Edukhabar
आइतबार, ०६ साउन २०८१
बहस

प्राथमिकीकरण विज्ञान र विधिहरु

प्राथमिकीकृत सूची यस्तो रह्यो : असंगठित अभिभावक/ शिक्षा राजनीतिक सवाल भएन/ शिक्षाको चुरोमा भन्दा आवरणमा ध्यान/ अनुत्प्रेरित शिक्षक/ बहुअसमावेशी शिक्षा

विहीबार, १० जेठ २०८१

क. प्राथमिकीकरण किन ?

हामीलाई असल र खराब छुट्याउन त्यति गाह्रो पर्दैन जति असल मध्येको असल र खराब मध्येको खराब छुट्याउन पर्छ । यो हामीलाई हरेक दिन आइपर्छ । हरेक दिन कुन मीटिङ्गमा वा कार्यक्रममा जाने भनेर निर्णय गर्नु होस् वा कुन राजमार्ग वा कुन जलविद्युत योजना पहिला कार्यान्वयन गर्ने भन्ने होस् । अहिले सम्म कस्ता योजना के का आधारमा गर्ने भनेर वस्तुगत आधार बनाइएको पद्धति देखिएको छैन । यो काम उद्योग–व्यापारमा तुलनात्मक रुपमा सजिलो र वस्तुपरक हुन्छ ः लगानीका तुलनामा कति प्रतिफल आउँछ र कुन दरमा कहिले सम्ममा आउँछ । सामान्यतः घाटा नाफा निजी तहमा रहने भएकाले यो कामले अरुलाई त्यति धेरै असर गर्दैन तर सरकारले कुन उद्योगलाई प्रोत्साहन दिने वा कर छुट गर्ने भन्ने जस्ता कुराको वस्तुपरक रुपमा प्राथमिकीकरण गर्नु पर्ने नै हुन्छ । समयलाई स्रोत अर्थात लगानी र गैर मौद्रिक लाभलाई फाइदा मान्नु पर्ने हुँदा यो अझ पेचिलो हुन्छ । यो विधि ५ वटा मध्ये कुन अन्न वा फलफूल  लगाउने भन्न पनि गर्न सकिन्छ । 

लेखकले हाम्रो सार्वजनिक नेतृत्व लिएको समूहको नियत र नियति मात्र भन्दा क्षमता पनि हाम्रो दुर्दशाको कारण मान्ने घृष्टता गरेको थियो । ज्ञान र जनप्रियताको सम्मिश्रित रुपबाट चल्दै गरेको हाम्रो व्यवस्थामा क्षमताको अभाव छ भन्ने त्यो घृष्टताको आशय थियो । ती मध्ये विश्लेषणका लागि आवश्यक प्राथमिकीकरणको सिप यो समूहमा अपर्याप्त वा कति अवस्थामा अभाव नै रहयो भन्ने दृष्टिले यो लेख लेखिएको छ । 

हाम्रो शिक्षा परिस्थिति सामाजिक र प्राविधिक दृष्टिलाई समाहित गरी विश्लेषण गर्न सक्ने भएन । हाम्रो नेतृत्व वर्ग जसले देशको नीति नियम निर्माण गर्छन् वा प्रभाव पार्छन् उनीहरुले उपयुक्त विधि वा प्रविधि अपनाएनन् । शिक्षित जन साधारणमा आधुनिक प्रविधि भन्दा स्वचालित यन्त्र वा विद्युतीय साधानहरुद्वारा गरिने कार्य भनेर बुझ्ने चलन छ । यथार्थमा उच्च प्रविधि भनेको त विचार र विश्लेषण गर्ने तरिका नै हो । 

उदाहरणका लागि गोलभेडाले बजार मूल्य पाएन भनेर निकै होहल्ला भयो । किसानले उचित मूल्य पाउनु पर्देन भन्ने कुरा होइन तर कृषिमा आधुनिक प्रविधि भनेको ठिमाहा बिउ, रसायनिक मल, टनेल व्यवस्था मात्र होइन बजारमा मागको प्रक्षेपण पनि त हो नि ! 

देशका विभिन्न भागमा एउटै समयमा ठूलो मात्रामा उत्पादन भएपछि भाउ घट्नु स्वाभाविक हैन र ? धेरैले किसानको बेवास्ता गरेर सरकारले नकिनेको आदि कुरा गरे । भएको त गोलभेडा प्रवद्र्धन गर्दा मागको प्रक्षेपण गर्न नसिकाइएको हो नि ! यस्तो विश्लेषणलाई पनि प्रविधिका रुपमा हेर्नुपर्ने हुन्छ भन्ने तर्क हो । 

जुनसुकै विषयको सूची निर्माण भए पछि मात्र प्राथमिकीकरण गर्न सकिन्छ । खासगरी मौखिक परम्परा प्रबल रहेको हाम्रो समाजमा लेख्ने काम कम गरिन्छ । कति अवस्थामा लेख्ने कामलाई बौद्धिक क्षमता कम भएको अवस्थाका रुपमा पनि लिइन्छ । यथार्थमा मौखिकका तुलनामा लेखन नै पछिल्लो प्रविधि हो चाहे त्यो भौतिक रुपमा कागजमा लेखियोस् वा मोबाइलको नोट प्याडमा । कति अवस्थामा कुनै कुरा लेखेर देउ भन्दा शक्तिवालाले शक्तिहीनलाई सताउने रुपमा नै उपयोग नगरिने भन्ने पनि होइन । सानो बजेटमा सहकार्य गरिरहेका एक पत्रकारले कामको अपेक्षित प्रतिफल लेखौं न भन्दा “के यति सानो कुरोमा पनि व्यूरोक्रेसीको जस्तो लेख्न लगाएको ?” भन्नु यस्तै चिन्तनको प्रमाण हो ।  
(यथार्थमा कर्मचारीतन्त्र नकारात्मक शब्दावलि हुनुपर्ने पनि होइन ।)

जे होस्, सूची तयार भए पछि त्यसलाई हामी विभिन्न चाल्नीमा हाल्छौँ । ती चाल्नीहरु नै प्राथमिकीकरणका विधि या तरिका हुन् । यस लेखमा सार्वजनिक जीवनमा रहेका व्यक्तिले आफ्नो समय र तिनीहरुले गर्नुपर्ने प्राथमिकताका लागि उपयुक्त हुन सक्ने प्राथमिकीकरणका मुख्य विधिहरुमा उदाहरण सहित चर्चा गरिन्छ । 

यहाँ सार्वजनिक शिक्षाका विषयमा काम गर्ने संस्थाले शिक्षाका वकालत गर्नुपर्ने विषयहरुको प्राथमिकीकरण अभ्यासलाई उदाहरणका रुपमा लिइएको छ ।  

ख. माछाजाल विधि 

अङ्ग्रेजीमा फिस वाओलिङ पनि भन्ने गरिन्छ । सुरुमा १ जनालाई समय, परिस्थिति र विषय अनुसार तोकिएको समयमा (३ देखि ५ मिनट) मुख्य समस्या या अवसरहरुको सूची बनाउन लगाइन्छ । एक पटकमा दश वटा जतिको प्राथमिकीकृत सूची काम गर्न व्यावहारिक हुन्छ । अनि सकेसम्म फरक काम, तह भएका दुइ जनालाई, दुइजना मिलेर जम्मा दश वटाको सूची बनाउन लगाइन्छ । कहिले दुवै जनाको सूची ठ्याक्कै मिल्न सक्छ वा बीसवटा नै पनि हुन सक्छ । दुइजना छलफल गरेर एउटा सूची बनाउनु पर्छ । त्यस पछि समूह हेरेर ४ जनाको समूह बनाइ दशवटा सूचीलाई ५ वटा सहमत सूचीमा झार्न लगाइन्छ । त्यही ५ वटालाई नै अन्तिम सूची मान्न वा अझ फेरि ८ं–८ जना जतिको समूह बनाएर तीन वटा प्राथमिकीकृत सूची बनाउन सकिन्छ । 

माछाजाल विधिबाट चालिएका विद्यालय शिक्षाका सवालहरु

१. बहुअसमावेशी शिक्षा                

२. सृजना विहिन र निष्कृय शिक्षा        

३. शिक्षाको चुरोमा भन्दा आवरणमा ध्यान         

४. अव्यवस्थित र योजना विहिन संरचना        

५. असंगठित अभिभावक      

६. तल्लो तहमा जोड नहुनु

७. अनुत्तरदायी शिक्षक

८. निजीको दबदवा र अङ्ग्रेजी मोह

९. सरकारहरुको दायरा अस्पष्ट

१०. शिक्षा राजनीतिक सवाल नहुनु 

छुटेका तर महत्वपूर्ण भनेर थप गरिएका सवालहरु 

११. समाजका आवश्यकता सम्बोधन गर्न नसक्ने शिक्षा

१२. अदक्ष शैक्षिक कर्मचारी

१३. परीक्षाको केन्द्रीयता÷पुनरुत्पादनमुखी परीक्षा प्रणाली

१४. खर्चको अदक्षता

ग.कारण कि असर ? 

सम्बोधन गर्नका लागि ती सवालहरु असर हुन् कि कारणहरु हुन् भनेर छलफल गरिन्छ किन भने जे देखियो त्यो नै कुनै कुरा बिग्रिएको कारण नहुन सक्छ । त्यो छलफलले माथि असर र कारण मिसिएको सूचीलाई कारण, कारण छानेर राख्यो । 

असर कि कारण भन्दा कारण मानेर छाँटिएका सवालहरु

१. परिक्षाको केन्द्रीयता÷पुनरुत्पादनमुखी परीक्षा प्रणाली 

२. बहुअसमावेशी शिक्षा

३. शिक्षाको चुरोमा भन्दा आवरणमा ध्यान

४. असंगठित अभिभावक

५. अनुत्तरदायी शिक्षक

६. शिक्षा राजनीतिको सवाल नहुनु

७. अदक्ष शैक्षिक कर्मचारी

यसलाई प्राथमिकीकरणका अरु चाल्नीहरुबाट चालिन्छ । प्राथमिकीकरण चौकोस एउटा श्रृँखलाहरुको समष्टिगत नाम हो । 

घ. प्राथमिकीकरण चौकोस 

प्रायोरिटी म्याट्रिक्समा आफ्ना  कार्यसूची सामान्यत: एक्स र वाइ ग्राफको ढाँचामा हेरिन्छ जुन जटिल गणितीय विषय हो कि भनेर डराउनु पर्ने आवश्यकता छैन । हरेक कामलाई चौकोसका चार खण्डमा राखिन्छ र आधारहरु आफूले निर्धारण गर्न सकिन्छ । 

महत्व र हतारो
teeka_sir_01


   
प्रयत्न र प्रभाव
teeka_sir_02
                                      

माथिको चौकोसमा विषयको महत्व र सम्बोधन गर्ने हतारो अनि सम्बोधन गर्दा लाग्ने प्रयत्न र प्राप्त गर्न सकिने प्रभावलाई ध्यानमा राखेर गरिएको छँटनी निम्न अनुसार रहेको छ :

महत्व र हतारोका आधारमा छाँटिएका सवालहरु

- बहुअसमावेशी शिक्षा 

- शिक्षाको चुरोमा भन्दा आवरणमा ध्यान

- असंगठित अभिभावक

- अनुत्तरदायी शिक्षक

- शिक्षा राजनीतिक सवाल भएन

प्रयत्न र प्रभावका आधारमा छाँटिएका सवालहरु 

- असंगठित अभिभावक

- बहुअसमावेशी शिक्षा 

- शिक्षाको चुरोमा भन्दा आवरणमा ध्यान

- असंगठित अभिभावक

- अनुत्तरदायी शिक्षक

- शिक्षा राजनीतिक सवाल भएन
 
ङ. प्राथमिकीकरण वेदी 

teeka_sir_03

यसलाई अझ सरलीकृत रुपमा प्राथमिकीकरण वेदी (हिन्दूहरुले होम गर्दा निर्माण गर्ने एक किसिमको वर्गाकार संरचना) मा राखेर हेर्न पनि सकिन्छ । जाहेर छ हामी चुरोको भागमा रहेका काममा केन्द्रित हुनु पर्छ । तर यति गर्दा पनि काम प्राथमिकीकृत भयो भन्न भने सकिन्न । अनि गर्नै पर्ने कामहरुको सूची लामो हुन सक्छ । हामी यस अवस्थामा अरु विधिबाट एक तहको प्राथमिकतामा परेको सूचीलाई थप चाल्न सक्छौँ : एउटा माछाजाल विधि र अर्को जोडी तुलना या तैरने भकुण्डो (लोटिङ बल) भन्ने विधि हुन् । यी दुवै उच्च प्रतिफल प्राप्त गर्ने टिमहरुले प्रयोग गर्ने सहभागीमूलक विधिहरु हुन् । माछा जाल विधिको माथि कुरा गरिसकियो । 
(आवश्यक लागेमा यी औजारहरु फेरि फेरि पनि प्रयोग गर्न सकिन्छ ।) 

तल जोडी तुलना विधिको कुरा गरिन्छः 

च. जोडी तुलना विधि 

माथिका प्रक्रियाहरुबाट छोटो सूचीमा (३–५ वटा) आइपुगे पछि जोडी तुलना गर्न सकिन्छ । समूहमा सहभागीहरुको सङ्ख्या हेरेर छोटो सूची छ भने यसलाई यो धेरै महत्वको हो कि त्यो धेरै महत्वको हो, हो भने किन हो भनेर एक एक गरी अर्कोसँग तुलना गरिन्छ । एउटा भन्दा अर्को महत्वपूर्ण हो भन्नेले अर्को विचार भएको व्यक्तिलाई सहमत गराउनु पर्छ । कुनै बहसमा दुवै पक्ष समाधान नहुने वा निचोड नभएको विषय भनेर सहमत हुन पनि सक्छन् । यो खुला र तह विहीन अवस्थामा गरिने भएकाले समूहलाई चुनौतिपूर्ण एकता दिन सक्छ । प्राथमिकीकरणको तालिका तल प्रस्तुत गरिएको छ जहाँ कुन सवालसँग तुलना गर्दा कुन सवाल महत्वपूर्ण ठानिएछ भन्ने देख्न सकिन्छ । 

जोडी तुलना तालिका 

teeka_sir_04

त्यस पछि सवालहरुको प्राथमिकीकृत सूची यस्तो रह्यो जसमा त्यो संस्थाले आफ्नो तरिकाले गच्छे अनुसार काम गर्ने छ :

१. असंगठित अभिभावक

२. शिक्षा राजनीतिक सवाल भएन

३. शिक्षाको चुरोमा भन्दा आवरणमा ध्यान 

४. अनुत्प्रेरित शिक्षक

५. बहुअसमावेशी शिक्षा

भट्टराई, शिक्षा नीति तथा अभ्यास केन्द्र मार्फत् सार्वजनिक शिक्षाको सवलीकरणका मुद्दामा  कृयाशिल छन् ।  

प्रतिक्रिया