Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

सपना नदेख्ने शिक्षकले धकेल्दा शिक्षण पेशामा !

आइतबार, २९ साउन २०७४

शिक्षण पेशामा जाने निधो भै सकेपछि एकजना पुराना मित्रसँग भेट भयो ।

एक कप कफि पिउँदा उनले थुप्रै पटक एउटै प्रश्न सोधे – तिमी किन शिक्षण पेशामा लागेको ?

साना साना सपना र त्यसलाई पुरा गर्नको लागि संघर्ष गर्ने ठुला ठुला योजना बोकेर १३ बर्ष अघि राजधानी भित्रिदाँका साथी मात्रै हैनन् पत्रकारीतामा संघर्ष गर्दाका एक साक्षी पनि हुन् उनी ।

आर्थिक रुपमा राम्रो, एनजिओको हुँदा खाँदाको जागिर र सामाजिक हैसियत बढाउँदै गरेको पत्रकारीता छाडेर अध्यापनको लागि त्रिभुवन विश्वविद्यालय छिरेकोमा उनको प्रश्न थियो – साँच्चै तिमी किन शिक्षण पेशामा गएको ?

...

घर फर्केपछि मैले पनि सोचेँ साँच्चै म किन शिक्षण पेशामा !

के त्रिभुवन विश्वविद्यालयमा स्थायी नोकरी मात्र मेरो चाहना हो ? या त्यो भन्दा थप केहि अरु कारणहरु पनि छन् ?

मैले जीवनमा कहिले पनि लोकसेवामा फर्म भरिन । मैले कहिल्यै पनि आर्मीको अधिकृतमा फारम भरिन ।

तर, धेरैलाई रहर नहुने, कतिले त सुन्दै नाक खुम्च्याउने शिक्षण पेशाले मलाई तान्यो ।

...

मेरो स्कुले जीवन त्यत्ति सुखद् छैन । मेरो स्कुले जीवनमा आएका अधिकांश शिक्षकले कहिले राम्रो मानेनन् । मैले पनि अधिकांश शिक्षकलाई कहिल्यै राम्रो ठानिन । अधिकांश शिक्षकले मलाई कोईली वा सुगा बनाउन खोजे । मैले उनीहरुसँग पौँठेजोरी खेलेर काग बन्ने प्रयास गरे । कोईली वा सुगामा मलाई कुनै आकर्षण हिजो पनि थिएन आज पनि छैन र भोली पनि नहोला । देख्दा वा हेर्दा नराम्रो लाग्ने कागले मलाई हिजो पनि तानि रहेको थियो आज पनि त्यो आकर्षण घटेको छैन ।

मेरो स्कुले जीवनमा शिक्षकले किताब बाहिर नजान ठुला ठुला पर्खाल लगाई दिए । म आफ्नै बुताले ति पर्खाल चढेर बाहिरको संसार हेर्न दौडिएँ । शिक्षकले मलाई अनुशासित बनाउने धेरै प्रयास गरे । कैयौँ सिर्किने मेरो ढाडले पचाएको छ । कैयौँ डट्पेनहरु मेरा दुईवटा औलाको बिचमा रगडिएर भाचिएका छन् । ति विद्यालयका चौर साक्षी छन् म कयौपटक कुखुरा बनेर ढाड कुप्र्याएर उभिएको छु ।

तर म परिवर्तन हुन सकिन । वा भनौ मैले परिवर्तन चाहिन ।

मेरो जीवनमा आएका अधिकांश शिक्षकले म मार्फत कुनै सपना देखेनन् । अधिकांश शिक्षकको सपना पुरा गर्ने चरित्र मैले कहिल्यै बनाईन ।

म आफ्नै सपना पुरा गर्ने चरित्र निर्माणमा लागे । जानी नजानी म मा पलाएको केहि सपना तथा चाहनाका वेर्नालाई बाहेक मैले अन्यत्र कतै पनि एक थोपो पानी हालिन । त्यसैले शिक्षक रिसाए । त्यसैले अग्रज रिसाए । त्यसैले धेरै रिसाए । तर म थाकिन । आज म जे छु त्यहि जानी नजानि हिँडेको, जानी नजानि लम्केको पाईलाको प्रभाव हो । सबै रिसाउँदा पनि नछाडेको हठको परिणाम हो ।  

हो, मेरो धेरै शिक्षकले म मार्फत कुनै सपना देखेनन् । तर मलाई के राम्रोसँग थाहा छ भने मैले एक्लै हिँडेको यात्राको वैशाखी भनेको त्यहि शिक्षकहरुले सिकाईदिएका अक्षरहरु हुन् । तिनीहरुले बुझाई दिएका केहि सवालहरु हुन् । उनीहरुले बुझाई दिएका अप्ठ्यारालाई परास्त गर्ने केहि सुत्रहरु हुन् । त्यसैको आधारमा मैले आफ्नो जीवनको यात्रा गरिरहेको छु । साना सपनालाई पुरा गर्नको लागि ठुला संघर्षहरु गरिरहेको छु । यो त्यहि शिक्षाको देन हो । त्यसैले होला मेरो मनलाई शिक्षकले कहिल्यै तान्न नसके पनि शिक्षणले सधैभरी तानिरहन्थ्यो । आफुलाई जीवन निर्वाहको बाटोमा हिँड्नको लागि सहज बनाउने सवाल प्रति मेरो आकर्षण स्वभाविक हो कि जस्तो लाग्छ ।

मलाई बच्चा उमेरमा राम्रोसँग पढ्यो भने त्यसबारेमा बुझ्न सकिन्छ भन्ने चेतना नै थिएन । घरको मुल थाममा झुण्ड्याएको रेडियोले एसएलसीको बोर्ड फस्ट विद्यार्थीको नाम भन्दा कति धेरै चिट चोर्न सक्यो होला र बोर्ड फस्ट भयो होला भन्ने लाग्थ्यो । चोरेर पास त हुन सकिएला तर राम्रो अंकका साथ उत्तिर्ण हुन सकिँदैन भन्ने ज्ञान मेरो दिमागमा निकै नै पछि मात्र पसेको हो । त्यो चेतना मेरो दिमागमा समयमै नआउँदा मेरो जीवन आजको जस्तो छ । नत्र म अर्कै केहि हुने थिएँ होला ।

मलाई त एउटा विन्दुमा पुगेपछि त्यस्तो ज्ञान आयो र जीवन निर्वाह गर्न अलि सहज भएको छ । कयौ बालबालिकालाई यस्तो ज्ञान वा चेतना कहिल्यै आउन पाउँदैन । मेरो जस्तो वातावरण हरेकले कहाँ पाउँछन् र ? त्यसैको शिकार बनिरहेका छन् आजका ठुलो संख्याका युवाहरु । मलाई शिक्षण पेशाले यस कारण पनि तान्यो कि म थोरै विद्यार्थीलाई नै मात्र किन नहोस् यो चेतना भर्न चाहन्छु । संख्या थोरै मात्र किन नहोस् मेहनत गर्यौ भने सहजै बुझ्न सक्छौ भन्ने कुरा उनीहरुलाई बुझाउन चाहन्छु ।

म केहि वर्ष अगाडी देखि शिक्षण पेशामै छु । मलाई कक्षा कोठा भित्र अत्यन्तै अनुशासित ढंगमा बस्ने र मैले जे भन्छु त्यसैमा मुण्टो हल्लाउने विद्यार्थीले कम तान्छ । बरु मैले भनेको कुरामा चित्त नबुझाउने र असहमती राखेर तत्काल प्रतिक्रिया दिने वा प्रश्न गर्ने विद्यार्थीले मलाई तान्छन् । चाहे त्यो प्रश्न अप्रासंगिक नै किन नहोस् । उसले मलाई गरेको प्रश्नले मलाई यति आनन्द र सन्तुष्टि दिन्छ कि म त्यसलाई शब्दमा बयान नै गर्न सक्दिन । म संसारका हरेक विद्यार्थीले आफ्नो शिक्षकलाई चुनौती देओस् भन्ने अपेक्षा राख्छु । त्यस्तो चुनौती जसले शिक्षकलाई पनि जिम्मेवार बनाओस् । जसले शिक्षकलाई पनि मेहनती बनाओस् । जसले शिक्षकलाई पनि संवेदनशिल बनाओस् । त्यस्तो चुनौती दिने दिमागलाई सम्मान गर्न र उनीहरुको चुनौतीको प्रतिरक्षा गर्ने बन्नको लागि मलाई शिक्षण पेशाले तान्यो ।

धेरैले भन्छन् शैक्षिक क्षेत्र त्यसमा पनि त्रिभुवन विश्वविद्यालय चरम दलीय राजनीतिबाट ग्रस्त छ । यो भनाई यस्तो देखिन्छ कि त्यहि काम गर्ने प्राध्यापक, प्रशासक, कर्मचारी देखि लिएर हरेक व्यक्तिको मुखमा यहि कुरा झुण्डिएको छ । तर त्यसलाई सुधार गर्ने पहल हुन सकेको छैन । यस्तो गफ गर्ने वा चिन्ता गर्नेहरुले नै आफ्नो जिम्मेवारी पुरा गर्दैनन् । यस्तै चिन्ता गर्नमा मात्र व्यस्त देखिन्छन् । मलाई थाहा छ कि शिक्षक वा प्राध्यापक पनि यहि समाजका उपज हुन् । उनीहरुको सोचाई, बुझाई तथा व्यवहारलाई सामाजिक संरचना, व्यवहार तथा सम्बन्धले निर्धारण गर्दछ । तर शिक्षकमा यदि तिव्र इच्छा शक्ति र लगाब हुने हो भने यो समाजमा देखिएका विकृती तथा व्यथितीलाई हटाउन सक्ने सामथ्र्य शिक्षकसँग मात्र हुन्छ । म यस्ता सबै चरम राजनीतिकरणलाई हटाएर त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट बनाउने सपना बोकेर विश्वविद्यालय जाँदै छैन । म एउटा जिम्मेवार र आफ्नो विद्यार्थीलाई सबैभन्दा महत्व दिने एउटा उपप्राध्यापक केहि वर्ष पछि सहप्राध्यपक र अरु केहि वर्ष पछि प्राध्यापक बन्ने ठुलो सपना बोकेर जादैछु । हो, त्यहि एकजना इमान्दार प्राध्यापक बन्ने हुटहुटीले म शिक्षण पेशामा आए ।

म उपकुलपति, रेक्टर, रजिष्टार वा डिनको आकांक्षाले पनि तानिएको छैन । मलाई सबैभन्दा आनन्द किताब वरिपरि फिजाएर बस्नुमा आउँछ । किन हो त्यो थाहा छैन । तर म पाँच मिनेट मात्र किन नहोस् हरेक दिन किताब पढ्छु । पढ्न सकिन भने पनि हेर्छु र मात्र सुत्छु । मलाई सबैभन्दा रहर लाग्ने यो कामले पनि शिक्षण पेशामा आउन उत्प्रेरित गरेको हुन सक्छ । मेरो जीवनमा तीनवटा रहर छन् पढ्ने, पढाउने र लेख्ने । यि तीनवटा रहर पुरा गर्ने ठाउँ त्यहि शिक्षण पेशामा छ । त्यहि विश्वविद्यालयमा छ ।

एउटा विद्यार्थीलाई समालोचनात्मक रुपमा सोच्ने बनाउने सपना पुरा गर्न, आफुले देखेको सपना प्राप्तीको लागि आत्मविश्वासी भएर हिड्न तथा अगाडी बढ्न सक्ने बनाउन, तिमीले राम्रोसँग मेहनत गर्यौ भने सबै कुरा सिक्न र जान्न सक्छौ भन्ने बुझाउन, कालो बादलको वरिपरि पनि चाँदीको घेरा हुन्छ भन्ने बुझाउन म शिक्षण पेशामा आएँ । एउटा इमान्दार र विद्यार्थीलाई पहिलो प्राथमिकता दिने प्राध्यापक बन्ने अभिलाषाले मलाई विकासे काम तथा पत्रकारितामा बस्न दिएन । म त्यहाँबाट हिड्नै थियो हिड्दा म विश्वविद्यालय पुगे । म मेरो साँच्चैको रहर भएको क्षेत्रमा आए । यो जीविकोपार्जनको लागि मात्र होईन, जन्मिनु तथा हुनुको अस्तित्व अर्कोले पाओस् भन्ने उत्कष्ट अभिलाषाले म शिक्षण पेशामा आएँ । बाध्यताले होईन । म रहरले यस क्षेत्रमा आएँ ।

अन्त्यमा, धेरै शिक्षक वा प्राध्यापकलाई सोध्नुस् म अरु केहि गर्न चाहन्थेँ तर शिक्षण पेशामा नचाहँदा नचाहँदै आउनुपर्यो भन्छन् ।

तर, म अन्त धेरै गरिरहेको थिएँ र पनि शिक्षण पेशामा आएँ ।

धन्यवाद छ ती शिक्षकलाई जसले म मार्फत् कुनै सपना देखेनन् र शिक्षण पेशामै जाने हुटहुटि जगाई दिए । 

(घिमिरे त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागमा अध्यापन गर्दछन्)

[email protected]

प्रतिक्रिया