Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

त्रिवि उपकुलपतिको सर्टलिष्ट सोमबारसम्म

उपकुलपतिको प्रतिस्पर्धीले पेस गरेको सोच पत्र, चार वर्षीय व्यावसायिक योजना ६ जना विज्ञहरूले मुल्याङकन गरिरहेका छन् ।

विहीबार, १८ माघ २०८०

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट समितिले सोमबारसम्म उम्मेदवारको सर्टलिष्ट सार्वजनिक गर्ने तयारी गरेको छ । उपकुलपतिको लागि दर्खास्त दिएका मध्ये अन्तरवार्ताको लागि बोलाउनेको नाम सर्टलिष्ट गर्न लागिएको हो । 

खुला प्रतिस्पर्धामा भाग लिएका ४३ जनाले पेस गरेको कागजको मुल्याङकनको आधारमा सर्टलिष्ट गर्न लागेको हो । दर्खास्तसँगै पेस गरेको सोच पत्र र विश्वविद्यालय सुधारको चार वर्षे व्यावसायिक योजना मुल्याङकन भइरहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । ‘हामीलाई प्राप्त सोच पत्र र व्यावसायिक योजनाको कोडिङ गरेर मुल्याङकन गर्न विज्ञलाई जिम्मा दिएका छौ,’स्रोतले भन्यो,‘दुवै परीक्षण गरेर मार्किङ हुदैछ ।’ सोच पत्र ३ जनाले हेरिरहेका छ भने व्यावसायिक योजना अर्को तीन जनाले मुल्याङकन भइरहेको स्रोतले जनाएको छ । 

३ हजार शब्दमा विश्वविद्यालय सम्बन्धी सोच पत्र र ५ हजार शब्दमा विश्व विद्यालय सम्बन्धी चार वर्षे व्यावसायिक कार्य योजना पनि पेस गर्ने गरी छनौट समितिले विज्ञापन गरेको थियो । 

उम्मेदवारले पेस गरेको कागजपत्रको आधारमा कति नम्बर पाउने भन्ने कार्यविधि बनाइएको छ । कसले कति नम्बर पाउने भन्ने कार्यविधिमै उल्लेख छ । 

उच्च शिक्षाको क्षेत्रमा प्राध्यापन गरे बापत प्राध्यापक पदमा काम गरेको भए प्रति वर्ष दुई अंकका दरले अधिकतम १० अंक पाउने छन् । एक वर्ष भन्दा कम महिनाको भने गणना नहुने प्रावधान बनाइएको छ । प्राध्यापक हुनेले १० अकं, विद्यावारिधिको उपाधि प्राप्त व्यक्तिले पाँच अंक, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकामा चार अंक, प्राज्ञिक एवं अनुसन्धानमूलक एउटा पुस्तक लेखी प्रकाशन गरेबापत पाँच अंक, प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरे बापत ६ अंक दिने प्रावधान बनाइएको छ । विश्वविद्यालय सम्बन्धी सोच पत्र र चार वर्षे कार्य योजनाको ३५, प्रस्तुतीकरण बापत २० र अन्तरवार्ताबाट १५ अंक दिने प्रावधान भएको कार्यविधि बनाइएको छ । 

 

प्रतिक्रिया