Edukhabar
आइतबार, ०९ बैशाख २०८१
राम्रा कसरी राम्रा

सफलताको रहस्य : शिक्षकको गतिलो मेहनत

सोमबार, ०६ चैत्र २०७९

बुटवल - वि.स.२०७१ सालदेखि लगातार राष्ट्रिय ध्वजासहित पुरस्कृत विद्यालय हो, बुटवलको कालिका मानवज्ञान मावि । जुन अहिले सामुदायिक विद्यालयको शानको रुपमा रहेको छ । विद्यालय सञ्चालनको तौरतरिकाका साथै विद्यालयको असल अभ्यासका लागि एउटा राम्रो गन्तव्य समेत बनेको छ, कालिका मानवज्ञान ।

सामुदायिक विद्यालयहरुमध्ये उत्कृष्ट, उदाहरणीय कालिका मानवज्ञान माविको सफलताको रहस्य अरु केही नभएर सो विद्यालयको नेतृत्व, शिक्षक, विद्यार्थी, विव्यस, समुदाय र अभिभावकक नै हुन् । ती ६ पक्षबीचको सामूहिक प्रयासकै कारण विद्यालय धेरैका लागि अनुकरणीय केन्द्रका रुपमा स्थापित हुँदै गइरहेको छ ।

कालिका मानवज्ञान माविका पूर्व सल्लाहकार महेन्द्र थापाका अनुसार सो विद्यालयलको शक्तिको रुपमा शिक्षकको गतिलो मेहनत हो । 

उनले भने, ‘शिक्षकले राम्रोसँग मेहनत गरेर पढाए । अभिभावकले विद्यालयको अपनत्व लिए । प्रअले कुशल नेतृत्व प्रदान गरे । त्यसपछि विद्यालय नगर, जिल्ला हुँदै राष्ट्रमै अब्बल संस्थाको रुपमा प्रतिष्ठित भयो ।’
विद्यालयको आफ्नै शैक्षिक दैनिकी, विद्यार्थीप्रति समर्पित प्रशासन, पेशाप्रति लगनशील शिक्षक, अनुशासित र मेहनती विद्यार्थीको कसिलो सम्बन्धको कारण कालिका मानवज्ञान मावि शिक्षामा केही गर्ने चाहना राखेर सिक्न चाहनेहरुका लागि सिकाइ केन्द्र त बनेको छ नै, साँच्चै कालिकाको लोभलाग्दो प्रगतिकै कारण धेरै शैक्षिक व्यक्ति, शैक्षिक सरोकारवालाहरुका लागि कालिका मानवज्ञान पुग्न मन गर्ने गन्तव्य स्थल समेत बनेको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीस्थित व्यापारिक केन्द्र बुटवल नगरपालिका वडा नंं १० मा अवस्थित सो विद्यालय शिक्षाको महत्वपूर्ण र गौरबशाली संस्थामा रुपान्तरण भएको छ । विद्यार्थी र अभिभावकको पहिलो रोजाइको विद्यालय कालिका नगर र रामनगर गरी दुई स्थानको ५ विघा ८ कठ्ठाको क्षेत्रफलमा फैलिएको छ ।

विगत ८ वर्षदेखि विद्यालयले शैक्षिक क्षेत्रमा प्राप्त गरेको अनवरत सफलता नै विद्यालयको पृथक परिचय हो । सफल विद्यालयको छवि बनाएको सो विद्यालयका प्रधानाध्यापक दिपक थापा भन्छन्, ‘जहाँ विद्यार्थी रमाउँछन्, शिक्षकले स्फुर्तिका साथ रमाएर कक्षाकोठा प्रवेश गर्छन्, त्यो विद्यालय नै सफल विद्यालय हो ।’

७० को दशकमा विद्यालयले मारेको शैक्षिक फड्को नै लुम्बिनी प्रदेश क्षेत्रका विद्यार्थीको पहिलो रोजाइको विद्यालय भएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको भनाइ छ । 

‘१० वर्षमा यसले फड्को मारेर राष्ट्रिय स्तरमै नमूना बनेको हो’, वडा अध्यक्ष बलबहादुर पुनले भने । उनले विद्यालयले पढाइमा मात्र नभई खेलकुद र अतिरिक्त कृयाकलापमा पनि बराबर ध्यान दिँदै आएको जनाए । 

‘यो स्कूलले खेलकुदमा पनि नगर, जिल्ला र राष्ट्रियस्तरमै उपलब्धी हासिल गर्दै आएको छ । कक्षा ११ र १२ मा यसका उत्पादनहरु स्नातक तहमा इञ्जिनियरिङ्ग, चिकित्सा र व्यवस्थापन सङ्कायमा छात्रवृत्तिमा नाम निकाल्न धेरै विद्यार्थी सफल भएका छन् ।’ 

अन्तर्राष्ट्रिय स्कूल अवार्ड (२०२०–२३) बाट पनि सम्मानित कालिका मानवज्ञान विद्यालयमा अहिले ८ हजारको हाराहारीमा विद्यार्थी पढिरहेका छन् । विद्यालयको साधारणतर्फ ७ हजार ४ सय १९ र प्राविधिक धारतर्फ १९२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीका लागि १६ वटा भवन ब्लक, २ वटा खेलमैदान, एक बाल उद्यान, ७ वटा विज्ञान प्रयोगशाला, ५ वटा कम्प्युटर ल्याब, एक वटा डिजिटल ल्याब र इलेक्ट्रिक ल्याब, १६५ वटा कक्षाकोठा, २ वटा पुस्तकालय, एक वाचनालय, ६ वटा अतिरिक्त कक्षाकोठा, एक कार्यक्रम र सभा हल, २३ वटा शौचालय, ४३ वटा प्रोजेक्टर र १ वटा स्मार्ट बोर्डको व्यवस्था गरेको छ ।

विद्यालयको सफलताको शृङ्खला

वि.सं. २०१८ सालमा बुटवलको योगीकुटीमा विश्वशान्ति नेपाल राष्ट्रिय प्राविको नाममा स्थापित विद्यालय २०२९ सालमा कालिका स्कुलमा परिणत भएको थियो । वि.सं. ३०३२ मा माविको स्वीकृति, २०६५ मा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ को स्वीकृति, २०६७ मा सोही तहमा विज्ञान विषय थप, २०७० सालमा कम्प्युटर इञ्जिनियरिङ र २०७३ मा कानून विषय थप गरी अघि बढेको थियो कालिका मावि । 
कालिका मावि भन्दा २३ वर्ष कान्छो गरी २०४१ मा बुटवलकै रामनगरमा स्थापित मानवज्ञान मावि र कालिका मावि २०७५ मा एक आपसमा समायोजन भई कालिका मानवज्ञान माविमा रुपान्तरित भयो । उक्त रुपान्तरणले विद्यालयको क्षेत्रफलसँगै विद्यार्थीको संख्या बढाउन पनि टेवा पुग्यो । 

कालिका मानवज्ञान मावि हुनु अघि नै साविकको कालिका माविले २०७३ र २०७५ सालको एसएलसीमा साधारण तर्फ नेपाल प्रथम र २०७४ मा नेपाल तृतीयका साथ उत्कृष्ट परीक्षा केन्द्रका रुपमा समेत पुरस्कृत भएको थियो । त्यही सफलताले कालिकालाई राष्ट्रियस्तरमै परिचित बनाएको थियो ।

समायोजनको शक्ति

जम्मा ८७ जना विद्यार्थी भएको तत्कालिन मानवज्ञान माविलाई आफूमा समाहित गरी कालिका मानवज्ञान मावि भएपछि विद्यालय दुई सेक्टरमा समानान्तर रुपले सञ्चालनमा रहेको छ ।  विद्यालय समायोजन पछि स्थानीय वासिन्दाले विद्यार्थीलाई टाढा पठाउने काम बन्द भयो ।  समायोजनसँगै विद्यालयको पढाइ स्तर बढाउनुपर्ने चुनौति थपियो, त्यसलाई विद्यालय टीमले सहज रुपमा स्वीकारे ।

‘विद्यालय समायोजन भएपछि के हुन्छ ? भनेर समाजले शंकाको दष्टिले हेरेको थियो’, तत्कालिन समयमा शिक्षकको जिम्मेवारीमा रहेका हालका प्रअ थापाले भने, ‘हामीले क्रमशः सामूहिक रुपमा काम गर्दै गयौं, नतिजा पनि दियौं, त्यसकारण विद्यार्थी र अभिावकमात्र हैन, स्थानीय समुदाय पनि सन्तुष्ट छ ।’

अहिले सो विद्यालय गरीब वर्गदेखि सम्भ्रान्त वर्ग सम्मका र कमजोरदेखि प्रतिभाशाली विद्यार्थी सम्मको रोजाइको केन्द्र बनेको छ । 

समायोजनपछि ‘सामुहिक योजना : सामूहिक कार्यान्वयन’ भन्ने मूलमन्त्रका साथ विद्यालयले शैक्षिक क्रियाकलाप अघि बढायो । अनि विद्यालयले पुष्टि गर्यो–‘हाम्रो विद्यालय : हाम्रो शान’ को नारालाई । ४२ शिक्षक र ४ कर्मचारी, ८ राहत कोटा, ८ प्राविधिक कोटा गरी जम्मा ६२ सरकारी दरबन्दीको जनशक्तिले नपुग्ने निश्चित भएपछि विद्यालयले आफ्नै स्रोतमा बालविकासमा १२ जना सजहकर्ता, प्राथमिक तहमा ५५ जना शिक्षक, निमावि तहमा १६ जना शिक्षक, मावि(९/१०) मा १९, मावि (११/१२) मा १३३, विद्यालय कर्मचारी ३७ र ३ होस्टल कर्मचारी गरी २७५ जना नियुक्त गरेको छ । विद्यालयमा अहिले ३३७ जना शिक्षक–कर्मचारी छन् ।

हासिल नतिजा र शैक्षिक उपलब्धिकै जगमा उभिएको विद्यालयलाई त्यतिधेरै विद्यार्थी र शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गर्न त्यति सहज छैन । यसैले विद्यालयले दुईजना सहायक प्रधानाध्यापक, १२ जना सचिवालय प्रमुख, ३७ जनाको अनुगमन समिति गठन गरेको छ ।

यसका साथै विद्यालयले आइएसए समिति, साहित्यिक समिति, इसिडी समिति, विषयगत समिति गठन गरी जिम्मेवारी बाँडफाड गरेको छ । 

शिक्षक सुविधा : प्रोत्साहन

‘शिक्षक खुसी भए, विद्यार्थी खुसी हुन्छन् भन्ने मन्त्रलाई हामीले आत्मसात गरेका छौं’, प्रअ थापाले भने, ‘शिक्षक र कर्मचारीको कार्यक्षमता, वैयक्तिक क्षमताजस्ता तत्वहरुलाई आधार मानी प्रोत्साहन पुरस्कारको व्यवस्था गरेका छौं ।’

सबै तहका शिक्षकहरुमा समान तरिकाबाट सुविधा दिइएको छ । विद्यालयमा निजी र स्थायी शिक्षक भन्ने भेद छैन । 

‘यहाँ समान तहको सुविधा छ । अतिरिक्त १० प्रतिशत भत्ताको व्यवस्था, सञ्चय कोष उपदान लगायत सञ्चित बिदाको सुविधा छ,’ प्रअ थापाले भने । यसबाहेक अतिरिक्त कार्यको अतिरिक्त भुक्तानीको व्यवस्था समेत विद्यालयले गरेको छ ।

विद्यार्थीलाई केन्द्रमा राखी सिकाइ कार्य गर्ने सो विद्यालयमा काम समान छ । सबैले गर्ने कार्य परिणाममुखी हुनुपर्नेमा विद्यालयले प्रोत्साहित गर्ने गर्दछ । 

‘शिक्षकहरुको कार्य प्रगति र कार्यसम्पादनको आधारमा पुरस्कारको व्यवस्था गरेका छौं ।’

विद्यार्थीलाई पनि समस्याको समाधान आफै खोज्न सिकाइने गरिएको उनको भनाइ छ । त्यो कार्यले विद्यार्थी नै बढी जिम्मेवार हुने गरेको अनुभव विद्यालयसँग छ । यही कारण ५ वर्ष अगाडि विद्यालयको समग्र सिकाइ उपलब्धि औसत ५० प्रतिशत रहेकोमा अहिले ७० प्रतिशत भन्दा माथि पुगेको छ ।

लर्निङ बाइ डुइङको सिद्धान्त अनुसार सिकाइ कार्यलाई जोड दिएको छ । विद्यार्थीको सबै क्षमतालाई समान मूल्यांकन गर्ने गरिएको छ । विद्यालयले पढाइमा कमजोर विद्यार्थीको सिकाइलाई मध्यनजर राख्दै खाली समयमा निःशुल्क कक्षा सञ्चालन पनि गर्ने गरेको छ ।

‘विद्यार्थीको स्तर अनुसारको सिकाइ हुन्छ, जबर्जस्ती कोर्श पूरा गर्नु जरुरी हुँदैन, हामीले अतिरिक्त र मौका परीक्षाको पनि व्यवस्था गरेका छौं’, उनले भने ।

विद्याथीलाई नै कक्षाकोठा व्यवस्थापनको जिम्मेवार सदस्य बनाइएको छ । प्रअ थापा, भन्छन्, ‘उनिहरुको हरेक कामलाई उनिहरु नै गर्न सक्छन् भन्ने प्रणालीका साथ अनुशासन कायम गर्ने पद्दतिबाट विद्यार्थी व्यवस्थापन गरिएको छ ।’

प्रतिक्रिया