Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षा मन्त्रालयद्वारा एक समिति सहित ६ उपसमिति गठन

शुक्रबार, २८ चैत्र २०७६

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणमा सघाउन आवश्यक अध्ययन अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पूर्व विज्ञान मन्त्री गणेश शाहको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएको छ । विज्ञहरु सम्मिलित उक्त समिति अन्र्तगत रहेका विभिन्न ६ वटा उपसमितिले तत्काल र भविष्यमा गर्नुपर्ने कामबारे मन्त्रालयलाई सुझाव दिने गरी कार्य निर्धारण गरिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन के सी ले जानकारी दिए ।

ती उपसमितिले शिक्षण विधि तथा विकल्प देखि पूर्वतयारीका लागि आवश्यक प्रतिवेदन निर्माण, र्यापिड टेष्ट र प्रयोगशालाको अवस्था, उपचार सामग्रीको निर्माणको अवस्था, वित्त लगायतका अवस्थाका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउने छन् ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा संयोजक रहेको शिक्षण विधि तथा विकल्प उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षण लगायत योजना बनाउने जिम्मा दिइएको छ । यस्तै नाष्टका प्राज्ञ दिनेशराज भुजूको संयोजकत्वमा बनेको कोरोना सम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमितिले जनमानसमा दिइने कोभिड–१९ सम्बन्धी सूचना तथा पूर्वतयारी सम्बन्धमा प्रतिवेदन तयार पार्ने छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी नेतृत्वको ‘डाइग्नोस्टिक एण्ड रेस्पोन्स’ उपसमितिले कोरोना परीक्षण, र्यापिड टेष्ट, डाइग्नोष्टिक सेवा, प्रयोगशालाको सुविधा, परीक्षणको गुणस्तर लगायत विषयमा अध्ययन प्रतिवेदन तयार पार्ने छ । नाष्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठको नेतृत्वमा अनुसन्धान उपसमिति बनाइएको छ । कोरोना सम्बन्धी वैज्ञानिक अनुसन्धान, तथ्यांक, प्रोटोकल लगायत विषयमा यो उपसमितिले अनुसन्धान गर्ने छ ।

युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको नेतृत्वमा प्रविधि विकास तथा नवप्रवर्तन उपसमिति बनाईएको छ । यसले क्वारेन्टाइन सेवा, पीपीई डिजाइन र उत्पादन, सेनिटाइजर र साबुनको उत्पादन, मास्क, औषधि, एप्स निर्माण, रोबटिक्स जस्ता विषयमा अनुसन्धान प्रतिवेदन तयार पार्ने जनाइएको छ । मन्त्रालयका विज्ञान सचिव सञ्जय शर्माको संयोजकत्वमा नीति तथा वित्त उपसिमिति बनाइएको छ । यसले बजेट, नीतिगत सुधार, संस्थाहरू बीचको समन्वय, अनुसन्धानमा वैदेशिक संलग्नता र प्राथमिकता निर्धारण सम्बन्धी काम गर्नेछ ।

समिति गठन अघि शिक्षा मन्त्री पोखरेलको एक साता देखि विषय विज्ञहरुसँग नियमित भिडियो संवाद गरिरहेका थिए । बिहीबार मात्रै उनले विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग भिडियो सम्वाद गरेका थिए ।

प्रतिक्रिया