Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

‘गुटको लडाईंमा विश्वविद्यालयलाई बन्धक नबनाइयोस्’

बुढाथोकीलाई माओवादी नेता वर्षमान पुन र देवेन्द्र पौडेलले उपकुलपति बनाउन चाहेका छन् भने बराललाई प्रधानमन्त्री दाहालले उपकुलपति बनाउन खोजे पछि माओवादी भित्रै विवाद चुलिएको हो ।

विहीबार, १० फागुन २०८०

काठमाडौँ– एमाले सांसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालाई सत्तारुढ दलले गुटको बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई संयोजक रहेको उपकुलपति सिफारिस समितिले आइतबार तीन जनाको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिफारिस गरेको भए पनि अझै नियुक्ति भएको छैन । समितिले शिक्षाका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकी, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बराल र त्रिवि गणित विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । उनीहरू मध्ये बुढाथोकीलाई माओवादी नेता वर्षमान पुन र देवेन्द्र पौडेलले उपकुलपति बनाउन चाहेका छन् भने बराललाई प्रधानमन्त्री दाहालले उपकुलपति बनाउन खोजेपछि माओवादी भित्रै विवाद चुलिएको हो । पार्टीभित्र विवादकै कारण सिफारिस भएको पाँच दिन हुँदा पनि नियुक्ति हुन नसकेको हो । 

कात्तिक १७ देखि त्रिवि कार्यवाहक उपकुलपतिको भरमा छ ।

‘प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढंगले उपकुलपति नियुक्ति गर्ने भनेर प्रक्रिया अघि बढाउनु भयो । विडम्बना त्यो प्रक्रिया कुनै स्वच्छ र स्वतन्त्र पारदर्शी ढंगबाट भएन,’भट्टराईले प्रतिनिधि सभाको बिहीबारको बैठकमा भने,‘अनुसन्धानमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्ता र प्रस्तुतिमा बढी नम्बर राखिएको छ ।’

विज्ञबाट नभई शिक्षामन्त्री, शिक्षा सचिव र उपप्राध्यापकले अन्तर्वार्ता लिएको भन्दै उनले आपत्ति जनाए ।

‘ प्राध्यापकहरु मध्येबाट उपकुलपछि बनाइने प्रक्रियाको अन्तरवार्ता उपप्राध्यापकले लिएको छ,’उनले भने,‘यस्तो प्रक्रियाबाट पार्टी भित्रको गुटको लडाईंमा विश्वविद्यालयलाई बन्धक बनाइएको छ । म यसको निन्दा गर्छु । यो प्रक्रिया तुरुन्तै खारेज गरेर स्वतन्त्र र निष्पक्ष ढंगले उपकुलपति छनोट अगाडि बढाइयोस् ।’ 

सांसद भट्टराईले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको प्रक्रिया पनि पारदर्शी बनाउन आग्रह गरे । दुवै विश्वविद्यालयको उपकुलपतिको कार्यकाल फागुन १९ देखि सकिँदै छ । उपकुलपतिको छनोट प्रक्रिया अघि बढाइएको भए पनि काँग्रेस र माओवादीका कार्यकर्ता उपप्राध्यापक उपकुलपतिको दर्खास्त दिनै नमिल्ने गरी मापदण्ड बनाएको भन्दै विरोध भएपछि प्रधानमन्त्री दाहालको निर्देशनमा उपकुलपति छनोट प्रक्रिया नै स्थगित भएको छ ।

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति ९/९ जनाले दर्खास्त दिएका छन् । दर्खास्त दिने अन्तिम दिन आइतबार दाहालको निर्देशनमा छनोट प्रक्रिया स्थगितको सूचना जारी भएको छ । यो सूचनाले दर्खास्त दिएकाको प्रक्रिया के हुन्छ ? भन्ने अन्योल भएको छ । 

प्रतिक्रिया