आफ्ना छोराछोरी बोर्डिङमा पढाउने शिक्षकले बिगा¥यो सरकारी स्कुल ।


–हरिप्रसाद दुलाल– काभ्रे । मेरा तीन नातिनामध्ये नाति बोर्डिङमा र दुई नातिनी सरकारी स्कुलमा पढिरहेका छन् । तिनीहरुमध्ये नातिनी सपनेश्वर उमाविको कक्षा ७ मा, नाति नालाको स्प्रिङहिलको कक्षा २ मा, एउटा नातिनी खावाको महांकाल प्राविको नर्सरीमा पढ्छ । मैले बा¥हखरी जानेको छु, आफ्नो नाम लेख्न आउँछ, हिसावमा जोड्न घटाउन आउँछ । आफ्नो पढाइ त्यति हो, त्यही भएर नाति नातिनाको पढाइबारेमा त्यत्ति धेरै थाहा छैन । आफ्नै पढाइ नभएपछि बच्चाहरुको पढाइ कस्तो छ भन्ने थाहा नै नहुने रैछ । अझ इङ्लिश त थाहै छैन ।

चारचारवटा दाजुभाइ थियौं हामी, कसले पो पढाउने, कसलाई मात्र पढाउने ? फेरि अहिलेजस्तो नजिकै स्कुल पनि थिएन । आफूले नपढे पनि छोराहरुलाई पढाएँ । छोराहरुले १२÷१२ सम्म पढे तर केही लछारपाटो लगाएनन् । हामीले बरु अहिलेसम्म खेती किसानी, वस्तु पाल्ने काम गरिरहेका छौं, तिनीहरु पढेका छौं भनी खेती किसानी काम गर्न हिच्किच्याउँछन् ।

हामीलाई त हाम्रा नाति÷नातिनाहरुलाई राम्रो पढाइदिए हुन्थ्यो भन्ने लाग्छ तर राम्रो भनेको कस्तो राम्रो हो ? त्यो थाहा छैन ।

धेरै पढाइ दिए, धेरै पढे  हुन्थ्यो, भन्ने आमाबुवाको भावना हुँदो रहेछ तर पढ्ने– नपढ्ने सन्तानकै कुरा हो । मैले आफूले नपढे पनि छोराछोरीलाई पढाउनुपर्छ भनेर दुखजिलो गरेर पढाएँ तर १२ पनि नसकाई विदेशतिर गए । हामी त चाहन्छौ नि यही काम गरे हुन्थ्यो, तर गरेनन् । उनीहरुलाई पढाउने ‘मास्टरहरु’ले पनि विदेशमा भन्दा स्वदेशमै काम गर्नुपर्छ भन्ने भावना दिन सकेनन् । त्यो हेर्दा मास्टरहरुले सन्तानहरुलाई खै के पढाएजस्तो लाग्छ । यसैले अहिले पढिरहेका नाति÷नातिनाहरुलाई चाहिँ यहीँ (नेपाल)मै काम गरेर देश बनाउनुपर्छ भन्ने भावना र विचारसहतिको पाठ पढाइ दिए हुन्थ्यो ।

महांकाल प्राविमा पहिला यहीँको मिठाराम दुलाल सरले पढाउनु हुन्थ्यो । यहाँका बच्चाहरुको पढाइ देख्दा अन्तको दाँयाबायाँको पनि आउँथे । त्यस्तो बेलमा पनि उहाँले आफ्ना बच्चालाई बोर्डिङमा भर्ना गर्नुभयो, त्यसपछि स्कुल तहसनहस भयो, उहाँ यहाँबाट अन्तै सरुवा हुनुभयो । यसबाट ठूलाबडा, पढेकै र पढाउने काम गर्नेबाटै सरकारी स्कुलको पढाइ बिग्रियो ।

सरकारी स्कुल बिग्रिनुमा हेडसर मुख्य दोषी छन् । आफ्ना छोराछोरी बोर्डिङमा पढाउने स्कुलमा सरकारी जागिर खाने भएर सरकारी स्कुल बिग्रियो । त्यो भएर सबैतिर ऊभन्दा ऊ के कम ? भन्दाभन्दै सरकारी स्कुल सुके । बोर्डिङ फुके । यो सबै हुनुको कारण अरु नभएर सरकारकै कारण भएको हो । राजनीतिले सबैथोक बिगा¥यो । गाउँदेखि सिँहदरबारसम्म बिग्रिएपछि स्कुल पनि कहाँ बाँकी रहन्छ र ? हाम्रो सरकारी स्कुल झन् बिग्रियो ।  बोर्डिङलाई स्वीकृति दिएर राजस्व मात्र जम्मा गर्ने खेलमा लागेर सरकारले दुई प्रकारको शिक्षा दिन थालेपछि सरकारी स्कुल बिग्रन थाल्यो ।

गाउँ–टोलमा कसैको छोरो वा छोरी बोर्डिङमा लगेर भर्ना गरेपछि मैले पनि त्यो चाहिँ बोर्डिङमा पढाउने, मैलेमात्र सरकारीमा पढाउने भन्ने मलाई घमन्ड हुन थाल्यो, यस्तो खालको सेखासेखले सरकारी स्कुल झन्झन् बिग्रिएको हो । सरकारी मास्टरहरु आफ्ना छोरा नातिहरु बोर्डिङमा पढाउँछन् । ‘के तिनीहरुले आफूले नै पढाएको स्कुलमा आफ्ना सन्तानलाई पढाउनु हुन्न ?’

शिक्षकहरु आफ्नो ड्युटी मात्र गर्ने, तलब मात्र खाने स्वभावका छन् । स्कुल– स्कुलमा पनि पार्टी परीपाटी छ । स्कुलमा गयो भने उल्टै हामीमाथि आँखा टर्छन् । त्यस्तो भए पछि स्कुलमा अभिभावक जाने वातावरण कसरी बन्छ ? शिक्षकहरुमा अभिभावकप्रति ‘तिमीहरुले दिएको तलब हो र ? सरकारले दिएको तलब त हो नि’ भन्ने घमन्डी सोच छ, त्यस्तो सोच भएकाले कसरी सरकारी स्कुल राम्रो गर्छ र ? बोर्डिङमा भए टिफिन छ, सफा सुग्घर छ, बालबालिकाहरुलाई कोरिबाटी छ, तर सरकारीमा त्यस्तो वातावरण छैन । अनि कसरी बढ्छ सरकारीमा बच्चाहरु ? अहिलेको शिक्षा मियोविनाको दाइँजस्तै भइरहेको छ । त्यसलाई नसुधारीकन सरकारी स्कुल राम्रो हुँदेन ।
हरिसुन्दर छुकांले दुलालसँग गरेको कुराकानीमा आधारित ।

प्रकाशित मिति २०७३ साउन ३०