Edukhabar
आइतबार, ०९ बैशाख २०८१
विचार / विमर्श

शून्यको मूल्य पढेपछि

सोमबार, १८ असार २०८०

असारे चर्को गर्मीका बीचको कुनै दिन कसैले सामाजिक सञ्जालमा पोष्ट गरेको जोन लेननको देहायको पक्ति देखेँ । 

“जब म स्कुल गएँ, मलाइ सोधियो तिमी के हुन चाहन्छौ जिन्दगीमा ?  मैले भनेँ, खुसी । उनीहरूले भने – मैले प्रश्न बुझिन रे । मैले भने – तिमीहरूले जिन्दगी नै बुझेनौ ।“ 

यस पंक्तिसँगै डा. नवराज केसीको पुस्तक “शून्यको मूल्य“ को सन्दर्भ समेत जोडिएको पाएँ । उहाँले पुस्तकमा यो सन्दर्भ किन उल्लेख गर्नुभएको होला ? 

जान्न रहर लाग्यो । 

त्यसपछि डाक्टर साहेबको यो पुस्तक नपढि रहन सकिन । पुस्तक पढ्दै जाँदा आफूलाइ मन परेका विषयहरू टिप्ने बानी बसालेको छु । अनि त्यसलाई मनको बाढिसँग मिलान गरि कम्प्यूटरका स्क्रिनमा उतार्छु । त्यसैको नतिजा यहाँहरू सामु छ । 

पुस्तक पढ्दै गरेको र त्यसको टिपोट गरिरहेको विषय मित्र श्रीधर पौडेललाइ बताउँदै गर्दा आज यहाँसम्म आइपुगियो । मिले पनि नमिले पनि छापिदिएर हौसला दिने मित्रहरूकै कारण केहि लेख्न जाँगर चल्दछ । 
मानिस बाँच्ने आशाले गर्दा नै हो भन्छन् । 

शायद मूर्धन्य लेखकहरू पाठकका लोभले बाच्छन् होला । अरू छिपने आशाले लेख्छन् होला । किनकी लेखेको छापिदिए पछि अर्को लेख्नका लागि थप आशा जाग्दछ ।

चिकित्सा विधाका डाक्टरले समय कसरी व्यवस्थापन गरेर पुस्तक प्रकाशन गर्न भ्याउँछन् होला ? पहिलो पटक डा. भगवान कोइरालालाई “हृदय“ पुस्तक पढेपछि सोधेको थिएँ – “हृदय“ पुस्तक लेख्न कसरी समय मिलाउनु भयो ? 

अहिले अर्को चिनजान हुन बाँकी डाक्टर शून्यको मूल्यका लेखक अर्थात डाक्टर नवराज केसी लाइ यहि प्रश्न सोध्न गइरहेको छु – कर्णालीमा बसेर यस्तो पुस्तक लेख्न कसरी सम्भव भयो डाक्टर साहेब ? 
उहाँसँग व्यक्तिगत भेटघाट र चिनजान त छैन । तर पनि प्रश्न सोध्न मन लाग्यो ।

साच्चै डाक्टरहरूले पुस्तक लेख्ने समय कसरी मिलाउँछन् होला ? कुन काम के कसरी गर्ने भन्ने बारेमा आफुले आफुलाई नै म्यानेज गर्ने होला । किनकी समय त सबैका लागि उस्तै हो । संसारका सबैले दिनरात गरेर यहि १४४० मिनेट पाउने त हुन नि ! जसले सदुपयोग गर्नसक्यो उसले यस्ता काम गर्न भ्याउँछने होला । शायद डेभिड क्याडेभीले भनेजस्तै डा. केसीले समय व्यवस्थापन भन्दा पनि माइन्ड म्यानेजमेन्ट गर्नुभयो होला । हामीले जिन्दगी भर समय व्यवस्थापन भनेर घोक्ने र घोकाउने काम गरिरह्यौं । तर डेभिडले त माइन्ड म्यानेजमेन्ट नट टाइम म्यानेजमेन्ट भन्ने पुस्तक नै लेखे । हामीले पनि डा. नवराज केसी जस्तै माइन्ड म्यानेजमेन्ट गर्नुपर्ने होला न कि टाइम म्यानेजमेन्ट । माइन्ड म्यानेजमेन्ट गर्नेले नै होला यस्तै यस्तै राम्रा राम्रा काम गर्ने । 

मैले माथि नै उल्लेख गरिसकेँ कि जोन लेननको ‘मैले भने – तिमीहरूले जिन्दगी नै बुझेनौ भन्ने भनाइले मलाइ यस पुस्तक तर्फ डोहोर्यायो । पढ्न लालायित गर्यो । साच्चिकै मानिसले पुस्तक किन पढ्ने ? के मानिसले पुस्तक पढ्नै पर्छ भन्ने छ ? व्यक्तिले कुनै अमूक पुस्तक नै किन पढ्ने ? सूचनाको बाढी सामाजिक सञ्जालबाट पाइएकै छ, पुस्तक पढ्न किन दुःख गर्नुपर्यो भन्ने तर्क पनि हुनसक्छ । पुस्तक पढ्नु र सामाजिक सञ्जालबाट सूचना लिनुमा के कति फरक छ ? के सामाजिक सञ्जालका सूचनाबाट हासिल हुने ज्ञान र पुस्तकबाट पाउने ज्ञान एउटै हो ? 

पुस्तक पढेर फाइदा छ । तर मैले यस प्रश्नको चित्त बुझ्दो ढँगबाट उत्तर दिन सक्छु सक्दिन थाहा भएन । तर पुस्तक पढ्नु र नपढ्नुमा धेरै अन्तर छ । पछिल्लो समयमा मैले पनि सबैलाइ सम्भव भएसम्म पुस्तक पढ्नुस भन्न थालेको छु । मैलाइ थाहा छैन, यो चेत मलाइ कहिलेबाट आयो । तर जसले धेरै पुस्तक अध्ययन गर्छ उसले संसार, यस जीवन र जगतलाई अलि बढि बुझ्न सक्छ । अनि उसलाई यस भवसागरमा जान्नै पर्ने कुरा धेरै रहेछन, म त कति अज्ञानी रहेछु भन्ने बोध क्रमशः हुदैँ जान्छ । अहम्को ज्ञान अवगत हुदैँ जान्छ । जब मानिसलाई अहम्को ज्ञान हुन्छ अनि मान्छे आफ्नो साइजमा आउन शुरू भैहाल्छ । यस ब्रम्हाण्डमा ठूलो ग्रह त जमीनबाट हेर्दा एउटा थोप्लो बराबर देखिन्छ भने मानिसको हैसियत के कति होला र ? सहजै अनुमान गर्न सकिन्छ ।

डा. नवराज केसीको शून्यको मूल्यमा के छ त ? गत मंसिरमा सांग्रिला बुक्सबाट प्रकाशित यो पुस्तक लेखककै भाष्यमा एक सृजनात्मक गैह्रआख्यान हो । लेखकले यसलाइ सास, साहस र स्नेहको कथा भन्नु भएको छ । यस पुस्तकमा बुधेकी फुपुआमा, बुवालाई चिठी, भेडिनी कान्छी, मृत्यु पछिको जीवन, पुतली आमा गरी जम्मा पाँच ओटा शीर्षक छन् । शीर्षक संख्या कम जस्तो देखिए पनि विषयवस्तुको हिसाबले यस पुस्तकमा महासागर भेटिन्छ । कसले के कति लिनसक्छ भन्ने मात्र हो ? 

पुस्तकको अन्तिम पानामा बुद्धिसागरको छोटो भनाइ छ, जसले पुस्तकको महत्व अझ बढाएको छ । यस क्रममा बुद्धिसागरले पुस्तकका पात्रले आफूलाई छोडेनन् वा आफूबाट बाहिर निस्कन मानेनन् अर्थात आफूमा टासिइरहे भन्नु भएको छ । वास्तवमा यस भनाइमा दम छ ।  पात्रको जीवन र तिनले भोगेका जिवनले जोकोहिलाई पनि समाइरहन सक्ने सामथ्र्य छ पुस्तकमा ।   

यस पुस्तकमा कर्णाली र सो को परिवेशका कथाहरू छन् । एउटै कथा भित्र पनि धेरै उप–कथाहरू छन् । भूईं मान्छेका कथाहरू छन्, जसले पाठकलाई भिन्न जीवन र जगतको बोध गराउँछ अर्थात् पढाउँछ । अर्काको जीवनको भोगाइले सिकाउन पनि सक्छ । 

लेखकले शीर्षक नै शून्यको मूल्य किन राख्नु भयो होला त ? के साँच्चै शून्यको मूल्य हुन्छ होला कि नहोला ? उत्तर पुस्तिकामा केहि पनि नलेख्ने विद्यार्थी र प्रयास गरेर केहि लेखेको तर उत्तर नमिलाएको विद्यार्थीलाई हामीले गर्व साथ शून्य दिन्छौ । के उत्तर पुस्तिकामा केहि पनि नलेख्ने र लेखेर केहि पनि नमिलाउने दुबैको हैसियत एउटै हो ? यसरी शून्यको मूल्यका सन्दर्भमा लामै बहस हुनसक्ला । तर यसमा डा. नवराज केसी भन्नुहुन्छ – शून्यको पनि मूल्य हुन्छ ? नहुदोँ हो त शून्य हुदोँ नै किन हो ? शून्य भनेको एकमा पुग्नु अगाडीको तयारी हो नि । फूल फूल्ने र फल फल्ने बृक्ष उम्रिने माटोमा हो । शून्य पनि अरू अंकका मान बढाउने त्यहि माटो हो ।

मेडिकल डाक्टरका दर्शन र सिद्धान्तको व्यवहारिक प्रयोग पाइन्छ यस पुस्तकमा । यसमा कर्णलाीका कथा र व्यथा त्यहाँकै विभिन्न पात्र मार्फत उजागर गरिएको छ । यस्ता भूईं मान्छेका कथाव्यथालाइ डाक्टरले सिद्धान्तसंग जोड्नु भएको छ । शिक्षामा भन्ने गरिएको इन्डक्टिभ मेथडको राम्रोसंग प्रयोग भएको छ यस पुस्तकमा । डिडक्टिभ मेथडका भुक्तभोगीहरूले एक पटक पुस्तक पढेर सिकाइ हासिल गर्दा बालबालिकाहरूलाइ कक्षा कोठामा धेरै सजिलो हुनसक्छ ।

पुस्तकमा केहि आशा छन् । पुतली आमाले केहि आशा जगाएकि छन् । तर बुधेकी फुपुआमा पैसा र उपचारको अभावमा मुखबाट रगत छादेर मृत्यु बरण गरिन । बुधेका दिदीभाइ मुग्लान पसे । यस्ता थुप्रै निराशा पनि छन् । भेडिनी कान्छी छन् । अभावको तलाउ छ । बीच बीचमा तनाव पनि छ । अनि पीर छ । चिन्ता छ । घाउ छ । निको भएका घाउ पनि छन् । खाटा बसेका घाउ पनि छन् । पुस्तकमा अभावको जीवन छ जसको महसुस नीति निर्माताले गर्नसक्दा भुईं मान्छेलाइ धेरै लाभ पुग्न सक्छ । 

पुस्तकमा लेखकले देखाएको धेरै खुबी मध्ये ठूला ठूला सिद्धान्तहरूलाई आफ्ना पात्रसँग ल्याएर दुरूस्त मिल्ने गरि टाँसिदिने काम हो । पाठकलाई थाहा नपाउने गरि सिद्धान्त र पात्र मिल्छन् । धेरै सन्दर्भ मध्ये एक वैज्ञानिकले मानिसको बच्चालाई चिम्पान्जीसंग र चिम्पान्जीको बच्चालाई मानिससंग राखेर गरेको अध्ययनसँग सम्बन्धित छ । उक्त परीक्षणमा डाक्टरले माथि भनिए जस्तै गरी फरक आमाको सान्निध्यमा मानिसको बच्चा र चिपान्जीको बच्चा हुर्काउन पाँच वर्ष सँगसंगै राख्ने व्यवस्था मिलायो । उक्त पाँच वर्षपछि अचम्मको नतिजा आयो । 

मानव आमासंग हुर्केको फुच्चे चिम्पान्जीले मानिसको १० प्रतिशत मात्र गुण सिकेछ र ९० प्रतिशत गुण चिम्पान्जी कै लिइरह्यो । तर चिम्पान्जी आमासंग हुर्केको मानव बच्चाले ९० प्रतिशत चिम्पान्जीको गुण सिक्यो भने १० प्रतिशत मात्र मानव गुण उसमा रह्यो । यस प्रसङ्गले मानव बच्चा नक्कल गरेर सिक्न सक्छ भन्ने ठूलो सिद्धान्त एउटै उदाहरणबाट डा केसीले दिनु भएको छ । बेनामे आमा र शुरूमा भुनभुनाउने बच्चाको सन्दर्भमा ल्याइएको अर्को उदाहरण हरेक आमाबुबा र अभिभावकले पढ्दा राम्रै हुन्छ । अझ साना नानीहरूको जिम्मा पाएक शिक्षकले महसुस गर्न सके त बालमैत्री के हो भनेर पढाउनै पर्थेन । तालिम नै नचाहिन सक्छ । 

यसरी पुस्तकमा बाल मनोविज्ञानको चर्चा छ, प्रौढ मनोविज्ञान छ । कथाका पात्रको मनोविज्ञानलाई लिएर लेखक केसीले आफूले पढेको समयका ठूला ठूला सिद्धान्तसंग जोड्नु भएको छ । पुस्तकमा धेरै राम्रा सन्दर्भहरू छन् र स्थानीय अभ्यास छन् । यसबाट दुई फाइदा देखिन्छ । पहिलो कर्णालीका पात्रका अनुभव आफैमा अमूल्य छन् । सँगै ती अनुभवलाइ लगेर सिद्धान्तसँग जोडिएको छ । बजारमा एउटा सामान किन्दा अर्को सित्तैमा पाए जस्तो ।

चाहे बालबालिकामा गरिएको लगानीको प्रतिफल फिर्ता पाउनमा दिइएको नोबेल पुरस्कार बिजेता जेम्स हेक्मनको अध्ययनको निष्कर्ष होस् वा रोमानियाका शासकको गलत निर्णयबाट जन्मेर क्यानडामा राखिएका बच्चाको विकासको सन्दर्भमा होस्, यीनमा बालविकास सम्बन्धी ठूलो दर्शन छ, सिद्धान्त छ र हासिल गर्नुपर्ने सिकाइ छ । 

यसैगरी मस्तिष्कको दाहिने कोठा र देब्रे कोठाको काम बुझाउन बुधेकी फुपूआमाले गरेका कार्यहरूले पनि अनुभव भएमा सिद्धान्तलाइ कसरी सामान्य ढँगबाट बुझाउन सकिन्छ भन्ने उदाहरण दिएको छ । यी सबै हामी सबैसँग सम्बन्धित नै छन् । सबैले यसलाई जान्दा लेखकले भनेजस्तै दिगो विकास लक्ष्य हासिल गर्नमा थप सहयोग नै पुग्नसक्छ । 

पुस्तकमा जीवन जगतका गहिरा दर्शन पनि छन् । २०३९ सालमा दैलेखमा गएको पहिरोले घरपरिवार, आफन्त र सम्पत्ती गुमाएर “बौलाहा” बनेको व्यक्तिले जीवनको सार बताएको छ । उसले पीडामा रहेका गाउँलेलाई भन्छ – “थाहा पायौ त, जिन्दगी के रहेछ ? बुझ्यौ होला हैन अब त ? माटो हो माटो । माटो कै यात्रा हो जिन्दगी । सास रहँदासम्म माटो माथी । सास रोकिएपछि माटो मुनि मर्नु र बाच्नुमा केही अन्तर छैन, यात्रा हो यात्रा । माटो कै यात्रा । अब रोएर काम छैन ।” 

यसले बाचुन्जेल कर्म गर, राम्रा काम गर, कुभलो नभर भन्ने सन्देश दिएको छ । भलै यी बाक्य एउटा “बौलाहा” भनिएको पात्रबाट निक्लेका भए पनि । सबैको जीवन माटोमै अडेको त छ नि । महसुश नभए भूकम्प आएको अवस्था सम्झे मात्र पुग्छ ।  

पुस्तकमा समेटिएका पात्रहरू वास्तविक जीवनका पात्र जस्तै लाग्छन् । लाग्छन मात्र होइन कि जस्तै छन् । यी पात्रहरू तपाईं हामी रहेकै समाजमा छन् । यहाँ पहिचान गर्यौं गरेनौ । तर यीनलाई यस पुस्तकमा चाँहि भेटिन्छ । उपचारको लागि घरखेत बेच्नेहरू यस समाजमा धेरै छन् । समाजबाट तिरस्कृत बनाइएका पात्रहरू खोज्न कतै टाढा जानै पर्दैन । उपचार गर्ने डाक्टरले भन्दा अग्रवाल जस्ता ठेकदारले बढि खातिरदारी पाएको घटनाले हामीले भोगेकै यथार्थता बताउँछ । यस्ता अभाव र पिडामा रहेकाहरूको कथा हेर्ने, बुझ्न कोशिस गर्ने र यीनका लागि खासै काम नगर्ने पात्र हामीले यहाँ कति चिन्यौ तर डाक्टर नवराज केसीले पुस्तक मार्फत चिनाइदिनु भएको छ । पिडामा सहयोग गर्ने कर्किनी बज्यै जस्ता पात्र पुस्तकमा मात्र नभएर हाम्रै छिमेकमा पनि छन् होला । तर तिनको संख्या न्यून छ ।

तर मैले नबुझेको “पुतली आमा” को शुरूवाती प्रस्तुती र उहाँले भेटेर संरक्षण गरेको “नाङ्गी अर्थात निर्वस्त्र यूवती” को प्रसङ्ग कुन सन्दर्भमा राखिएको होला बुझ्न सकिएन । यसले कथामा के थप ग¥यो ? मैले नबुझेको विषय नै रह्यो । साथै यसले दिन खोजेको सन्देश के रहेछ ? यसको पनि पक्कै अर्थ र सन्दर्भ छ होला । 

कुनै बेला डाक्टर नवराज केसीसँग भेट भयो भने सोध्नु पर्ला । 

पुस्तक भाषागत रूपमा सरल छ, पठनीय छ । प्रसङ्गहरु मिलाएर राखिएको छ । मेडिकल क्षेत्रको व्यक्ति भएर यस किसिमको सृजना गर्ने कार्यलाई महत्वपूर्ण मान्नै पर्ने हुन्छ । माथि नै भनियो कि जम्मा ५ वटा शीर्षकमा लेखिएको यस पुस्तकमा बुधेकी फुपूआमा शीर्षकले मनग्यै स्थान पाएको छ, पुस्तकको मूल पात्रको रूपमा राखिएको महसुस हुन्छ । यस शीर्षकमा धेरै जनाको कथा व्यथा उनिएको भए तापनि मूल पात्र बुधेकी फुपूआमा नै हुन् भन्दा फरक पर्दैन । 

पूर्वीय महाग्रन्थ महाभारतमा मानव जीवनमा नघट्ने सन्दर्भ छैनन् भन्ने गरिन्छ । पाठकले के कति बुझ्दछ भन्ने मात्र हो । डाक्टर नवराज केसीको यस पुस्तकमा पनि मानव जीवनका केहि कथाहरूको संग्रह छन् जस्तो लाग्छ । यस्ता कथा विगतमा पनि थियो, अहिले पनि छ र भोलिका दिनमा पनि रहलान् भन्न सकिन्छ । यसैगरी हरेक व्यक्तिसँग आफ्नै कथा हुन सक्छन् पनि । हरेकका मनका चाहना, भोगेको जिन्दगी, व्यहोरेको तनाव र वेचैनी अनि सफलताहरू नै कथा हुन् । यस्ता कथा भित्र अरू कथा पनि हुनसक्छन् । कसको कथा कसले टिप्ने र कसरी उन्ने भन्ने विषय अत्यन्त महत्वपूर्ण हुने रहेछ । कथा टिपेर मात्र पनि पुगेन उन्न पनि कुसल हुनु पर्ने रहेछ । डा केसीले कर्णालीका प्रतिनिधि मूलक कथा टिपेर राम्रो माला उनेर हाम्रा सामु राखिदिनु भयो । जसले मालाको समिपमा पुग्छ, उसले नै यस्को महसुस गर्नसक्छ । 

पुस्तक तिलस्मी कथाहरूको संग्रह जस्तो मात्र पनि छैन् । यसले बालवकास, बाल स्वास्थ, बालविकासमा अभिभावकको भूमिका, मनोपरामर्श जस्ता थुप्रै विषयमा अत्यन्त सकारात्मक सन्देशहरू बोकेको छ । जोकोहीले पनि यसलाई बुझेर व्यवहारमा प्रयोग गर्न सक्छन् । हरेक पात्रका घटना परिवेशबाट सिक्ने अवसर छ यसमा । कक्षा कोठामा पढाउने शिक्षकदेखि स्वास्थकर्मी एवम् अभिभावकले गर्नु पर्ने कार्यहरू छन् । ओछ्यानमा पिसाब गर्ने बच्चीको उपचारमा प्रयोग गरेको विधि मनोपरामर्श जोकोहिले पनि प्रयोग गर्न सक्छन् । तर त्यसका लागि पुस्तक पढ्नु पर्छ । बच्चालाई भय, त्रास, डरबाट मुक्त गर्न मात्र सके पनि बालविकासलाई सकारात्मक मार्गमा लैजान सकिन्छ भन्ने सन्देश यसले लिएको छ । 

पुस्तक किन पढ्ने ?

अहिले समाजमा सूचनाको बाढी छ । सामाजिक सञ्जालमा धेरै सूचना छन् । बेपर्वाह सूचनाको फ्लो छ । यसमा सूचना मात्र प्रवाहित छैनन् प्रसस्त मात्रामा कूसूचना पनि सँगै आइरहेका छन् । यस्ता (कू)सूचनाहरूको बाढी अझ भनौ सुनामीको रूपमा बहन्छन् । व्यक्ति चाहेर नचाहेर यीनलाइ हेर्न बाध्य छ । किनकी अहिलेको पुस्ता सामाजिक सञ्जालबाट अलग बस्न सक्दैन् । अलग गर्न पनि हुँदैन । जबसम्म कून सूचना सहि र कून गलत भनेर छुट्याउने क्षमता व्यक्तिमा हुदैँन, व्यक्तिलाई सामाजिक सञ्जालबाट प्राप्त सूचनाले नकारात्मक रूपबाट प्रवाहित गर्न सक्छ । सामाजिक सञ्जालमा दिइएको समय मध्ये केहि अँशमात्रको समय यस्ता पुस्तक अध्ययनमा लगाउन सके यसले धेरै कुरा सिकाउन सक्छ । तसर्थ पुस्तक अध्ययन गर्नु र सामाजिक सञ्जालमा घोत्लिनुमा धेरै फरक छ ।  

पुस्तकमा जीवन हुन्छ । अध्ययनकर्ताले आफूलाई पुस्तकका पात्रको जीवनसंग जोड्न सक्छ । मिलाउन सक्छ । तुलना गर्न सक्छ । यसरी व्यक्तिलाई पुस्तकले जीवन र जगतको बोध गराउन सहयोग गर्छ । व्यक्तिलाई आत्मानुभूती गराउन सहयोग गर्छ ।

सबै पुस्तक पढ्दा यस्तै हुन्छ भन्ने छैन । पुस्तकले समावेश गरेका विषयवस्तु, घटना परिवेश, पात्रको चरित्र स्वभाव आदिले पाठकलाई प्रभाव पार्ने हो । जति मात्रामा पुस्तकका घटना र पात्रलाई जीवन्त बनाउन सकिन्छ त्यति मात्रामा पुस्तक सान्दर्भिक हुन्छ । यस पुस्तक पाठकको जीवनसँग धेरै मात्रामा जोडिएको छ भन्ने लाग्छ मलाइ त । यहाँको विचार त अध्ययन पछि मात्र थाहा पाइने कुरा भयो । 

डा. नवराज केसीको पुस्तक पढ्दा पाठकलाई अवश्य पनि एकपटक सोच्न बाध्य बनाउँछ । एकपटक मात्र होइन कि पटक पटक सोच्न बाध्य बनाउन सक्छ । पुस्तकको अन्तिम पातोमा बुद्धिसागरले भने जस्तै पात्रहरु पाठकको हृदयमा टासिन सक्छन् । पाठकलाई तिनीहरू अर्थात पात्रहरूले समाउन पनि सक्छन् । कतिपय सन्दर्भमा पुस्तकका पात्रबाट पाठक चाहेर पनि उम्कन नसक्ने हुनसक्छ । हो यस्ता पुस्तक पढेपछि पाठक स्वयम् बद्लिन पुग्छ । यहि हो पुस्तकको शक्ति । यसैका लागि पुस्तक पढ्नु पर्छ । 

नेपालको संविधानले शिक्षा र आधारभूत स्वास्थ सेवालाई नागरिकको मौलिक हकको रूपमा स्वीकार गरेको छ । वास्तवमा यो ठूलो उपलब्धि हो । संवैधानिक रूपमा स्वीकार गरे पछि काम गर्नलाई बाटो बन्यो । तर व्यवहारमा यसको अनुभव गर्न पाइएको छैन । बालबालिकाको उपचार गर्न घण्टौं यात्रा गर्नु पर्ने अभिभावकलाई परेको मर्का अर्थात् उनीहरुको भावना अर्कोले कसरी भन्न सक्ला ? अर्थात् कागजमा उर्तान कसरी सक्ला र ?  तर डा. नवराज केसीले आफ्ना पात्र मार्फत यस्ता पीडा, अनुभव बाहिर ल्याउने प्रयास गर्नु भएको छ । घरपरिवारका आफन्तको उपचार गर्न घर खेत बेच्न बाध्य हुनेहरूको पीडा र मनोभावना कागजमा उर्तान सम्भव छ होला र ? तर यस पुस्तकमा प्रयास भएको छ । यसको अध्ययन पश्चात नीति नर्माताहरूलाई एकपटक सोच्न बाध्य बनाउने प्रसङ्ग यस पुस्तकमा छन् । शिक्षकलाई झकझकाउने घटना यसमा समावेश छन् । अभिभावकलाइ सोच मग्न बनाउन सक्छ । 

प्रस्तुत पुस्तक एक पटक पढ्दा राम्रै हुन्छ । ठूला ठूला सिद्धान्तमा पोख्त व्यवहारमा कम जानकारले त अझ पढ्दा हुन्छ । व्यवहारसंग सिद्धान्तलाइ कसरी जोड्ने भन्नेमा अनुपम उदाहरणहरू यस पुस्तकमा भेटिन्छ । यो पुस्तक नपढ्दा एउटा स्वाद लिन छुट्छ है ।

लम्साल, शिक्षा मन्त्रालयका सहसचिव हुन् । यस आलेखमा व्यक्त विचार भने लेखकका निजी मत हुन् । 

प्रतिक्रिया