स्नातकको लाजमर्दो नतिजा


काठमाडौं २५ साउन / विद्यालयस्तरको परीक्षाको उत्तीर्ण प्रतिशतबारे सधैँ बहस हुन्छ। अझ एसइईको उत्तीर्ण नतिजाबारे राष्ट्रिय बहस नै भयो तर विश्वविद्यालय तहको परिणामबारे भने कहिल्यै बहस हुन्न। जबकि स्नातक र स्ताकोत्तर तहको उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष लाजमर्दो अवस्थामा पुग्न थालेको छ।

विश्वविद्यालय अनुसन्धान, खोज र आविष्कारका प्रमुख स्रोत हुन्। यी क्षेत्रमा कस्ता जनशक्ति उत्पादन भइरहेका छन् भन्ने हेर्न त्रिविको स्तानक र स्नातकोत्तर तहको उत्तीर्ण प्रतिशत हेरे पुग्छ।

तोकिएको शैक्षिक सत्रमा लगातार पास हुने विद्यार्थीको संख्या निकै कम छन् । नियमित विश्वविद्यालय जाने विद्यार्थीहरुसमेत वर्षौवर्ष ब्याकपेपरको चाङ बोकेर बस्छन् । यस्तै केही विद्यार्थीसँग शुक्रवार साप्ताहिकले कुराकानी गरेको थियो। तर उनीहरु लाजले परिचय खुलाउन तयार भएनन् । 

रौतहटकी सुस्मिता शर्मा (नाम परिर्वतन) । उनी स्नातक तह पढ्न २०७० मा काठमाडौँ  आइन् । व्यवस्थापन संकाय लिएर शंकरदेव क्याम्पस भर्ना भएकी उनी अहिलेसम्म स्नातक तह उत्तीर्ण भएकी छैनन् । 

पहिलो र दोस्रो वर्ष उनलाई ५ वटै विषयमा ब्याक लाग्यो । तेस्रो वर्ष ३ वटामा अनि चौथो वर्ष २ वटा विषयमा उनी फेल भइन् । उनी नियमित विश्वविद्यालय जान्छिन् तर उत्तीर्ण हुन हम्मे परेको छ । 

०६८ सालमा शंकरदेव क्याम्पसमा स्तानक तहमा भर्ना भएका कास्कीका श्याम गुरुङ (नाम परिर्वतन) का सहपाठीको विश्वविद्यालयको पढाइ सकिसक्यो । उनी भने अहिले पनि स्तानक तहमै छन्।निजी कम्पनीमा मार्केटिङको काम गरिरहेका उनी ब्याक पेपर खेप्दाखेप्दा दिक्क भइसके । पढाइमा ध्यान दिए पनि उत्तीर्ण हुन नसकिएको उनको गुनासो छ।

‘आफूसँगै पढेका साथीहरुले मास्र्टस सकिसके, आफू भने  ब्याचलर उत्तीर्ण हुन पनि सकिएन,’ उनले भने, ‘के–के न गर्छु भनेर काठमाडौँ आएर पढ्न बसेँ तर न त पास नै हुनसकियो न केही गतिलो जागिर नै पाउन सकियो ।’ 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पढ्ने  ५० प्रतिशत बढी विद्यार्थीको  समस्या यस्तै देखियो । त्रिविको  तीन वर्षको परीक्षा नतिजा केलाउँदा व्यवस्थापन, मानविकी र शिक्षा संकायमा विद्यार्थी  उत्तीर्ण दर ५० प्रतिशतभन्दा कम  छ।
चार वर्षे बिबिएसमा पहिलो र दोस्रो वर्ष पास हुनेहरु ३० प्रतिशत भन्दा  पनि कम छन् । अन्य फ्याकल्टीको पनि समस्या उस्तै । स्नातक तहको अन्तिम वर्ष प्रायः फ्याकल्टीमा प्रयोगात्मक परीक्षा हुने भएकाले उत्तीर्ण प्रतिशत केही राम्रो देखिए पनि ५० प्रतिशत कट्न सकेको छैन ।

उपल्लो तहको परीक्षाको अवस्था यस्तो लाजमर्दो छ तर जिम्मेवार अधिकारी शैक्षिक प्रणाली र शैक्षिक वातावरण भन्दा विद्यार्थीलाई नै दोष दिन्छन्, यस्तो झुर परिणाममा पनि ।

त्रिवि व्यवस्थापन विभागका डिन डिल्लीराज शर्माले सिम्याट (प्रवेश परीक्षा दिएर पढ्ने) लिएर  सञ्चालन  गरेका अन्य कार्यक्रमको नतिजा ८० प्रतिशतभन्दा बढी पास रेट रहेको दाबी गर्छन् । 

उनले खुला रुपमा हुने पढाइमा भर्ना भएका विद्यार्थीमध्ये २५ देखि ३५ प्रतिशतले सबै परीक्षा नदिने समस्याका कारण उत्तीर्ण प्रतिशत कम देखिएको उनले दाबी गरे । 

राम्रो नतिजा नआउनुमा दोष विद्यार्थीको भएको भन्न हिच्किचाएनन् शर्मा । प्रायः  बिबिएस पढ्नेहरु नियमित क्याम्पस नआउने, पढाइ छाडेर  विदेश जानेजस्ता समस्याले समेत उत्तीर्ण प्रतिशत कम देखिएको शर्माले दोहोर्याए ।

‘नियमित कक्षामा उपस्थित हुने हो भने पनि नतिजामा धेरै सुधार हुनसक्छ,’ शर्माले भने, ‘तर नियमित विश्वविद्यालय आउनेहरुको संख्या निकै कम छ ।’

प्राध्यापक नेत्रप्रसाद सुवेदी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातक तहको नतिजा उत्कृष्ट नआउनुमा तीन कारण देख्छन्। विद्यार्थीको अनुपस्थिति, विद्यार्थी र प्राध्यापकबीच समन्वयात्मक सम्बन्धको अभाव, त्रिवि नेतृत्वमा क्षमतावान् मान्छे भन्दा राजनीतिक दलको झण्डा बोकेर हिँडेकाले यस्तो झुर नतिजा आएका प्राध्यापक शर्माले बताए ।

‘मैले पढाएको १८ वर्ष भयो,’ उनले भने, ‘भर्ना भएका विद्यार्थीमध्ये ५० प्रतिशत पनि कक्षामा उपस्थित हुँदैनन् । विद्यार्थी र प्राध्यापकबीच समन्वयात्मक सम्बन्ध नहुनु र प्रश्न सोध्न सक्ने विद्यार्थीको अभावले समेत नतिजा राम्रो हुन सकेको छैन ।’

पढाइभन्दा राजनीति
प्राध्यापक शर्मा विश्वविद्यालयका विद्यार्थीमाझ पढ्ने चाहनाभन्दा पनि  राजनीति गर्ने चाह ज्यादा हुने गरेको बताउँछन् । प्राध्यापक सुवेदी यो रोग विद्यार्थीमा मात्र नभई प्राध्यापकमा पनि उस्तै रहेको बताउँछन् । विश्वविद्यालय गएपछि त जे गरे पनि हुन्छ भन्ने गलत मानसिताको प्रभाव शैक्षिक गुणस्तरमा परेको छ ।

ब्याक पेपर लागे पनि एकै तहको दोस्रो र तेस्रो वर्ष पढ्न पाउने हुँदा अवस्था यति गएगुज्रेको देखिएको हो । विश्वविद्यालयमा पुगेका अधिकांश विद्यार्थी काम पनि गर्ने र पढ्ने पनि हुँदा पढाइमा ज्यादा समय दिन नसक्दा पनि विश्वविद्यालय तहको उत्तीर्ण प्रतिशत दयालाग्दो देखिएको हो ।

प्राध्यापक रवीन्द्र विष्ट उपल्लो शैक्षिक तहको नतिजा राम्रो नहुनुमा प्राध्यापक, विद्यार्थी, राज्य र अभिभावक सबै दोषी रहेको बताउँछन् । 

विद्यार्थीमा सिक्ने उत्कृष्ट चाहना नहुनु, झारा टराइको शिक्षण शैली, शैक्षिक संस्थाप्रति राज्यको बेवास्ता र कलेज गएका सन्तानबारे अभिभावकले चासो नराख्दा नतिजा राम्रो हुन नसकेको उनको विश्लेषण छ ।

शुक्रबार साप्ताहिकमा प्रजु पन्तले लेखेको खबर