Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

‘काठमाडौं नआई केसीसँग वार्ता हुँदैन’

विहीबार, २८ असार २०७५

काठमाडौं २८ असार / सरकारले जुम्लामा १२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी काठमाडौं नआएसम्म वार्ता टोली नबन्ने बताएको चिकित्सक संघले जनाएको छ । चिकित्सकले भने वार्ता टोली बनेपछि मात्र केसीलाई काठमाडौं आउन आग्रह गर्न सकिने बताएका छन् ।

‘शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसी काठमाडौं नआई वार्ता टोली नबन्ने बताउनुभयो,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘उहाँले जुम्लामा बसेर काठमाडौंमा वार्ता नहुने बताउनुभयो । तर वार्ता टोली नबनेसम्म केसीलाई काठमाडौं आउन आग्रह गर्न नसकिने हामीले बतायौं ।’

शिक्षामन्त्री पोखरेलले भने केसीको स्वास्थ्योपचार सुनिश्चित गर्न आफूले नै चिकित्सक संघका पदाधिकारीलाई बोलाएको बताए । ‘मेरो पहिलो काम डा. केसीको जीवन बचाउने हो,’ उनले भने, ‘मैले उहाँहरूलाई बोलाएर पहिले केसीको स्वास्थ्यस्थिति सुनिश्चित गरौं, त्यसपछि अन्य पाइला चालौं भनेर आग्रह गरें । जुम्लामा आईसीयू पनि छैन । मौसम एकाएक बिग्रियो, स्वास्थ्यमा जटिलता आए के गर्ने ? उहाँलाई जुम्लाभन्दा राम्रो ठाउँमा उपचार गरौं ।’ केसीको स्वास्थ्यस्थिति बुझ्न डाक्टरको टोली जुम्ला पठाउन आफूले आग्रह गरेको तर संघले नमानेको भन्दै पोखरेलले दुखेसो पनि गरे । ‘डा. केसीको जीवन बचाउन चिकित्सक संघले महत्त्वपूर्ण भूमिका नखेलेकामा मलाई दु:ख लागेको छ,’ उनले भने ।

अघिल्ला सरकारले जस्तो लागू हुन नसक्ने कुनै पनि बुँदामा सहमति नगर्ने पनि मन्त्री पोखरेलले बताए । उनले माथेमा प्रतिवेदनको मूल मर्मअनुसार अगाडि बढ्ने दाबी भने गरे । डा. केसी माथेमा प्रतिवेदनको सिफारिसअनुसारै चिकित्सा शिक्षा विधेयक आउनुपर्नेलगायत माग राखी अनशनमा छन् । उक्त विधेयक सरकारले बिहीबार संसद्मा दोस्रोपटक पेस गर्ने तयारी गरेको छ ।

एक घण्टा स्वास्थ्य संस्था बन्द

केसीको आन्दोलनमा सघाउन बुधबार देशभरका स्वास्थ्य संस्थामा चिकित्सकले एक घण्टा सेवा बन्द गरे । चिकित्सा शिक्षा र सेवासँग सम्बन्धित जायज मागप्रति समर्थन जनाउँदै उनीहरूले चिकित्सक संघको आह्वानमा एक घण्टा काम रोकेका हुन् । ‘मुलुकभरिकै चिकित्सकले बुधबार एक घण्टा काम ठप्प पारेर आफ्नो अनुकूलता अनुसार विरोध प्रदर्शन गरेका छन्,’ संघ अध्यक्ष श्रेष्ठले भने, ‘हामी सरकारको निर्णय पर्खंदै छौं, समाधानको पहल नभए इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने स्थिति आउन सक्छ ।’ केसीको जीवनरक्षाका लागि संघले दलका शीर्ष नेताहरूलाई भेटी अपिलसमेत गरिरहेको छ ।

बुधबार संघका पदाधिकारीले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई भेटे । उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा नेताहरू माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायतलाई पनि भेट्ने बताएका छन् ।

कान्तिपुरमा अतुल मिश्रले लेखेका छन् । 

प्रतिक्रिया