Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

लेमिनेशन शुल्क समेत उठाउन नसक्ने सर्टिफिकेट

शनिबार, ०२ मंसिर २०७४

रीता खत्री, समसामयिक विषयमा केन्द्रीत रहेर कविता लेख्ने कवयित्री हुन् । प्रस्तुत कवितामा शैक्षिक बेरोजगारको कथा छ, भयाभह अवस्थाको चित्रण छ । हातमा शैक्षिक योग्यताका प्रमाणपत्रहरुको थेलीका थेली भएर पनि राजनीतिक दलहरुको भागबण्डा, आफन्तहरुलाई प्राथमिकताको सिकारमा निमुखा युवाहरु परिरहेका छन् । यस्तै चित्रित कविता ‘शोकेसका प्रमाणपत्र ’साताको शिक्षा साहित्यमा :

 

मैले मेरो जिन्दगीको
चौविस बसन्त खर्चेपछि
यो राज्यले मलाई एउटा
प्रमाण पत्र दियो
डिग्रीहोल्डरको ।

मैले त्यसलाई लेमिनेशन गरेँ
र, सुरक्षित राखेँ शोकेसभित्र ।

घाम, पानी, हावा, हुरी
र आफ्नै सन्तानको बद्मासीबाट जोगाउन
कसैलाई छुनसमेत नदिई
सुरक्षित राखेको त्यो शोकेस
यतिबेला मेरा नानीहरुको कौतुहल बनेको छ ।
र प्रश्न पनि छ ।

आमा !
किन हेर्न मिल्दैन, यो भित्र के छ ?
योभित्र मेरो जिन्दगीको चौविस बसन्त छ,
तिमीहरुको जस्तै मेरो बालापन छ
मेरो जिन्दगीको धार छ
मेरा आमा बाबाको सम्पूर्ण लगानी छ
मेरो पसिनाका गन्ध छ
नाइल नदीजस्तै लामो म बगेको प्रवाह छ
यसभित्र मेरो इतिहास छ
मैले जीवनभर घोकेको
कला, साहित्य, संस्कति, 
संगीत, विज्ञान, भूगोल
सामाजिक मूल्य, मान्यता
लोकतन्त्र, समावेशिता,
र,शसक्तिकरणको लामो कालखण्ड छ 
यसलाई कागजको खोस्टो नसम्झनु
यसभित्र जे छ, मेरो सर्वस्व छ ।

प्रमाणपत्र
जोगाएकै छु तिम्रो साख
मेरा सन्तानका अघिल्तिर म लाचार छु
मेरो लेमिनेशन शुल्क समेत उठाउन नसक्ने
यो प्रयोगविहीन सर्टिफिकेट बोकेर
जिन्दगीको किनारै किनार सपना भत्काएर हिँड्नुको पीडा
उसलाई मात्र थाहा छ ।
जो हिँडेका छन्,
यो प्रयोगविहीन सर्टिफिकेट बोकेर बाटोभरी ।
गन्तव्य खोजेर आँखाभरी ।
कोसँग गुनासो गरौं ?

जे छन् यहाँ प्रयोगविहीन नै त छन्
स्रोतहरु प्रयोगविहीन,
साधनहरु प्रयोगविहीन
जोशहरु प्रयोगविहीन
जाँगरहरु प्रयोगविहीन
आँटहरु प्रयोगविहीन
योजनाहरु प्रयोगविहीन
विज्ञहरु प्रयोगविहीन
विज्ञताहरु प्रयोगविहीन
प्रयोग जे छ सत्ताको छ
प्रयोग जे छ शक्तिको छ 
प्रयोग जे छ पहुँचको छ

यो युगको कुनै शान्त किनारमा
विज्ञताका प्रमाणहरु
यसरी नै मुर्दा लडिरहनेछन्
पलायन भत्किरहनेछन्
र, शोकेसििभत्र सजिइरहनेछन्
यसरी नै युगगुगसम्म ।

प्रतिक्रिया