Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अभिभावक / विद्यार्थी

कहिले देखि खुल्छ स्कुल ?

शनिबार, १३ बैशाख २०७७

शिर्षकमा उल्लेख वाक्य अधिकांश अभिभावकको पहिलो प्रश्न हो !

कोरोना भाईरस (कोभिड - १९) को महामारी सुरु भएयता विश्वका थुप्रै मुलुकसँगै नेपाल पनि लकडाउनमा गयो । सुरुका केही साता सहजै लकडाउनमा रहे पनि अब भने सबै क्षेत्रमा छट्पटी देखिएको छ । यस्तोमा अभिभावकको छट्पटी कम छैन ।

नियमित अवस्था हुन्थ्यो भने यति खेर नयाँ शैक्षिकसत्रको पठनपाठन थालिएको पनि एक साता बितिसक्थ्यो । तर अवस्था त्यस्तो छैन । विद्यार्थी घरभित्रै थुनिएका छन् । सीमित बाहेकका अभिभावक अन्यौलमा छन् – के गर्ने ? कसरी गर्ने ? अब बच्चाको शैक्षिक भविष्य के हुन्छ ? कतिसम्म भने अधिकांश निजी र केही सामुदायिक विद्यालयमा समेत लकडाउनका कारण वार्षिक परीक्षा रोकिएको थियोे । अब त्यो परीक्षा फेरि हुन्छ कि हुँदैन ? कक्षा १०, ११ र १२ को परीक्षा समेत रोकिएको अवस्थामा नीतिगत रुपमै सरकारले केही निर्णय अवश्य गर्ला । अहिलेको सवाल भनेको लकडाउन नखुल्दासम्म विद्यालय तहका बालबालिकालाई के गर्ने ? भन्ने नै हो ।

हामी सुचना प्रविधिको युगमा बाँचिरहेका छौँ । यस्तोमा धेरैले सहज विकल्पको रुपमा प्रविधिको प्रयोगलाई लिएका छन् । शहरी क्षेत्रका अधिकांश विद्यालयले विशेषतः माध्यमिक तहमा अनलाइन कक्षा समेत सुरु गरिसकेका छन् । यो होडमा केही सामुदायिक विद्यालय पनि लागिपरेका छन् । यसले अभिभावकलाई केही राहत महसुस भएको छ । घरमा दिनभरि मोबाइल वा टेलिभिजनमा व्यस्त रहने बालबालिकालाई थोरै भए पनि शिक्षण सिकाइमा सहभागी गराउन यस्ता भर्चुअल क्लास ले मद्दत गरेको छ ।

अभिभावकका चाहना र लकडाउनको अनिश्चितताका बीच सरकारी तवरबाट पनि अनलाइन शिक्षणलाई महत्व दिन थालिएको छ । पछिल्लो समय शिक्षा तथा मानव श्रोत विकास केन्द्रले नै ’अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरू’ तयार पारेको छ । शुक्रबारसम्ममा केन्द्रले पूर्व प्राथमिक देखि कक्षा तीनसम्मका लागि यो सामाग्री सार्वजनिक गरिसकेको छ । पैंतालीस दिने कार्यक्रमका रुपमा रहेको यो सामाग्रीले एकीकृत शिक्षण सिकाइको अवधारणालाई समेट्दै बालबालिकालाई उपयोगी हुने क्रियाकलापमा जोड दिएको छ । यस बाहेक विभिन्न मोबाइल एप्लिकेसन मार्फत पनि श्रव्य दृश्यका माध्यमबाट सिकाइलाई निरन्तरता दिने प्रयास हुनु अहिलेको परिवेशमा स्वागत योग्य कदम मान्नुपर्छ ।

यति हुँदा हुँदै पनि हामीले यसको प्रभावकारिता र यसको छायाँमा पर्ने तर लक्षित समूहलाई बेवास्ता गर्नु हुँदैन । सबै भन्दा मुख्य कुरा भनेको अनलाइन क्लासमा के सिकाउने भन्ने नै हो । हाल सुरु भएका केही अभ्यासलाई पछ्याउँदा बढी जसोले औपचारिक किताबी ज्ञानमै अनलाइन कक्षालाई केन्द्रित गरेको पाइन्छ । माध्यमिक तहका हकमा यसले केही उपलब्धि पनि देला । तर यसको नतिजा अपेक्षित रुपमा भने आउँदैन ।

ईण्टरनेट वल्र्ड स्ट्याटको पछिल्लो तथ्याङ्क अनुसार ईण्टरनेट पहुँचको आधारमा नेपाल सार्क राष्ट्रहरु मध्ये तेस्रो स्थानमा छ । जनसंख्याका आधारमा तेस्रो स्थानमा देखिए पनि प्रयोगकर्ताको संख्याका आधारमा हेर्दा नेपाल अझै एक स्थान तलै रहेको छ । अनुसन्धान कार्य गर्दै आएको संस्था शेयरकाष्टको अध्ययनले नेपालमा कूल जनसंख्याको ४३ प्रतिशत सँग मात्रै ईण्टरनेटको पहुँच छ भन्छ । यी मध्ये ९१ प्रतिशतले एण्ड्रोईड मोवाईल फोनमा डाटा मार्फत् ईण्टरनेट हेर्छ र यी मध्ये ८६ प्रतिशत सामाजिक सञ्जाललाई नै ईण्टरनेट ठान्छ । ईण्टरनेट भनेको डाटा मार्फत् फेसबुक हेर्नु हो भन्ने बुझाईमा शिक्षकको संख्या पनि ठूलै छ ।  

सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने पनि देशको कूल जनसंख्याको झण्डै ५१ प्रतिशत ईण्टरनेटको पहुँचमा छन् भनिन्छ । तर ईण्टरनेट प्रयोगकर्ता मध्ये ७८ प्रतिशतले मोबाइल सेवा प्रयोग गर्छन् । सामान्यतः अनलाइन कक्षा, जसमा भिडियो कलको प्रयोग गरिनुपर्ने हुन्छ, त्यहाँ यी अभिभावकसम्म सहज पहुँच पुग्दैन । पुर्याइहालेको अवस्थामा पनि मोबाइलबाट ईण्टरनेट सेवा लिनु आर्थिक रुपमा जो कोही अभिभावकले धान्न सक्ने हुँदैन । यस हिसाबले देशको कूल जनसंख्याको करिब ११ प्रतिशत जनसंख्या मात्रै यसबाट सही अर्थमा लाभान्वित हुने देखिन्छ ।

यसको अर्थ के अनलाइन कक्षा नै नचलाउने हो त ? लेखकीय तर्क त्यसो होइन । यहाँ जोड दिन खोजिएको कुरा कति मात्र हो भने यस्ता भर्चुअल कक्षामा विद्यार्थीलाई के दिने भन्नेमा सेवा प्रदायक सचेत बन्नुपर्छ । औपचारिक कक्षा नै चलाउँदा शहरी क्षेत्रमै पनि सबै बालबालिकालाई एकसाथ जोड्न कतिपय आर्थिक एवम् प्राविधिक कारणले सम्भव हुँदैन । छुटेका विद्यार्थीलाई बेवास्ता गरेर अगाडि बढ्दा पनि न्यायोचित देखिन्न । यसर्थ अनौपचारिक र व्यवहारिक विषयवस्तुमा जोड दिन सकियो भने यस्ता कक्षा विद्यार्थी र अभिभावक दुबैका लागि रुचिकर हुन सक्छन् । घरभित्रै बसेर गर्न क्रियाकलापले बालबालिकालाई सक्रिय बनाइराख्छ । भोलि कोर्सका कुरा के हुने ? भन्ने सन्दर्भमा यो कुनै एउटा विद्यालय वा स्थान विशेषको मात्रै समस्या होइन । नीतिगत रुपमा सरकार र सम्बन्धित मन्त्रालयबाट पक्कै उपयुुक्त निर्णय भएरै आउनेछ । यसैपनि हाम्रा औपचारिक पढाइले विद्यार्थीलाई व्यवहारिकताबाट टाढा पुर्याइरहेको अवस्थामा यसलाई एउटा अवसरमा रुपान्तरित गर्दा मुलुकलाई फाईदै पुग्छ ।

लेखक हेटौंडा स्थित मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल हुन् ।

प्रतिक्रिया