यक्रममा भने विद्यार्थीको आकर्षण राम्रो देखिन्छ । डिन कार्यालयले २१ विभागबाहेक केही कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । विद्यार्थीको आकर्षण भएका केही नयाँ विषयमा यस्ता कार्यक्रम सञ्चालन गरिएको डिन भुसाल बताउँछन् । यस्ता कार्यक्रममा प्रत्येक सेमेस्टरमा ३५ जना विद्यार्थीको कोटा हुन्छ । प्रायः सबै कार्यक्रममा निर्धारित संख्याभन्दा धेरै विद्यार्थीको आवेदन पर्ने गरेको छ ।

द्वन्द्व, शान्ति र विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संकट व्यवस्थापन, खेलकुद विज्ञान, समाजिक कार्य, लैंगिक अध्ययन, पर्यटन र आतिथ्य, विकास अध्ययन, लोकवार्ता अध्ययन र मनोविज्ञान परामर्शमा एमए पढाइ भइरहेको छ । नेपाल आर्मीसँगको सहकार्यमा रणनीतिक अध्ययन तथा सशस्त्र प्रहरीसँगको सहकार्यमा शान्तिसुरक्षा र विकासमा पनि एमए कार्यक्रम सञ्चालन भइरहेको छ ।

नयाँ विषय भएको र रोजगारको सम्भावनासमेत राम्रो हुने हुँदा यी कार्यक्रममा विद्यार्थीको रुचि बढी छ । यीमध्ये विद्यार्थी नियमित हुने केही कार्यक्रमलाई बिस्तारै विभागका रूपमा विकास गर्न सकिने डिन भुसाल बताउँछन् ।

विद्यार्थी आकर्षण गर्न के गर्ने ?

डिन भुसाल केही विभागमा विद्यार्थी कम हुनु स्वाभाविक ठान्छन् । ‘मानविकीका सबै विषयमा धेरै विद्यार्थी हुन्छन् भन्ने हुँदैन, आठ–दश विद्यार्थी हुनु स्वाभाविक मान्नुपर्छ,’ उनी भन्छन्, ‘तर केही विभागमा हामीले सोचेभन्दा कम विद्यार्थी छन्, त्यहाँ कसरी विद्यार्थी बढाउने भनेर हामी छलफल गरिरहेका छौँ ।’

कतिपय विभागले एमफिल र पिएचडी कार्यक्रम चलाइरहेकाले विभागहरू तुरुन्तै खाली नहुने उनले बताए । अहिले २१ मध्ये नौ विभागले एमफिल गराइरहेका छन् । कतिपय विभागले पिएचडी कार्यक्रम सञ्चालन गरी पढाइरहेका छन् । तर, एमएमा यही गतिमा विद्यार्थी घट्दै जाने हो भने केही वर्षमै पिएचडी र एमफिलमा पनि विद्यार्थी आउने बाटो बन्द हुने निश्चित छ । त्यसो भए त्रिविमा माानविकी

पढ्ने विद्यार्थीलाई आकर्षण गर्न के गर्नुपर्ला ?

प्राध्यापक शर्मा भन्छन्, ‘एउटा अथवा दुईवटा सुधारले हुँदैन । त्रिविको पूरै पुनर्संरचना सुधार्नुपर्छ ।’ पाठ्यक्रम निर्माण र पढाउने तरिका, शिक्षक–प्राध्यापक नियुक्तिदेखि त्रिविको नेतृत्व नियुक्ति गर्ने पद्धतिसम्म पुनर्संरचना गर्नपर्ने उनको सुझाब छ ।

सेमेस्टर र त्रिविको बेथितिले विद्यार्थी घटे

पहिले खल्तीमा एउटा कापी हालेर आउने, मन लागे क्लास लिने, नलागे नलिने गरे हुन्थ्यो । अरू काम गरेर कहिलेकाहीँ क्याम्पस आउने विद्यार्थी पनि हुन्थे । सेमेस्टर प्रणाली भएपछि नियमित उपस्थिति र गृहकार्य गर्नैपर्ने हुन्छ । त्यसैले, विद्यार्थीको संख्या घट्छ ।

त्रिविको वातावरण, पाठ्यक्रम, जनशक्ति र पठनपाठनको तौरतरिका विद्यार्थी आकर्षण गर्ने किसिमिको पनि छैन । स्थायी नियुक्ति पाएका प्राध्यापकप्रति विद्यार्थी कति सन्तुष्ट छन् भनेर हेरिँदैन । नियुक्ति गर्दा क्षमताका आधारमा नभएर राजनीतिक निकटताका आधारमा गरिन्छ । यसले समस्या सिर्जना गरेको छ ।

त्रिविका मानविकी विभागमा विद्यार्थी घट्ने अर्को कारण हो, ‘प्लस टु’ । त्रिविबाट प्रवीणता प्रमाणपत्र तह खारेज भएपछि एसएलसीपछिको अध्ययन ‘प्लस टु’को जिम्मामा गयो । अधिकांश ‘प्लस टु’ले कम विद्यार्थी हुने मानविकीका विषय पढाउन चाहेनन् । प्लस टुमा नै मानविकी पढ्ने विद्यार्थी नभएपछि त्यसको प्रभाव अहिले आएर एमएमा देखिएको हो ।

नयाँ पत्रिकामा त्रिवि ४ वर्षमा अढाइ लाख विद्यार्थी घटे शिर्षकमा भवानीश्वर गौतम र रोहेज खतिवडाले लेखेको खबर । 

प्रतिक्रिया