Edukhabar
विहीबार, १० जेठ २०८१
विचार / विमर्श

पाठ्यक्रम कि पाठ्यपुस्तक ?

यो बर्ष शिक्षक तालिम रोकौँ । तालिम होलिडे बर्ष गरौँ । हाकिम 'साब हाँस्नु भो । आज वँहा कतै सचिव हुनुहुन्छ । भन्नु भो–तालिम किन रोक्ने ? तालिम कक्षा कोठामा पुगेको छैन, यसको कारण खोज्नु पर्यो, मैले भने ।

आइतबार, २० फागुन २०८०

चालु शैक्षिक सत्रको शुरुमा, विद्यालय तहका बालबालिकाका हातमा समयमै पाठ्यपुस्तक पुग्यो भन्ने पनि ठूलै खबर भयो । यो त नियमित प्रकृया हो । यो खबरले मलाई भने त्यति धेरै उत्साहित बनाएन । किन भने यस पटक मात्रै हैन सधैँ विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु पर्छ । तर, समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको समाचार व्यापक भयो । यो विषय किन त्यति धेरै प्राथमिकताको समाचार बन्यो ? कुरा बुझिन । शिक्षा पत्रकारहरुले पनि मन्त्री सचिवको राम्रै गुणगान गाए । सचिवले ठुलै युद्ध जिते जस्तै गरि सामाजिक सञ्जालमा हाले ! मन्त्रीले ठुलो आवाजमा भाषण गरे ! 

किन यस्तो हल्ला खल्ला भयो मैले बुझिन !

शिक्षाको गुणस्तर वृद्धि भएर गुणगान गाएको हो ? किताव पुग्ने कुरा त नियमित जागिरको काम हो । समयमै पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी सहित राज्यले अफिस नै खडा गरेको छ । पाठ्यपुस्तककै नाममा नियमित तलब खाने कर्मचारीनै छन् । त्यसैले यो त सधैँ नियमित पुग्नुपर्छ । नियमित हुन नसके जागिरवालाले स्पष्टिकरण दिनुपर्छ । अन्य देशमा भए त यो यति गम्भिर बिषय हो की जिम्मेदारको जागिर नै तल माथी पर्नसक्छ । तर दुर्भाग्य हाम्रोमा किताव पुग्दा केके न भयो ! ठुलो समाचार बन्यो ! 

यो देशमा समाचार, समाचार बन्दैन । गफ समाचार बन्छ । जागिर समाचार बन्छ । हाँस्नु कि रुनु ! कर्मचारी सरुवा समाचार बन्छ !

रातदिन मिहनेत गरेका शिक्षकलाई कसैले समाचर बनाउँदैन ! पाठ्यक्रम सबैको हातमा पुगेको छ । सबै शिक्षकको मन्त्र भएको छ भने समाचार बन्नु पर्छ । अब केहि हुन्छ । कक्षा कोठामा तालिम पुगेको छ भने समाचार बन्नु पर्छ । अब केही हुन्छ । सँगठन भन्दै दौडिरहनेको समाचारको विषय बन्छ ?

शिक्षकलाई पाठ्यपुस्तक चाहिन्छ कि पाठ्यक्रम ? सरकारी तथ्याँङ्क भन्छ नेपालका ९९.९ शिक्षक तालिम प्राप्त छन् । सँस्थागत विद्यालयका बाहेक । तालिममा के के कुरा हुनुपर्छ ? भनेर कुनै पनि शिक्षकलाई कसैले पनि सोध्यो भने शिक्षकले धाराप्रवाह उत्तर दिन्छ । मानौँ उ प्रशिक्षक नै हो ! तर त्यही शिक्षकको कक्षा अवलोकन गर्यो भने उ रित्तो हुन्छ ! यसमा  अपवाद छन् ! माफ गर्नु होला ।

पढाउने पाठ्यक्रमको आधारमा हो कि, पाठ्यपुस्तकका आधारमा ? यो सामुहिक प्रश्न । सर्वसाधारणले त भन्लान्, पाठपुस्तक मुख्य कुरा हो । तर शिक्षकले पनि यही भन्ने ? पाठ्यक्रम मुल कुरा हो । यो शिक्षकहरुलाई थाहा छ । तर पाठ्यपुस्तक पुग्न दुई दिन ढिला भो भने शिक्षकले नै भन्छ –“बिना पाठ्यपुस्तक कसरी पढाउने ?”  सरकारलाई गाली गर्न थाल्छ । थाहा नभएर भएको गल्तिमा पो क्षमा हुन्छ । तर थाहा हुँदाहुँदै ,जाना जानै गल्ति हुन्छ भने त्यो अक्षम्य हुन्छ । यो प्रस्तुती तितो भो । कटाक्ष भो । तर सत्य हो । महशुस हुन शुरु हुनुपर्छ । आफ्नो बिषयमा अविरल बग्नु पर्छ शिक्षक । कुनै परिवेशले प्रभावित पार्न हुदैँन । शिक्षक त नदी हुनुपर्छ । सागरमा मिसिन उद्यत । खासमा आफ्नो लागि तालिम अरुले हैन,आफैँले दिनु पर्छ । तव सिकाइ सुरु हुन्छ ।

जिम्मेदारले यो कुरा खोजेको छ ? लेखेको छ ? सधै टिपिडि र के के हो के के तालिम हुन्छ । तालिम कक्षा कोठामा पुगेको छ ? छैन । 

अब फेरी नयाँ शैक्षिक सत्र शुरु हुने बेला कितावको कहानी उसैगरी शुरु हुने छ । एकछिन ठुलो हल्ला हुने छ । समाचारका पृष्ठ भरिने छन् । एकैछिन देशको शिक्षाको खुबै चिन्ता हुने छ ! खहरे जस्तो । एकै छिनमा हराउने छ ।  कसरी हामी सुध्रिन्छौँ ? विद्यलयमा विद्यार्थी घटिरहेका छन् । भवन रित्ता हुँदाछन् । तर सिंहदरवार लेखनाथ पौड्यालको पालाको “शिशिर वसन्त ” पढेर बसिरहेको छ !

अनौपचारिक शिक्षा “हिँड्दैछ पाईला मेट्दै छ ।” पाईला मेट्दै हिँडे पछि कुन बाटो आएको कसरी थाहा हुन्छ ? अन्धाधुन्ध हिँडेर कहाँ पुगिन्छ ? यो त जोगीको चाल भो ! एकैछिन तालिमलाई 'पज' गरेर अध्ययन गर्नु पर्दैन ? समुन्द्रमा जहाज चलेको जस्तो जे सुकै होस् तालिम त चल्नु पर्छ भनेझै तालिम चलिरहेको छ । नतिजामा के परिमर्जन भयो ? खोज्नु पर्छ  कि पर्दैन ? कतिवटा कक्षामा शैक्षिक सामग्रीका साथ पढाई हुन्छ ? अब कति बाँकी छन् ? कक्षा कोठामा के समस्या छ ? कसलाई थाहा छ ? यो बिषय लेखाजोखा हुनुपर्छ कि पर्दैन ?

यो पंक्तिकारले बजेट तयार गर्ने बेला तत्कालिन तालिमको  हाकिम साबलाई अनुरोध गर्यो । यो बर्ष तालिम रोकौँ । तालिम होलिडे बर्ष गरौँ । हाकिम साब हाँस्नु भो । आज वँहा कतै सचिव हुनुहुन्छ । भन्नु भो–तालिम किन रोक्ने ? तालिम कक्षा कोठामा पुगेको छैन । यसको कारण खोज्नु पर्यो, मैले भने । 

“रोकेर के गर्छस् ?”

बर्षभरि हजुरका स्टाफलाई कक्षा अवलोकन गर्न लगाउने । त्यो अध्ययनको तीन तीन महिनामा प्रतिवेदन निकाल्ने । त्यसो गर्न अहिले भएको खर्चको एक तिहाईले पुग्छ । यसबाट के आवश्यकता रहेछ त भनेर पत्ता लगाउने । अनि अध्ययनले जे भन्छ त्यहि गर्ने । मैले एक सासमा भनेँ ।

हाम्रो यथास्थितिवादी कर्मचारीतन्त्रको सानो उदाहरण । वहाँले विरोध पनि गर्नु भएन । समर्थन पनि गर्नु भएन ! 

भाषणमा त वहाँले शिक्षकले यो गरेन त्यो गरेन भन्नु हुन्छ होला । तर, आफैँ त्यो नियामक निकायमा भएको बेला के परिमार्जन गर्न कोशिस गर्नु भो त ? यो विषय खासै लेखिदैन !

कुनै समयको एउटा प्रअ बैठकमा पंक्तिकारले प्रधानाध्यापकहरुलाई सोध्यो – तपाईंहरुले गिजुभाईको “दिवास्वप्न” पढ्नु भएको छ ?

अधिकाँशले पढेको उत्तर दिए । त्यसको भावनालाई कत्तिको अनुशरण गर्नुभएको छ त ?

एकले अर्कोलाई हेर्न थाले । मैले  कुरा बुझेँ । बिषयान्तर गरेँ । सुतेकालई पो उठाउन सकिन्छ, सुतेको जस्तो गरेकालई कसरी उठाउने ? नजान्ने भए पो सिकाउने, जानेर पनि नगर्नेलाई के गर्न सकिन्छ ? रामराम ! 

यसमा अपवाद छन् । सलाम छ तिनलाई ।

पाठ्यपुस्तक त खासमा एउटा उदाहरण मात्र हो । पाठ्यक्रमको उद्देश्य पुरा गर्ने शिलसिलामा । तर यहाँ सबै कुरा पाठ्यपुस्तक बनाईएको छ । पुरातन तरिका छ । परिमार्जनकालागि कोही तयार छैन । जानेको छैन भनौँ भने, सबै जानेको छ । जानेको छ भनौँ भने कक्षा कोठा रित्तैछन् । शिक्षक पनि रित्तै छ । केही अपवाद छन् । ति प्रति आभार व्यक्त गर्छु ।

ठुलो भवन र धेरै विद्यार्थी देखे नमुना भनिहाल्छन् साथीहरु ! 

त्यस भित्रको गुदी खोजेर तथ्यका आधारमा पो नमुना हुन्छ त ! त्यहाँबाट निस्केको विद्यार्थी कहाँ कहाँ बिकेका छन् ? कति नेतृत्वमा पुगेका छन् ? सदाचार, आचरण कस्तो देखिन्छ ? त्यो समाजमा सकारात्मक प्रभाव के परेको छ ? पाठ्यक्रमको लक्ष्य र उद्देश्य कति पुरा भएको छ ? ट्रयाकिङ हुनुपर्छ । साँच्चै नमुना भनेर घोषणा गर्ने हो भने, तर यहाँ पाठ्यक्रम कसैले खोज्दैन । नम्बर खोज्छ । जिपिए खोज्छ । त्यो जिपिएले परदेशमा भाँडा माझिरहेको छ । मोटर पुछिरहेको छ । तन्दुरीरोटी पोलिरहेको छ । नम्बरले केही गर्दैन । खासमा । पाठ्यक्रमले नम्बर खोजेको छैन । पाठ्यक्रमले सीप  र धारणा बने नबनेको के हो ? त्यो खोजेको छ । पाठ्यपुस्तकले त थोरै ज्ञान मात्रको उदाहरण दिएको हो । पाठ्यपुस्तक आफैँमा पुर्ण होईन । उदाहरण मात्र हो ।

अब फेरी नयाँ शैक्षिक सत्र शुरु हुने बेला कितावको कहानी उसैगरी शुरु हुने छ । एकछिन ठुलो हल्ला हुने छ । समाचारका पृष्ठ भरिने छन् । एकैछिन देशको शिक्षाको खुबै चिन्ता हुने छ ! खहरे जस्तो । एकै छिनमा हराउने छ । 
कसरी हामी सुध्रिन्छौँ ? विद्यलयमा विद्यार्थी घटिरहेका छन् । भवन रित्ता हुँदाछन् । तर सिंहदरवार लेखनाथ पौड्यालको पालाको “शिशिर वसन्त” पढेर बसिरहेको छ !

तालिम होईन शिक्षकको सोँचमा परिवर्तन खोजौँ । शिक्षकको मन्त्र पाठ्यक्रम हो । हुनपर्छ । त्यो खोजौँ । पाठ्यक्रमनै बोझिलो छ भने सरलीकृत गरौँ । पाठ्यक्रममा नै त्रुटी भएर सीप बिकास नभएको हो ? किन बच्चाले जिवनोपयोगी सीप सिकेन ? त्यो खोजौँ । 

अहिले जस्तो तालिम, पाठ्यक्रम नभएको बेलामा पनि नाम चलेका विद्यालय थिए । अहिले पनि गाँउमा ती विद्यालयका कथा सुन्न पाईन्छ । कसरी ती राम्रा भए ? राम्रो हुन कसैले तालिम नै दिनु पर्छ कि शिक्षक आफैँ पनि खोजविन गर्ने हो ? भरेको बुद्धिले कहिले सम्म काम गर्छ ? त्यो खोजौँ । 

प्रजातन्त्रमा आफै खुल्ने हो । खुले पछि मात्र परिष्कृत भईन्छ । पाठ्यक्रमका केस्रा शिक्षकले केलाउनु पर्छ । सोहि अनुरुप शैक्षिक साम्रग्री विकास गरी विद्यालयलाई सानो अनुसन्धान केन्द्रको रुप दिन सक्नु पर्छ । अन्यथा कितावको पाठ घोकाएर हाम्रो विद्यार्थी कँहिको हुँदैन । विद्यार्थी राम्रो नभै शिक्षक कसरी राम्रो होला र !

बस्याल, शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।

प्रतिक्रिया