Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
गतिविधि

निर्वाचन आचार संहिता पुनर्विचार गर्न शिक्षक सङ्गठनको माग

मंगलबार, ०८ कार्तिक २०७९

काठमाडौं - निर्वाचन आयोगले लागू गरेको आचार संहिता पुनर्विचार गर्न नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले माग गरेको छ ।

शिक्षक कर्मचारीले कुनै दल वा नेताको चुनाव प्रचार गर्न नपाईने गरी गत असोज २५ गते आयोगले आचार संहिता जारी गरेको थियो । आचारसंहिता जारी भए देखिनै दल निकट शिक्षकहरुले विमती  जनाउँदै आएका छन् । 

यही सन्दर्भमा संगठनले प्रेश विज्ञप्ति सार्वजनिक गर्दै संविधान प्रदत्त अधिकारको उपयोगमा कहिँ कतैबाट पनि नेपालीलाई बञ्चित गर्न नहुने उल्लेख गरेको छ । 

'निर्वाचन आयोगले जारी गरेको आचार संहिता २०७९ को नियम ७ (क) र (ख) तथा नियम १० क, ख, र गमा उल्लेखित आचारसंहिता नेपालको संविधानको भाग ३ धारा १७ को २ क को विचार र अभिव्यक्तिको स्वतन्त्रता धारा १९ को १ को सञ्चारको हक तथा धाराको ३४ को ३ को ट्रेड युनियन खोल्ने हक विपरीत रहेको हाम्रो ठहर छ' प्रेस विज्ञप्तिमा भनिएको छ, 'हामी निर्वाचन आयोग लगायतका सम्बद्ध पक्षहरुलाई नेपालले आइएलओ अभिसन्धि १९४९ को ९८ लाई हस्ताक्षर गरी पारित गरेको र उक्त अभिसन्धिद्वारा प्रदत्त ट्रेड युनियन भित्रको राजनीतिक अधिकार प्रति पनि स्मरण गराउन चाहन्छौं ।'

संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी र महासचिव हंसबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यसर्थ हामी सम्वद्ध सबैलाई संविधान प्रदत्त अधिकारको उपयोगमा कहि कतै बाट पनि नेपालीलाई बञ्चित गर्ने संहिता प्रति पुनर्विचार गर्न, अन्तर्राष्ट्रिय अभिसन्धिको पालना गर्न र २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निर्वादरुपमा सम्पन्न गराउन अनुरोध गर्दछौं ।'

प्रतिक्रिया