Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

बाढी प्रभावित बालबालिकालाई किताव, कापीको चिन्ता

आइतबार, ०४ भदौ २०७४

काठमाडौं ४ भदौ / राप्ती–सोनारी गाउँपालिका–४, लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । बाढीले दुषित बनाएको पानी शुद्धिकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो ।

भाइरल ज्वरोले समातेपछि उनले खानासमेत खाएका छैनन् । पानी तताउने र तातो भात तथा जाउलो पकाउने ठाउँ समेत छैन उनको घरमा । तरकारी र अन्नपात बाढीले बगाएका कारण उनको परिवारले बिहानमात्र खाना पकाउँछ । ‘खान पाएपनि भात र तरकारी चिसो हुन्छ,’ समिरले भने, ‘चाउचाउ विस्कुट खाँदाखाँदा वाक्क लागिसक्यो ।’

उनको किताव, कापी र कलम ढलेको घरमा परिएको छ । किताव, कापी घरमा पुरिएपछि उनी निराश भएका छन् । ‘विरामी भएर पढ्न जान पाएको छैन नै किताव, कापीसमेत घरमा पुरियो, अव के लिएर पढ्न जाने होला ?’ उनले भने । राप्ती–सोनारी गाउँपालिका–६, मोहनपुरकी ममता शाही पनि एक हप्तादेखि विद्यालय जान पाएकी छैनन् । उनी अध्ययनरत सरस्वती मावि पनेरियामा बाढी पीडितले आश्रय स्थल बनाएको र किताव, कापी लगायत विद्यालय सामग्री विद्यालयले बगाएकोले उनी एक हप्तादेखि विद्यालय जान नपाएकी हुन् । ‘किताव, कापी नदीले बगाएर लग्यो, बचेको पनि भिजेर काम नलाग्ने भएकोले विद्यालय जान सकेको छैन,’ ममताले भनिन् ।

बाढी आएदेखि राप्ती–सोनारी गाउँपालिका–४, लालपुरका १३ वर्षीया लक्ष्मी चौधरी विद्यालय जान पाएकी छैनन् । उनी अध्ययनरत श्री भावना निमावि माहुमा बाढी पीडितले आश्रय स्थल बनाएर बसेकोले उनी पनि विद्यालय जान पाएकी छैनन् । विद्यालय जान मन भएपनि उनीसँग न त किताव न त लेख्न कापी र कमल नै छ । ‘किताव, कापी जोगाउने प्रयास गरेको थिएँ, एक्कासी बाढी आएकोले केहि गर्न सकिएन,’ लक्ष्मीले भनिन् ।

बालबालिकामा मानसिक असर 
बाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनिय बन्दै गएको छ नै उनीहरु शिक्षाबाट समेत बन्चित भएका छन् । बालबालिकामा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने समस्या देखा परेको राप्ती–सोनारी गाउँपालिका–४ का वडा अध्यक्ष कान्छा चौधरीले बताए । सिविन नेपाल नेपालगन्जका प्रमुख शिद्धराज पनेरुले बाढी प्रभावित बैजापुरका बालबालिकामा मानसिक असर देखिएको बताए । बाढी पसेर घर ढलेर तहसनहस देखेका बालबालिकामा डर कायमै रहेको बताए । ‘बालाबालिकामा बाढीको मानसिक असर देखिएको छ,’ उनले भने ।

बालबालिकाको किताव, कापी बाढीले बगाएको र पानीले भिजेर पढ्न नमिल्ने भएको पाइएको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रको अनुगमन पछि प्रतिक्रिया दिँदै उनले भने, ‘बालबालिकाको अवस्था दयनीय छ, बालबालिकाहरु भाइरल ज्वरोका कारण थलिएका छन्, उनीहरु उपचारसमेत पाएका छैनन् ।’

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका निर्देशक मुरारी प्रसाद खरेलले पनि बाँकेका बाढी प्रभावित क्षेत्रका बालबालिकाले समयमा खाना खान नपाएको र सुत्ने ठाउँ नपाएको बताए । उनले साना–साना नानीहरु चिसो भुँईमा सुत्न बाध्य भएको बताए । उनले बालबालिकाहरु चाउचाउ, चिउरा र दालमोठ खान बाध्य भएको समेत बताए । ‘बाढी प्रभावित क्षेत्रका बालबालिका चाउचाउ र चिउरा खाएर दिन काट्दै छन्,’ उनले भने ।

 

बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित 
वाढीले बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको वाढीले क्षति पुर्‍याएपछि ८१ वटा विद्यालयको पठान पाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख वहादुर थापाका अनुसार बाँकेका २९ वटा विद्यालय सेल्टरका रुपमा प्रयोग भएका छन् । उनले राप्ती–सोनारीका १८ वटा विद्यालयमा बाढी पीडितले आश्रय स्थल बनाएको जानकारी दिए ।

सामुदायिक भवन नभएका कारण वाढी पीडितहरु सामुदायिक विद्यालयलाई सेल्टरको रुपमा प्रयोग गरिरहेको उनले बताए । ‘पठन पाठनभन्दा मानविय संवेदनशीलतालाई मध्यनजर गरी सेल्टरको रुपमा प्रयोग गर्न दिइएको छ,’ थापाले भने ।

राप्ती–सोनारी गाउँपालिकामा ५२ विद्यालय छन् । उक्त गाउँपालिका अन्तर्गत पर्ने विनौना स्रोत केन्द्रमा पर्ने वाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका ९ हजार ८ सय ८१, कक्षा ६ देखि ८ सम्मका ३ हजार ६ सय ९८, कक्षा ९ देखि कक्षा १० का १ हजार ४ सय ७ र कक्षा ११ देखि १२ का ६९ विद्यार्थीको पढाई प्रभावित भएको छ ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया