Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

नानीहरुको पाठशालामा

शनिबार, ०७ असोज २०७४

जिन्दगीको पाठशालामा/ नानीहरु अक्षरसँगै खेल्छन्/ साना साना निर्दोष अन्तर हृदयभित्र/अक्षरसँगको सामीप्यता / लडिबुडी खेल्लमा  टाँसिन्छ । साँच्चै साना साना बाबुनानीहरुलाई पढाउनु जिन्दगीको तयारी गराउनु हो । यही भएर त प्रारम्भिक कक्षामा पढाउने शिक्षकलाई विद्यार्थीले सम्झिन्छन् । यही भावलाई पोखरेली कवि सरस्वती श्रेष्ठ ‘सरु’ ले ‘फूलहरुको आँधी’ कविता संग्रहमा समावेश ‘जिन्दगीको किताव– १’ मार्फत् देखाउन खोजेका छन् । सोही कविता साताको शिक्षा साहित्यमा ।

घण्टी बज्छ टिङ टिङ टिङ
सुरु हुन्छ गन्तीहरु जिन्दगीको
सुरु हुन्छ प्रभातकालीन प्रार्थना जिन्दगीको
नानीहरु गाउँछन्
लय जिन्दगीको
पढ्छन् सँधै लेफ्ट राइट परेडहरुमा ।

साना साना नानीहरुका
साना साना पंक्तिहरुका
नर्सरीमा लहरै सारिएको कलमी फूलझैं
अति सुन्दर लाग्छन्, आँखामा
फूलजस्ता नानीहरुका
आँखामै अटेको हुन्छ ब्रम्हाण्ड
अटेको हुन्छ ंरंगीन सपना

थोप्ला थोप्ला खुसीहरु निधारमा फुलिरहेझैं
म पढ्छु तिनै खुसीहरु निधारमा टल्किएका
नानीहरुको पाठशालामा
उनीहरुको खुजुरा जिन्दगी
उनीहरुकै पलाउँदै गरेको मुजुरा जिन्दगी

जिन्दगीको पाठशालामा
नानीहरु अक्षरसँगै खेल्छन्
साना साना निर्दोष अन्तर हृदयभित्र
अक्षरसँगको सामीप्यता
लडिबुडी खेल्लमा  टाँसिन्छ
तर कसरी बुझ्छन् नानीहरु
आफ्नै जिन्दगी पढिरहेको  ?

जिन्दगी अफ्ठ्याराहरुको पनि पाठशाला हो
जिन्दगी गौंडाहरुको पनि पाठशाला हो
कहिँ कतै ठेसहरुमा पनि पढिन्छ जिन्दगी
तर नानीहरुको मुहारमा टाँसेर
समयका गीतहरु पढ्न
कठिन रहेछ जिन्दगी

सेतोपाटीमा लेख्दै÷मेट्दै
मेट्दै÷लेख्दै
जिन्दगीका धुनहरु
टुक्राटुक्रा खुसीहरु गाँसेर
उज्यालो पढाइरहँदा
अँध्यारोको छायाँले जिस्क्याइरहन्छ
ढोका बाहिरबाट
म ढोकाभित्र जिन्दगी पढाइरहेछु उयालोको ।

 

प्रतिक्रिया