Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

संकटग्रस्त अवस्थामा परीक्षा सञ्चालन

सोमबार, २९ असार २०७७

शैक्षिक उपलब्धी एवं स्तर मापन तथा मूल्याङ्कन गर्ने साधन नै परीक्षा हो । पाठ्यक्रमको उद्देश्य अनुसार सिकाइ उपलब्धीको लेखाजोखा गरी प्रमाणिकरण समेत गर्नको लागि परीक्षा सञ्चालन गरिन्छ । परीक्षामा सोधिने प्रश्नहरुले समग्र पाठ्यक्रमको प्रतिनिधित्व गर्दै विद्यार्थीको ज्ञान, वोध, प्रयोग र उच्च क्षमताको पहिचान गरी सो को मापन गर्ने गर्दछ । परीक्षाले नै गुणस्तर तय गर्दछ । तसर्थ यसलाई निरन्तर सुधार गर्दै, वैज्ञानिकीकरण गर्दै निर्विवाद कार्यको रुपमा अंगाल्नु पर्दछ । जस्तो सुकै आरोह अवरोह आउँदा पनि विकसित मुलुकमा त्यसको स्तरलाई व्यवस्थित गर्दै विश्वसनीयता र वैधतामा आँच आउन नदिई परीक्षा सञ्चालन गरिएको पाइन्छ । 

विगतलाई नियाल्दा

मुलुकमा २०४६ सालको जनआन्दोलन पश्चात् जनताले स्वतन्त्र भएको अनुभूति गरे । विद्यार्थी प्रजातन्त्रको संवाहक बनेका थिए । यसको सदुपयोग विभिन्न पक्षमा सकारात्मक देखियो भने विद्यालय तहः एस.एल.सी, उ.मा.वि. तहका कक्षा ११ र १२ को परीक्षा देखि विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा नकारात्मक प्रभाव पर्यो । ती सबै परीक्षा वैद्य र विश्वसनीय देखिएनन् । तथापी केही हदसम्म गुणस्तरीयता तर्फ उन्मुख हुन खोजेका थिए । हालका शिक्षक, प्राध्यापक, कर्मचारी उच्च तहका प्रशासक र नेता सबै हाम्रो शिक्षाको Production   र Reflection हुन् ।

शिक्षा विश्वव्यापीकरण भएको बेलामा हामी कुन–कुन ठाउँमा के–के गर्न चुकेका छौँ त ? त्यसको परिणाम स्वरुप केही शिक्षकहरु आपूmलाई बदल्न खोजिरहेको अवस्था छ भने बदलिन नसक्ने शिक्षक, शिक्षाकर्मी र शिक्षा व्यवस्थापकहरुमा पनि आपूmमा रहेको कमजोरीको चेतना भएको छ । आपूmलाई बदल्न पर्ने रहेछ भन्ने महशुस गरेका छन् । तथापी कार्यान्वयनमा ल्याइहाल्न मुस्किल परेको छ । यस्तै अवस्था विश्वविद्यालयका प्राध्यापकहरुमा पनि विकसित भएको छ । कर्मचारी तन्त्रमा र राजनीतिमा पनि आफ्नो ज्ञान, सीप र दक्षता कमी भएको अव्यक्त महसुस भएको अवस्था छ । यी सबै अनुभूतिहरु भोलिका दिनहरु सुनौला हुने लक्षणहरु हुन् । प्रजातन्त्र र लोकतन्त्रमा परीक्षा सञ्चालनमा व्यवस्थापन र नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई गणतन्त्रमा केही हदसम्म सुधार्नु पर्छ भन्ने मान्यताको विकास हुन लागेको महसुश भएको देखिन्छ । 

वर्तमानको संकट

विश्वमा देखा परेको कोरोना भाईरस कोभिड १९ को महामारीले शिक्षासँग सम्बन्धित उच्च पदस्थ व्यक्तिहरुमा छटपटाहट देखिएको छ । यो स्वभाविक र आवश्यक पनि हो । जिम्मेवार व्यक्तिमा यस्तो हुनु पनि पर्दछ । तर समस्याको क्षणिक समाधान मात्र आफ्नो जिम्मेवारी होइन । यो बेलाको परीक्षा सञ्चालन र व्यवस्थापनले दूरगामी पार्ने असरका बारेमा चिन्तित पनि हुनु पर्दछ । 

२०४६ सालको परिवर्तनले नेपालको शिक्षा प्रणालीमा ३० वर्षसम्म सुधार ल्याउन कठिन भयो भने यो २०७७ सालको परीक्षाले अर्को ३० वर्ष पछि अहिलेको अवस्थामा आउने परिस्थिति सिर्जना नहोस् । परीक्षा भनेको यस्तो चिज हो जसले शिक्षाको समग्र प्रणालीलाई नै असर पार्दछ । शिक्षा बर्वाद भयो भने मुलुकको समग्र प्रणाली बर्बाद हुन्छ । योग्यता मापन प्रणाली नै फितलो भयो भने मापन गरिने विषय वस्तुहरु नै गुणस्तरहीन हुन पुग्दछन् । 

अब के गर्ने ?

परीक्षाको मूल मर्म र भावनामा रत्ति पनि असर नपर्ने गरी केही परीक्षा केन्द्र थप्ने कुरा जायज हुन सक्छ । उत्तर पुस्तिका परीक्षण गर्ने कार्य विगतकै कार्यशैली अपनाई अझ सुधार गर्दै जाने, उक्त परीक्षण केन्द्रमा नै सम्परीक्षण गर्ने व्यवस्था गर्ने गर्नु पर्दछ । गुणस्तर खस्किने गरी कुनै पनि पाइला चालिनु हुँदैन । जसले भावी दिनमा विद्यार्थी, अभिभावक र सबै सरोकारवालाहरुले पश्चाताप गर्ने अवस्था नआओस् । परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई मात्र केन्द्रविन्दुमा राखी कार्य अगाडि बढाउन हुँदैन । यो संकटको बेला हो भनेर हेलचेत्र्mयाइँ गर्ने अवस्थाको सिर्जना कोही कसैले गर्नु पनि हुँदैन । परीक्षाले सिकाइको गुणस्तर मापन गर्ने भएकोले यसको विकल्प खोज्नु कदापी उचित हुँदैन बरु यसका वैकल्पिक मूल्याङ्कनका उपायहरु अपनाउनु उचित हुन्छ । 

परीक्षा मर्यादित, स्तरीय, वैद्य र विश्वसनीय हुनुपर्दछ । तसर्थ छिटो परिणाम निकाल्ने वा शैक्षिक सत्रमा असर नपार्ने भन्ने कुरालाई मात्र प्राथमिकतामा राख्नु हुँदैन । परीक्षा कुनै पनि संकट वा महामारीबाट प्रभावित हुनु हुँदैन । विद्यार्थीको उपलब्धी वा सिकाइ स्तरको सही मापन हुनै पर्दछ । यदि सही मापन भएन भने यसले दूरगामी नकरात्मक असर पार्दछ ।

विकसित मुलुकको अवस्था र हाम्रो सोच

कतिपय विकसित मुलुकमा विद्यालयले नै प्रमाणपत्र र मार्कसिट जारी गर्दछन् । परीक्षा बोर्डको छुट्टै व्यवस्था गरिएको छैन । ती परीक्षा पनि वैद्य र विश्वसनीय छन् । तर त्यो अवस्थामा पुग्न उनीहरुले ५० वर्ष भन्दा बढी धेरै ठूलो मिहेनत गरेका छन् । आज हामीले वामे नै नसरी दगुर्न खोजेका छौं जस्तो अनुभूति भएको छ । हरेक कार्य गर्दा त्यसको सबै पक्षीय असर के पर्दछ भन्नेमा सोच्नु पर्दछ । भावनामा डुबेर वा दौडेर कुनै पनि दूरगामी असर पर्ने कामको निर्णय लिन हुन्न र हुँदैन । शिक्षामा हुने सुधार निरन्तर रुपमा सुधार गर्दै जाने हो । यसका लागि तहहरु (Steps) तय गरी मापन गर्दै जानु पर्दछ । साना साना सुधारमा खुशी हुँदै ठूला खुशीको आगमन निम्त्याउनु पर्दछ । यो मुलुकमा यस्तो छ भनेर उदाहरण दिएर पुग्दैन । त्यो मुलुकमा त्यसो हुन के के गरे ? कसरी गरे ? किन गरे ? को को मिलेर गरे ? कस्तो स्रोत थियो ? कस्तो जनशक्ति थियो ? कस्तो वातावरण थियो ? यस्ता कुराहरुको जानकारी लिएर मात्र हाम्रो मुलुकमा कसले कसरी गर्दा सुधार गर्न सकिन्छ भन्ने निक्र्यौलमा पुग्नु पर्दछ । साथै मैले के गर्ने ? के गर्न सक्छु ? कसरी गर्न सक्छु ? समेतको सुझावको आवश्यकता छ । सबै जनशक्तिलाई कसरी व्यवसायिक बनाउने ? के के कसरी गर्दा को को लाई व्यवसायिक बनाउन सकिन्छ ? यसलाई सुक्ष्म रुपमा विश्लेषण गर्नु पर्दछ । 
शिक्षासँग सम्बन्धित सबैलाई व्यवसायिक/पेशा सम्बन्धी दक्ष बनाउनु पर्दछ । यसो भएमा आफ्नो जिम्मेवारी कुशलता पूर्ण पूरा गर्न सक्दछन् । 

यो संकटलाई अवसरको रुपमा लिनु पर्दछ । वैदेशिक शिक्षा र वैदेशिक बसाइका राम्रा नराम्रा दुबै पक्ष उजागर भएको अवस्था छ । हाम्रो मुलुकबाट शिक्षाको नाममा अरवौँ रुपैयाँ लिएर आफ्नो मुलुक सिँगारेकाहरुले हाम्रा शिक्षा आर्जन गर्न गएका बालबालिकालाई घर जाऊ भनेका छन् । संकटको बेला प्रताडित बनाएका छन् । अब विदेशी शिक्षा भन्दा स्वदेशी शिक्षालाई प्रोत्साहित गर्ने, सुधार्ने र स्तरीय बनाउने राम्रो समय आएको छ । विदेशिने रकमले मुलुकमा उद्योग धन्दा सञ्चालन गरौँ । हाम्रा उत्पादनलाई स्वदेशमै रमाउने वातावरण सिर्जना गरौँ ।

अनुशासित र सिर्जनशील नागरिक उत्पादन गरौँ । हामी शिक्षा क्षेत्रमा लागेकाहरु आफ्ना कार्यलाई अर्थपूर्ण बनाऔँ । हामीले अलि बढी मिहेनत गर्यौँ भने मुलुक साँच्चै नै उज्यालो हुनेछ । अहिले आत्तिने बेला होइन । यो बेलामा के के मा कस कसले कहाँ कहाँ शैक्षिक योगदान पुर्याउन सकिन्छ त्यस त्यस ठाउँमा जिम्मेवार ढंगबाट प्रस्तुत होऔँ । सबै निकाय, सबै जनशक्तिलाई Professional बनाऔँ । Professional Development का कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गरौँ, दण्ड र पुरस्कारको प्रभावकारी व्यवस्था गरौँ । कुनै पनि समस्याको समाधान क्षणिक सुख वा आनन्दका लागि गरियो भने त्यसले दूरगामी रुपमा नकारात्मक असर पुर्याउछ नै ।

तसर्थ समस्यालाई गम्भीर रुपमा लिएर विशेष तरिकाबाट समाधान गरियो भने दुरगामी रुपमा सकारात्मक असर देखिन्छ । त्यसैले अंग्रेजीमा को “What comes easy won't last and what lasts won't come easy” भन्ने भनाइलाई आत्मसात गर्दा उचित हुन्छ । 

अन्तमा,

परीक्षा सुधारको लागि संघ, प्रदेश र स्थानीय तहका निकाय बिच परीक्षा सुधार समूहको निर्माण गरी विभिन्न देशको शिक्षा र परीक्षा प्रणालीको अभ्यासको अध्ययन गर्ने र त्यसको प्रयोग के, कसरी र कति सम्म हाम्रो मुलुकमा लागू गर्न सकिन्छ । त्यसको यथार्थ चित्रण गरी लागू गर्ने, निरन्तर अनुगमन गर्ने, अनुगमनबाट प्राप्त अनुभव तथा सुझावहरु कार्यान्वयनमा ल्याउने गर्नु पर्दछ । परीक्षालाई विभिन्न माध्यमबाट सञ्चालन गर्ने गर्नुपर्दछ । जस्तैः–Online test,  Virtual test, Paper-pencil test,  Computerized test, Project test, Presentation test जस्ता test मा विद्यार्थीलाई सहभागी गराउने गर्नु पर्दछ । जसले प्रविधि मैत्री जनशक्ति निर्माण हुनेछ । जुनसुकै अवस्थामा पनि हाम्रा उत्पादनबाट मुलुकको कार्य गर्न सक्छन् । एउटा अवस्था असम्भव भएको अवस्थामा उच्च दक्षता भएका विद्यार्थीले अर्को अवस्था सृजना गरि कार्य सम्पन्न गर्न सक्ने हुनु पर्दछ । विद्यार्थीको सिकाइ उपलब्धी एवं स्तर वैध र विश्वसनीय हुनु पर्दछ । परीक्षणको वैद्यता र विशवसनियता नै परीक्षा प्रणालीको मूल आधार हो । वैद्यता र विश्वसनियतामा कहिँ कसैले प्रश्न उठाउने ठाउँ हुनु हुँदैन । त्यसैले त्रुटि रहित र सही मापन गर्न सक्ने वैज्ञानिक भए मात्र परीक्षाको प्राज्ञिक मान्यता रहन्छ । 

(पाण्डे राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखा प्रमुख हुन् ।)

प्रतिक्रिया