Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

डाक्टर पढ्न डिभाइसबाट चिट

आइतबार, २९ असोज २०७४

काठमाडौं २९ असोज / एमबीबीएस प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी पक्राउ परेका छन् । तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एक जनालाई तीनकुनेबाट पक्राउ गरिएको हो । चिट चोर्न डिभाइस उपलब्ध गराउने गिरोहका अन्य पाँच जना, नक्कली परीक्षार्थी बनेर जाँच दिइरहेका एक र नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एक जनालाई पनि पक्राउ गरेको छ ।

गिरोहका सदस्यले २ देखि ५ लाख रुपैयाँसम्म लिएर चिट चोर्ने डिभाइस विद्यार्थीलाई उपलब्ध गराएका थिए । यस्तो डिभाइसमार्फत चिट चोर्न परीक्षार्थीले यस्तो टिसर्ट लगाएका हुन्छन्, जसमा सलाईको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस सिलाएर राखिएको हुन्छ । उक्त डिभाइसबाट निस्केको तार कपडाभित्र सिलाउँदै कुमनेर पुर्‍याइएको हुन्छ । तारको टुप्पोमा भएको एअरफोन आकारको यन्त्रले कानभित्र रहेको अत्यन्तै सानो आकारको वायरलेस एअरफोनमा आवाज पुर्‍याउन मद्दत गर्छ ।

यस्तो यन्त्रजडित टिसर्ट लगाएर विद्यार्थी परीक्षा हलमा बसेको केही बेरपछि गिरोहका सदस्यले यन्त्रमा फोन गर्छन् । साइलेन्ट मोडमा रहेको उक्त यन्त्रमा एक घन्टी जानेबित्तिकै फोन आफैं रिसिभ हुने अटोमेटिक सिस्टम हुन्छ । त्यसैको सहारामा गिरोहका सदस्यले परीक्षा हलबाहिर बसेर उत्तरहरू फटाफट भन्दै जान्छन् । त्यही सुनेर परीक्षार्थीले सजिलै उत्तर मिलाउन सक्छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार योजनाबद्ध र व्यवस्थित सेटिङमार्फत गिरोहका सदस्यले परीक्षा सुरु हुनेबित्तिकै प्रश्नपत्र हात पारेको देखिन्छ । प्रहरीले बौद्धस्थित परीक्षा केन्द्रबाट सक्षमराज भण्डारी, शिखा झा र राहुल झालाई चिट चोर्ने डिभाइससहित परीक्षा सकिनेबित्तिकै पक्राउ गरेको हो । त्यस्तै, जाँच दिएर निस्किएका राजेशकुमार सिंह भने तीनकुनेबाट पक्राउ परेका हुन् । पप्पु यादवका नाममा नक्कली विद्यार्थी बनेर जाँच दिइरहेका ज्ञानेन्द्र ठाकुर र उनलाई सहयोग गर्ने सञ्जयकुमार यादव समेत पक्राउ परेका छन् ।

भारतीय बजारबाट चिट चोर्न उपयोग गरिने डिभाइस ल्याएर सप्लाई गर्ने अजय यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै चिट चोराउने गिरोहमा संग्लन रही काम गर्ने आशुतोष झा र शैलेश झा पनि पक्राउ परेका छन् । प्रहरीस्रोतका अनुसार गिरोहका मूल नाइके भने फरार छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले परीक्षामा चिट चोराउने गिरोहमा ठूलो समूह परिचालित हुन सक्ने बताए । यस्तो गिरोहले मोटो रकम लिएर परीक्षार्थीलाई डिभाइस उपलब्ध गराएको उनको आकलन छ । ‘अनुसन्धान जारी छ, गिरोहको सञ्जाल कति ठूलो छ भन्न सकिन्न,’ उनले भने ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले काठमाडौंभित्रका थुप्रै परीक्षा केन्द्रमा यस्तो डिभाइसयुक्त टिसर्ट लगाएका विद्यार्थी सामेल भएको अनुमान गरे । गिरोहले थुपै्र विद्यार्थीलाई पास गराइदिने सर्तमा रकम लिएर यस्तो डिभाइस उपलब्ध गराएको देखिन्छ । ‘समग्र एमबीबीएसकै प्रवेश परीक्षाको वैधता शंकाको घेरामा तानिएको छ,’ उनले भने ।

कान्तिपुरमा जनकराज सापकोटाले लेखेको खबर ।

प्रतिक्रिया