Edukhabar
बुधबार, २६ बैशाख २०८१
विचार / विमर्श

नेपालमा समाजवाद उन्मुख शिक्षा

सोमबार, १८ भदौ २०७५

नेपालको संविधान २०७२ को प्रस्तावनाले देशमा ‘बर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गर्दै आर्थिक समानता, समृद्घि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी  र सहभागितामूलक सिद्घान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ संकल्प गरेको छ । त्यही प्रस्तावनाले नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्घ रही समृद्घ समाज निर्माण’ गर्ने लक्ष्य निर्धारण समेत गरेको छ । नेपालको संविधानको धारा ३ ले नेपालको राज्यलाई ‘समाजवाद उन्मुख  संघीय लोकतान्त्रिक गणतन्त्र’ भनेर परिभाषित गरेको छ ।

यस परिप्रेक्ष्यमा नेपालका अबको राज्य प्रणाली लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद हुने कुरा खुला आकासको घाम जत्तिकै छर्लङ्ग छ । राज्य प्रणाली समाजवादी चरित्रको भएपछि अर्थतन्त्र, संस्कृति र शिक्षा पनि समाजवादी चरित्रको हुने कुरा त्यत्तिकै स्पष्ट छ । 

त्यस माथि थप, नेपालको संविधानको राज्यको निर्देशक सिद्घान्त अन्तर्गत धारा ५१ मा रहेको राज्यको नीतिले शिक्षाका सम्वन्धमा निम्न तीनवटा नयाँ आधारभूत नीति अपनाइने कुरा पनि उल्लेख गरेको  छ :

एक, “शिक्षालाई वैज्ञानिक, प्राविधिक, ब्यावसायिक, सीपमूलक, रोजगारमूलक  एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तैयार गर्ने,

दुई, “शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्घि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र ब्यवस्थापन गरी सेवामूलक बनाउने”

तीन, उच्च शिक्षालाई सहज, गुणस्तरीय  र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने 

यसले के देखाएको छ भने नेपालको अबको शिक्षा पहिलेको जस्तो राष्ट्रिय र क्षेत्रीय विकासको आवश्यकता र रोजगारी सित तादाम्यता नभएको प्रकारको हुने छैन । अबको शिक्षा वैज्ञानिक तथा योजनावद्घ हुनेछ । यो रोजगारमूलक अर्थात प्राविधिक र व्याबसायिक खालको हुनेछ । नैतिकवान, राष्ट्रिय हितप्रति समर्पित र विश्वस्तरमा प्रतिस्पर्धा गर्नसक्ने खालको सक्षम र दक्ष जनशक्ति तैयार पार्नु यो शिक्षाको मुख्य ध्येय हुनेछ । यसका लागि राज्यले शिक्षामा गरि आएको लगानी बढाउँदै लग्नेछ र शिक्षा क्षेत्रमा भइरहेको निजी लगानीलाई नियमन र ब्यवस्थापन गर्दै सेवामूलक बनाउनेछ । यसको तात्पर्य  नेपालमा अबको शिक्षामा नाफामूलक निजी क्षेत्र भन्ने कुरा बाँकी रहने छैन । सम्पूर्ण शिक्षा सेवामूलक मात्र हुनेछ  । उच्च शिक्षालाई समेत राज्यले सबै नागरिकको लागि पहुँचयोग्य, सहज उपलब्ध र गुणस्तरीय बनाउँदै क्रमशः निशुल्क पार्र्दै लानेछ ।

यसै क्रममा नेपालको संविधानले शिक्षालाई हरेक नागरिकको मौलिक हक र राज्यको दायित्व बनाएको छ । संविधानको धारा ३१ मा “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने”कुराको ग्यारेण्टी गरिएको छ । यसले सुस्पष्ट रुपमा भनेको छ कि “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क पाउने हक हुनेछ ।” 

संविधानको त्यही धाराले “अपांगता भएका, र आर्थिक रुपले बिपन्न नागरिकलाई”उच्च शिक्षा समेत निशुल्क हुने ब्यवस्था गरेको छ । ठीक त्यस्तै दलितको लागि पनि नेपालको संविधानको धारा ४० ले “प्राथमिक देखि उच्च शिक्षासम्म निशुल्क” हुने ब्यवस्था गरेको छ । 
संविधानका यी जम्मै व्यवस्थाहरूको दही मथनी गर्ने हो भने नेपालको राज्य ब्यवस्था नर्वे, डेनमार्क, फिनलैण्ड, स्वेडन जस्ता स्केडिनेभियन मुलुक अथवा स्विट्जरलैण्ड जस्तो लोकतान्त्रिक समाजवादी चरित्रको तथा लोककल्याणकारी प्रकृतिको भएकोमा अब कुनै दुविधा छैन ।

राज्यको चरित्र लोकतान्त्रिक समाजवादी चरित्रको भएको हुनाले यसले शिक्षालाई पनि त्यही चरित्रमा रुपान्तरित गर्ने अठोट नेपालको संविधानले बोकेको देखिन्छ । त्यही अनुरुपशिक्षामा समता र सामाजिक न्यायको सिद्घान्त अप्नाउँदै शिक्षालाई नेपालको संविधानले हरेक नागरिकको मौलिक अधिकार र राज्यको जिम्मेवारी बनाएको छ । 

यो सिद्घान्तलाई ब्यवहारमा अनुवाद गर्ने सिलसिलामा तत्कालै माध्यमिक तहसम्मको गुणस्तरीय शिक्षामा सबै आयस्तर, भूगोल, जातजाति र लिंगका नागरिकको निशुल्क समतामूलक पहुँच र क्रमशः उच्च शिक्षामा समेत यस्तो पहुँच विस्तार गर्ने मूल नीति नेपालको संविधानले अख्तियार गरेको छ । दलित, शारिरिक तवरले भिन्न क्षमता भएका र आर्थिक रुपले बिपन्न नागरिकको हकमा भने अहिलेदेखि नै सम्पूर्ण तहको शिक्षा निशुल्क गर्ने नीति यसले अवलम्वन गरेको छ । 

नेपालको संविधानमा भएको यस खाले ब्यवस्थाको परिप्रेक्ष्यमा नेपालको नयाँ शिक्षा प्रणालीको मार्गदर्शक दर्शन र सिद्घान्त के हुनेछ त ?  त्यसैको चर्चा हामीले यो छोटो लेखमा गर्न लागेका छौँ । 

नेपालको शिक्षाको मार्ग निर्देशक दर्शन 

नेपालको राज्य प्रणाली नै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादी चरित्रको भएपछि नेपालको शिक्षाको मूल दर्शन पनि त्यही अनुरुपको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादी चरित्रको हुने कुरा स्वतः स्पष्ट छ । 

तर त्यो भनेको के त ? भन्ने प्रश्न फेरि पनि उठ्न सक्छ ।

मेरो ठम्याइमा समाजवादी शिक्षाका मुख्य चारवटा दार्शनिक मान्यताहरू छन् 

- समुदाय मुखी, श्रमप्रेमी उत्पादनशील मानवको निर्माण 

- हरेक व्यक्तिको क्षमता र प्रतिभाको चौतर्फी विस्तार 

- जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक मनुष्यत्वको निर्माण 

- हरेक व्यक्तिको दृष्टिकोण र प्रवृत्तिमा नै प्रगतिशील परिवर्तन 

यी चारवटै दार्शनिक मान्यतालाई एक ठाउँमा ल्याउने हो भने समाजवादी शिक्षाको मुख्य दर्शन भनेको हरेक व्यक्तिमा लुकेर रहेको क्षमता र प्रतिभाको चौतर्फी विकास र विस्तार गर्दै, हरेक बालबालिकालाई जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक बनाउँदै, उनीहरूलाई समुदायमुखी, श्रमप्रेमी तथा हरेक हिसाबले सिर्जनशील र उत्पादनशील बनाउनु हो ; उनीहरूको ज्ञान र सीपमा मात्र होइन, दृष्टिकोण र प्रवृत्तिमा समेत प्रगतिशील परिवर्तन ल्याउनु हो । 

अब हामी यी चारवटै दार्शनिक मान्यता किन महत्वपूर्ण र आवश्यक छन् भन्ने वारे छोटो विश्लेषण गरौँ । 

पहिलो दर्शन समुदायमुखी,श्रमप्रेमी उत्पादनशील मानवको निर्माण  

मानवलाई बदलेको उसको सामुदायिक श्रम, निरन्तर नयाँ नयाँ औजारको आविष्कार–विकास र जीविकाको सामाजिक उत्पादनले हो । श्रम र जीविकाको सामाजिक उत्पादनको प्रक्रियामा नै मानव चेतना र विवेक विकसित भएर मानिस हिजोको ढुंगे हतियार चलाउने जंगली अवस्थाबाट आजको विकसित अवस्थासम्म विकसित भएको हो । मानिसको बढ्दो चेतना र विवेकको मुख्य स्रोत नै श्रम, जीविकाको उत्पादन र सामुदायिकता हो । 

परन्तु हाम्रो शिक्षा भने समुदायमुखी, श्रमप्रेमी, उत्पादनशील मानिसको निर्माण गर्नबाट चुकिरहेको छ । हाम्रो समाजमाआफ्नो ब्यक्तिगत हित मात्र हुन्छ भने समुदायको हितको पुरै उपेक्षा गर्ने चरम ब्यक्तिवादी प्रवृत्ति समाजमा बढ्दो मात्रामा हावी हुँदैछ । सडकमा हिँड्दा ट्राफिक नियम मिचेर आफू मात्र छिटो जान अरु धेरैलाई ट्राफिक जाममा फसाउने मानिसमा ज्यादाजसो शिक्षित मानिस नै देखिन्छन् । शिक्षित मानिसहरू स्वयम् आफ्नो घर वा कोठा मात्र सफा राख्नकै लागि प्लास्टिकमा फोहोर पोको पार्दै अरुका घर अगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्न अग्रसर देखिन्छन् । यो भनेको चरम ब्यक्तिवाद हो । 

त्यसमाथि थप, मानिसहरूमा व्यक्ति जति धेरै शिक्षित भयो उति श्रम गर्न लाज र घिन मान्ने प्रवृत्ति बढ्दो छ । श्रमिक हुनुमा गौरब नमान्ने, श्रम गर्न लाज र घिन मान्ने मात्र होइन, श्रमिकलाई हेला होचो गर्ने र पाएसम्म ठग्ने प्रवृत्ति बढ्दो छ । यस्ता मानिसहरूको भीडबाट समाजवादी समाज त टाढाको कुरो रह्यो, पुँजीवादी समाज समेत ठीकसित चल्न सक्दैन । पुँजीवादी समाज ठीकसित चल्नका लागि पनि त श्रम गर्नमा गौरब गर्ने मान्छे चाहिन्छ ; धेरैको हितमा नै आफ्नो हित देख्ने मान्छे चाहिन्छ । 
अतः समाजवाद उन्मुख शिक्षाको एउटा मुख्य दर्शन समुदायमुखी, श्रमप्रेमी र उच्च उत्पादनशील मान्छे बनाउनुु हो । समुदायको हितलाई सर्वोच्च ठान्ने मानिस नै समुदायमुखी मानिस हो । श्रम गर्नुलाई सम्मानीत काम र आफ्नो पारिवारिक तथा सामाजिक दायित्वका रुपमा हेर्ने र स्वयम् श्रम गर्न अघि सर्ने मानिस नै श्रमप्रेमी मानिस हो । 

दोस्रो दर्शन : हरेक व्यक्तिको क्षमता र प्रतिभाको चौतर्फी विकास 

हरेक मानिस जन्मँदा नै बिभिन्न क्षमता र प्रतिभा सहित जन्मिन्छ । त्यो क्षमता र प्रतिभा नै समग्रतामा उसको व्यक्तित्व हो । कसैको बिशेष क्षमता चित्रकारितामा होला, कसैको नृत्यमा, कसैको प्रतिभा साहित्य सिर्जनामा होला भने कसैकोगायनमा, कसैको क्षमता खेलकुदको खास खास विधामा होला, कसैको प्रविधिमा, कोही वैज्ञानिक अन्वेषणमा बेजोड होलान्, कोही तर्क क्षमतामा । शिक्षाले त्यो क्षमता र प्रतिभालाई कोपिलैमा पहिचान गर्ने र त्यसलाई सम्पूर्णतामा फक्रन फस्टाउन दिने वातावरण र अवसर प्रदान गर्नु पर्छ । यो शिक्षाको आधारभूत काम हो ।अनि मात्र समाजमा ठूलो संख्यामा पिकासो वा देबकोटा, नारायण गोपाल वा अरुणा लामा, आइन्स्टाइन वा बुद्घ, मेसी वा योगमाया पैदा हुने सम्भावना हुन्छ । 

तर हाम्रो शिक्षा त्यस्तो हुन सकेको छैन । बिभिन्न प्रतिभाका कोपिलालाई परिपुर्ण फूलका रुपमा फक्रन नदिएर, अलग अलग क्षमताका बालबालिकालाई एउटै साँचोमा ढालेर नौ–नौ इञ्चको ईट्टा पैदा गर्ने शिक्षा हामी कहाँ प्रचलनमा छ । यस्तो शिक्षाले प्रतिभा पैदा गदैनबरु त्यसैलाई कोपिलैमा चुँड्ने काम मात्र गर्छ । 

अतः समाजवादी शिक्षाको दोस्रो दर्शन हरेक बालबालिकामा अन्तर्निहित क्षमता र प्रतिभाको चौतर्फी विकास हो । 

तेस्रो दर्शनः जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक मनुष्यत्वको निर्माण

मानव समाजमा शिक्षा नै त्यो माध्यम हो जसको सहाराबाट मानव जातिको एउटा पुस्ताले हासिल र विकसित गरेको ज्ञान, सीप, प्रविधि, दर्शन र कलालाई अर्को पुस्तामा हस्तान्तरण गरिन्छ र त्यो पुस्ताले त्यसमा आफ्नो समालोचनात्मक–विवेचनात्मक क्षमता लगाएर थप अन्वेषण, प्रयोग र परिमार्जन गर्दै अर्को पुस्तामा त्यसलाई विकसित स्वरुपमा हस्तान्तरण गर्छ । यही प्रक्रियाबाट मानव जातिको एउटा पुस्ता अघिल्लोभन्दाज्ञान, विज्ञान र सीपमा अझ ज्यादा विकसित र दक्ष हुँदै आएको छ । मानिस जति ज्यादा जागृत, विवेकशील, अन्वेषणकारी र समालोचकहुनसक्यो उति ज्ञान र विज्ञान, सीप र कला पहिलेभन्दा विकसित र परिमार्जित हुन्छ । नयाँ नयाँ कुराको आविष्कार हुन्छ ।

परन्तु हाम्रो शिक्षाले मानिसलाई जागृत र विवेकशील,अन्वेषणकारी र समालोचक हुन सिकाइरहेको देखिँदैन, यसले दब्बु, भक्त र अन्ध अनुसरणकर्ता हुन ज्यादा सिकाइरहेछ । हामी शदियौँदेखि एउटै कुरा सिकाइरहेका छौँ ः ठूलाले भनेपछि मान, शास्त्रमा लेखिएको भनेपछि मान, गुरुले भनेको भनेपछि मान । हामीले बालबालिकालाई यसरी मान्न मात्र सिकाइरहेका छौँ । हामीले हरेक कुरामा के किन र कसरी भनेर प्रश्न गर्नमा र नयाँ कुराको अन्वेषण र स्वयम् प्रयोग गरेर जान्नमा जोड दिइरहेका छैनौँ। हाम्रो शिक्षाले कण्ठस्थ पारेर जस्ताको तस्ता लेख्नमा मात्र ज्यादा जोड दिइरहेछ मानौँ त्यसमा थप्नु पर्ने, सच्याउनु पर्ने, परिमार्जन गर्नुपर्ने केही कुरा बाँकी छैन । यसरी हाम्रो शिक्षा मूलतः घोकन्ते ज्ञान र भक्ति मार्गमा टिकेको देखिन्छ । 

यस्तो शिक्षाले न त ज्ञान र विज्ञानको विकास हुनसक्छ, न यसबाट आविष्कारक मानिस नै पैदा हुन्छ । पश्चिममाबिगत तिन चार शय बर्षमा विश्वमै हलचाल मच्चाउने किसिमको कति धेरै नयाँ आविष्कार भए, हाम्रो पूर्वमा यही अवधिमा एउटै पनि त्यस्तो वैज्ञानिक आविष्कार किन हुन सकेन ? यसको मूल कारण हाम्रो दोषपूर्ण शिक्षामाछ । यस्तो शिक्षा पुरापुर बदल्नु आवश्यक भएको छ । अबको हाम्रो शिक्षाले जागृत र विवेकशील, अन्वेषणकारी र समालोचक मनुष्यत्वको निर्माणमा मुख्य जोड दिनु परेको छ । 

जागृत र विवेकशील मनुष्यत्व भनेको त्यस्तो ब्यँुझेको मानिसको निर्माण हो जसले हरेक कुृरा आफ्नो बुद्घि विवेक लगाएर आफूलाई ठीक लाग्यो भने मात्र मान्छ । अन्वेषणकारी र समालोचक मानिस भनेको त्यस्तो मानिस हो जसले हरेक कुरालाई समालोचनात्मक तथा विवेचनात्मक ढंगले हेर्छ । हरेक कुरा के कारणले ठीक भनेर प्रश्न गर्छ; त्यसमा नपुगेको कुरा आफैले खोजेर हेर्छ र अनुसन्धान गर्छ र बारम्वारको प्रयोगबाट सही साबित भएको कुरा मात्र स्विकार गर्छ ।

अतः समाजवादी शिक्षाको तेस्रो दर्शन जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक मनुष्यत्वको निर्माण हो । 

चौथो दर्शन : हरेक व्यक्तिको दृष्टिकोण र प्रवृत्तिमा नै परिवर्तन

शिक्षाको काम पुरानो सूचना ज्ञानलाई नयाँ बालबालिकामा स्थानान्तरण गर्नु मात्र होइन, हरेक मानिसको संसारलाई र समस्यालाई हेर्ने दृष्टिकोण र प्रवृत्तिमै प्रगतिशील परिवर्तन गर्नु हो ताकि हरेक व्यक्तिले आफ्नो र मानव समुदायको समस्यालाई ठीक ढंगले विश्लेषण गर्न र समाधान गर्न सकोस् । हरेक ब्यक्तिमा सहीमानवीय प्रवृत्ति अरु ज्यादा परिपुर्ण रुपमाविकसित हुन सकोस् । 

दर्शन वा दृुष्टिकोण सही हुनु वा नहुनुले समस्या समाधान हुनु वा नहुनुमा निर्णायक प्रभाव पार्छ । जसरी रोगको गलत डायग्नोसिसबाट रोगको सही उपचार कहिल्यै हुन सक्दैन ठीक त्यसै गरी गलत वा अबैज्ञानिक दृष्टिकोणबाट समस्याको सही समाधान कदापि हुन सक्दैन । यही कारणले बुद्घले हरेक मानिसमा सम्यक दृष्टिकोण हुनुपर्नेमा ठूलो जोड दिएका छन् । समाजवादी दर्शन अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीे दर्शनले पनि हरेक ब्यक्तिमा सही बैज्ञानिक दृष्टिकोण र सही प्रवृुत्ति हुनुपर्ने कुरामा ठूलो जोड दिएको छ । यसले भन्छ कि दर्शनको काम नै संसारलाई बदल्नु हो ताकि यो पहिले भन्दा ज्यादा मानवीय र शोषण–उत्पीडन मुक्त होस् । शिक्षा र दर्शनको काम मानवको अमानवीय प्रवृत्ति बदल्नु हो, मान्छेलाई अरु ज्यादा पूर्ण रुपमा मानवीय बनाउनु हो । 

नेपाल त्यो भूमि हो जहाँ सांख्य दर्शन, बुध्द दर्शन र शैव दर्शन जस्ता विश्वमा हलचल मच्चाउने खालका तिन तिनवटा द्वन्द्ववादी/भौतिकवादी दर्शन पैदा भए । परन्तु त्यस्तो मुलुकलाई यतिबेला दर्शनको दरिद्रता, अन्धविश्वास तथा गलत दृष्टिकोणले नराम्ररी गाँजेको छ । हामीले समातेको गलत र अवैज्ञानिक दृष्टिकोणका कारण हाम्रा समस्या झन् झन जटिल र असाध्य हुँदै गएका छन् । हाम्रो गलत प्रवृत्तिका कारण समाज नैतिक रुपले भ्रष्ट, चरम व्यक्तिवादी र स्वकेन्द्रित हुँदै गएको छ ।

अतः हाम्रै भुमिमा विकसित दर्शनहरू, अन्य पूर्वेली दर्शनहरू र समाजवादी दर्शन अर्थात द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीे दर्शनको ज्ञानले र सामुदायिक नैतिक शिक्षाले अहिलेको पुस्तालाई लैश गर्नु आवश्यक हुन गएको छ । साथ साथै, यतिखेर संसारमा विकसित ज्ञान र विज्ञानको सापेक्षतामा अहिले अस्तित्वमा रहेको दर्शनलाई पनि परिमार्जित, विकसित र प्रगतिशील बनाउनु आवश्यक हुन गएको छ ।यसरी हाम्रो शिक्षाले हरेक ब्यक्तिको दृष्टिकोण र प्रवृत्तिमै लगातार प्रगतिशील परिवर्तन ल्याउनु जरुरी हुन गएको छ । हरेक कुरामा समुदायको हितलाई केन्द्रमा राखेर हेर्ने र जे कुराले आम समुदायको अहित गर्छ त्यसले मेरो हित पनि पक्कै गर्दैन भन्ने प्रवृत्ति हरेक व्यक्तिमा विकसित गर्नु जरुरी भएको छ । 
अतःसमाजवादी शिक्षाको चौथो दर्शन हरेक व्यक्तिको दृष्टिकोण र प्रवृत्तिमा नै प्रगतिशील परिवर्तन हो । 

समाजवाद उन्मुख शिक्षाका मार्ग निर्देशक सिध्दान्तहरू 

पहिलो सिध्दान्त : गुणस्तरीय शिक्षामा हरेक नागरिकको समतामूलक समावेशी पहुँच  

समाजवादी शिक्षाको मुख्य सिध्दान्त नै यो हो कि आयस्तर, बसिरहेको भूगोल, लिंग, र जातीय पृष्ठभूमि जेसुकै होस्, समतामूलक र समावेशी ढंगले राज्यको खर्चमा गुणस्तरीय शिक्षामाहरेक नागरिकको पहुँच सुनिश्चित हुनुपर्छ । कुनै पनि नागरिक गरिब होस् वा धनी, गाउँमा बस्ने होस् वा शहरमा, पुरुष होस् वा महिला, जातीय जन्मका हिसाबले यो होस् वा त्यो, त्यसको पर्वाहबिना सबै नागरिकको लागि समान ढंगले उच्च गुणस्तरको शिक्षा उपलब्ध गराउनु राज्यको दायित्व र व्यक्तिको मौलिक अधिकार हुनुपर्छ ।शिक्षामा समता र सामाजिक न्याय भनेकै यही हो । शिक्षाको यो सिद्घान्तलाई अचेल पुँजीवादी देशहरूले समेत स्विकार्न थालेको देखिन्छ । अमेरिका, बेलायत, नर्वे, फिनर्लैण्ड, स्विट्जरलैण्ड, इजरायल, जापान वा दक्षिण कोरिया जस्ता देशले पनि गुणस्तरीय शिक्षामा हरेक नागरिकको समतामूलक समावेशी पहुँचलाई ब्यवहारिक रुपमा अवलम्वन गर्न थालेका छन् । 

परन्तु नेपालमा भने उल्टो भइरहेछ । यहाँ गरिब, गाउँ र दुर्गममा बस्नेको लागि न्युन गुणस्तरको शिक्षा र सम्पन्न,शहरिया र सुगममा बस्नेको लागि भने उच्च गुणस्तरको शिक्षाको ब्यवस्था छ । एकै टोलबाट वा घरबाट कैयन् छोरीलाई न्युन गुणस्तर भएको ‘सामुदायिक स्कूल’मा पठाइन्छ भने छोरालाई ‘गुणस्तरीय’ भनिने बोर्डिग स्कूलमा । नेपालमा यसरी शिक्षा जस्तो आम नागरिकको आधारभूत आवश्यकताको वस्तुमा समेत चर्को बर्ग बिभेद कायम छ । यो सरासर अन्याय हो ।अतः यसलाई बदल्नु आवश्यक छ ।

गुणस्तरीय शिक्षामा हरेक नागरिकको समतामूलक समावेशी पहुँच भन्ने शिक्षाको पहिलो समाजवादी सिद्घान्तले यसलाई पुरापुर बदल्ने कार्य गर्छ । यो सिद्घान्तले हरेक राज्यलाई शिक्षामा नाफामूलक निजीकरण र ब्यापारीकरणलाई अन्तगर्न निर्देशित गर्छ । यो सिद्घान्त मुताबिक शिक्षा भनेको नाफा लिने र ब्यापार गर्ने बिषय नै होइन । यो त हरेक मुलुकमा राज्यको दायित्व हो । अतः यसले आधारभूत तह तथा माध्यमिक तहसम्मको गुणस्तरीय शिक्षालाई सबै हिसाबले निशुल्क बनाएर र देशको सबै भूगोलमा आवश्यक न्युनतम शैक्षिक गुणस्तरको मापदण्ड भएका विद्यालय र दक्ष शिक्षक पु¥याएर सबै नागरिकको लागि गुणस्तरीय शिक्षामा पहुँच सम्भव बनाउँनु पर्छ भन्ने धारणा अघि सार्छ । । जो उच्च शिक्षाको लागि प्राज्ञिक हिसाबले सक्षम र सबल छन् उनीहरूको निम्ति उच्च शिक्षालाई पनि पनि क्रमवध्द रुपमा निशुल्क तथा त्यो हुन नसकेसम्म सस्तो र सुलभ बनाइनु पर्छ भन्ने कुराको पक्षपोषण गर्छ । 

दोस्रो सिध्दान्त : शिक्षामा राज्यको पहिलो प्राथमिकताको लगानी 

सबै नागरिकको लागि उच्च गुणस्तरको शिक्षा तब मात्र सम्भव हुन्छ जब शिक्षा सबै तहको सरकारको पहिलो प्राथमिकताको लगानी गर्ने ठाउँ बन्छ । शिक्षामा पहिलो प्राथमिकताको लगानी यस कारणले आवश्यक हुन्छ किनकि यसमा गरिने लगानीले एकसाथ थुप्रै कुरामा रुपान्तरण सभव बनाइरहको हुन्छ जस्तो कि गरिबी निवारण, सामाजिक भेदभावको उन्मूलन, स्वास्थ्य चेतनामा अभिवृध्दि, अज्ञानता, अन्धविश्वास र सामाजिक पछौटेपनको अन्त्य, कृषि क्रान्ति र औद्योगिक विकासका चाहिने दक्ष जनशक्तिको विकास, वातावरणीय चेतनाको विकास । अतः शिक्षामा उच्च लगानी भनेको केवल शिक्षा क्षेत्रमा मात्र लगानी भनेर बुझिनु हुँदैन । यो त देशको चौतर्फी विकासमा उच्च लगानी हो । 

यही हुनाले प्रत्येक तहको सरकारले शिक्षामा पहिलो प्राथमिकताको लगानी गर्नुृ जरुरी छ । लगानी भन्नाले खाली आर्थिक लगानी मात्र होइन, जनशक्तिको लगानी, सामाजिक पुँजीको लगानी भनेर समेत बुझिनुपर्छ । तर नेपालमा भने शिक्षामा लगानी बढनुपर्नेमा झन् झन् घटाउँदै लगिएको छ । २०६७/६८ सालमा नेपालको शिक्षामा राज्यले कुल बजेटको १७.१ प्रतिशत हिस्सा लगानी गथ्र्यो भने २०७०/७१मा पुुग्दा यो हिस्सा १५.६ प्रतिशतमा ओर्लियो ; २०७३/७४ मा यो ११.१ प्रतिशतमा झर्यो भने अहिले २०७५/७६ मा यो १०.२ प्रतिशतमा ओरालो लागेको छ । 

गुणस्तरीय शिक्षामा सबैको पहुँच सम्भव बनाउने हो शिक्षामा बजेट झन् झन् बजेट घटाउने यो प्रवृत्ति यहीँ रोकिनु पर्छ । राष्ट्रिय बजेटको कम्तीमा २० देखि २५ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको ८ देखि १० प्रतिशत शिक्षाको लागि छुट्ट्याउने क्रम थालिनु पर्छ ।  

तेश्रो सिध्दान्त : योजनावध्द, उत्पादनमुलक र रोजगारीमुलक शिक्षा  

समाजवाद उन्मुख शिक्षाले देश÷प्रदेश÷स्थानीय तहको मूर्त आवश्यकता सित शिक्षाबाट पैदा हुने जनशक्तिलाई जोड्ने कार्य गर्छ, उत्पादन र रोजगारीसित शिक्षालाई जोड्ने कार्य गर्छ  । 

देशमा कस्तो आर्थिक विकास गर्ने हो ? कुन प्रदेश र गाउँ÷नगरपालिकामा के के कुराको उत्पादन गर्ने हो ? देशलाई, प्रदेशलाई र स्थानीय तहलाई हरेक बर्ष, वा दशकमा वा २०–३० बर्षमा  कुन क्षेत्रमा कति र कस्तो जनशक्ति चाहिने हो ? त्यो आवश्यकतालाई सम्वोधन गर्दै शिक्षाले योजनावध्द रुपमा दक्ष र शिक्षित जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने सिध्दान्त यो सिध्दान्तको चुरो कुरा हो । हरेक कालखण्डमा सबै तहको सरकारले आफ्नो आर्थिक तथा सामाजिक विकास तथा उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर शिक्षा मार्फत योजनावध्द ढंगले शिक्षित र दक्ष जनशक्ति पैदा गर्ने कार्य गरिरहेको हुनुपर्छ । यसो गर्दा राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकाससित शिक्षा घनिष्ठ तवरले जोडिन जान्छ । शिक्षा रोजजगारीमुलक र उत्पादनमुलक हुन जान्छ ।

चौथो सिध्दान्त : जीवनउपयोगी शिक्षामा उच्च प्राथमिकता  

यो भनेको हरेक ब्यक्तिले विद्यालयबाट जुन ज्ञान र सीप सिक्छ त्यो जीवनका हरेक क्षेत्रमा प्रत्यक्ष रुपमा उपयोगमा आउने हुनुपर्छ । शिक्षा सैध्दान्तिक मात्र नभएर ब्यवहारिक पनि हुनुपर्छ रशिक्षाले मानिसलाई ज्ञान र सीप मात्र दिने होइन, शारीरिक,मानसिक र आत्मिक हिसाबले समेत स्वस्थ बनाउनु पर्छ भन्ने यो सिद्घान्तको सार हो । 

जीवनउपयोगी शिक्षामा उच्च प्राथमिकताको यो सिध्दान्तलाई ब्यवहारमा अनुवाद गर्ने हो भने एकजना ब्यक्तिले आधारभूत शिक्षा पास गर्दासम्म उसमा अन्तर्निहित प्रतिभा र क्षमताको पहिचान भएर त्यो विकसित गराई सकिएको हुनुपर्छ । गणित, विज्ञान, भूगोल/इतिहास, सामाजिक शिक्षा, सामुदायिक नैतिक शिक्षा, स्वास्थ्य शिक्षा जस्ता मुख्य मुख्य बिषय पनि उसले प्रत्यक्ष जीवनमा उपयोगमा आउने गरी सिक्न पाएको हुनुपर्छ । समुदाय र विश्वसित सम्वादका लागिउसले स्थानीय/राष्ट्रिय/अन्तर्राष्ट्रिय भाषाहरू सिकेको हुनुपर्छ भने स्वावलम्वी हुनका लागि थुप्रै स्वावलम्वी सीपहरू सिकि सकेको हुनुपर्छ,जस्तो कि ट्राफिक नियम, घरको ससानो प्लम्विङ गर्ने, विद्युत तथा अन्य मर्मत गर्ने, नक्सा बनाउने र पढ्ने, पौडी खेल्ने, रुख चढ्ने, अरुसित कसरी सम्वाद गर्ने, खाना पकाउने आदि । शारीरिक र मानसिक रुपले स्वस्थ हुन उसले योगाभ्यास, र ध्यान जस्ता विधि पनि सिकिसकेको हुनुपर्छ ।

त्यस्तै, कुनै पनि ब्यक्तिले माध्यमिक शिक्षा पास गर्दासम्म त्यो भन्दा उन्नत जीवन उपयोगी ज्ञान र सीप हासिल गरेर मध्यम स्तरीय दक्ष जनशक्ति भइसकेको हुुनुपर्छ । उसले कुनै न कुनै रोजगारी मुलक अथवा उत्पादन मुलक सीप सिकीसकेको हुनुपर्छ  वा उच्च शिक्षाको लागि प्राज्ञिक सबलता हासिल गरिसकेको हुनुपर्छ । अनि उच्च शिक्षा हासिल गर्दासम्म हरेक नागरिक देशको लागि आवश्यक कुनै खास बिषयको अन्तर्राष्ट्रिय स्तरको बिषय विज्ञ तथा दक्ष अनुसन्धानकर्ता भइसकेको हुनुपर्छ । उसले समुदायसित मिलेर काम गर्ने सीप सिकेको हुनुपर्छ ।

पाँचौँ  सिध्दान्त : औपचारिक शिक्षासित अनौपचारिक शिक्षाको सम्वाद र अन्तर सम्वन्ध 

यो भनेको विद्यालय सित बाहिरी दुनियाँ हमेशा जोडिने गर्नुपर्छ र औपचारिक शिक्षाले अनौपचारिक शिक्षासित निरन्तर सम्वाद र अन्तक्र्रिया गर्नुपर्छ भन्ने हो । 

यो सिध्दान्त अनुसार खालि डिग्रीहोल्डर शिक्षक र प्राध्यापक सित मात्र ज्ञान र सीप हुने होइन, ज्ञान र सीपको भण्डार विद्यार्थी स्वयम् सित र कक्षा कोठा बाहिर पनि हुनसक्छ  । यो सिध्दान्त मुताबिक शिक्षक भनेको ज्ञानको सहयोगी र पथ प्रदर्शक मात्र हो ।  उसले विद्यार्थी स्वयम्मा ज्ञानको भोक जगाई दिनुपर्छ, उसले रहेको क्षमताको वोध गराइ दिनुपर्छ र मुख्य ज्ञानको खोजी विद्यार्थी स्वयम्ले गर्नुपर्छ । उसलाई ज्ञानको खोजी कसरी गर्ने भन्ने बारे मात्र शिक्षकले सिकाउनु पर्छ र खोजी गर्न सघाउनु पर्छ । 

यो सिद्घान्त अनुसार शिक्षालयमा दिइने औपचारिक शिक्षा मात्र महत्वपूर्ण हुने होइन, हज्जारौँ बर्षको श्रम, अनुभव र रैथाने परम्परागत ज्ञानमा आधारित अनौपचारिक शिक्षा पनि ज्ञान र सीपको विकासको लागि त्यत्तिकै महत्वपूर्ण हुन्छ । अतः औपचारिक शिक्षालाई अनौपचारिक शिक्षासित अन्योन्याश्रित ढंगले जोड्नु आवश्यक छ । यसका लागि औपचारिक विद्यालयका शिक्षक विद्यार्थीले कक्षाकोठा बाहिरका अनौपचारिक क्षेत्रका अनुभवी ब्यक्ति, अघिल्लो पुस्ताका मानिसहरू, उच्च शीपयुक्त श्रमिक, सफल किसान वा अन्य बिषयका विज्ञ सित लगातार सम्वाद, सम्पर्क अन्तक्र्रिया गरिरहनु पर्छ  । उनीहरूलाई समय समयमा औपचारिक विद्यालयमा प्रस्तुतिका लागि बोलाइ रहनु पर्छ र उनीहरूको अनुभव ध्यान दिएर सुन्नुपर्छ । अनौपचारिक क्षेत्रको ज्ञान र सीपलाई खोज अनुृसन्धान गरेर औेपचारिक शिक्षा भित्र भित्र्याउनु पर्छ र त्यसलाई सार्वजनिक प्रकाशनमा ल्याउनु पर्छ । 

यो सिध्दान्तको एउटा महत्वपूर्ण कुरो के हो भने ज्ञान र अध्ययन भनेको कहिल्यै सकिने काम होइन, यो जीवनभर निरन्तर चलिरहने प्रक्रिया हो । कक्षा कोठाको औपचारिक पढाइ सकिसकेपछि पनि र प्रमाणपत्र हासिल गरिसकेपछि पनि आफ्नो ज्ञान र सीपलाई निरन्तर अपडेट गरिराख्नु पर्ने हुन्छ । यसका लागि सामुदायिक अध्ययन केन्द्र, वयस्क शिक्षा, खुल्ला विद्यालय, मेडिया शिक्षा, दूर शिक्षा र औपचारिक शिक्षापछिको शिक्षाको ब्यवस्था राज्यले गर्नुेपर्ने हुन्छ । त्यसलाई औपचारिक शिक्षाले नियमित परीक्षण गरेर आधिकारिक मान्यता दिने ब्यवस्था समेत गर्नुपर्ने हुन्छ । 

छैठौँ सिध्दान्त : विविधताको सम्मान र बहुभाषिक नीति 

विविधतामा एकता, समतार समावेशीता समाजवादको मुख्य सिध्दान्त हो । यही हुनाले समाजवादी शिक्षाले जहिले पनि आफूसरह अरुको संस्कृति, भाषा वा अन्य खालको अस्तित्वलाई समतामूलक ढंगले स्विकार गर्न र त्यसलाई सम्मान गर्न सिकाउँछ । यसले विविधताको सम्मान गर्न सिकाउँछ चाहे त्यो भाषाको क्षेत्रमा होस् वा संस्कृतिका क्षेत्रमा  । अतः विश्वभरि नै समाजवादी शिक्षाले बहुभाषिक नीति अपनाउन भन्छ । अहिले त पुँजीवादले पनि समाजवादको विविधतामा एकता, समता  र समावेशीताको सिध्दान्तलाई अपनाउन थालिसक्यो । यस सम्वन्धमा विश्वभरि नै सबैको मुख एउटै भइसक्यो । 

नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । यस्तो मुलुकमा देशमा राष्ट्रिय एकता अभिवृध्दि गर्ने र दिगो शान्ति कायम गर्ने हो भने समाजवादी शिक्षाले विविधताको सम्मान गर्न सिकाउनु पर्छ । हरेक विद्यार्थीलाई आधारभूत शिक्षा र माध्यमिक शिक्षा प्रदान गर्दादेखि नै बहुभाषिक नीति अप्नाउनु सिकाउनु पर्छ । प्रत्येक विद्यार्थीले आफ्नो प्रदेशमा बाहुल्यतामा भएका मुख्य स्थानीय भाषाहरू, राष्ट्रिय सम्पर्कको भाषा र अन्तर्राष्ट्रिय सम्पर्कको भाषा अनिवार्य रुपमा सिकिसकेको हुनुपर्ने ब्यवस्था गर्नु पर्छ  ।

सातौँ सिध्दान्त : बुझाइ प्रधान, अन्वेषण प्रधान, ब्यवहार प्रधान परीक्षा प्रणाली 

समाजवादको मुख्य दर्शन–जे गर्ने थाहा पाएर गर्ने, बुझेर गर्ने जागृत मानिसको निर्माण हो । यसका लागि घोकेर कण्ठ पार्ने र कपी पेस्ट मात्र गर्न सक्ने यन्त्र मानव होइन, हरेक कुरा बुझेर, आफैले प्रयोगमा ल्याएर, आफूले त्यसमा नयाँ कुरा खोजेर थप्न सक्ने सिर्जनात्मक र आलोचक मानिसको आवश्यकता पर्दछ । अतः समाजवाद उन्मुख परीक्षा प्रणालीले हरेक विद्यार्थीले कण्ठ पारेर भन्न र लेख्न सक्छ कि सक्दैन भन्ने आधारमा होइन, सम्वन्धित बिषयलाई विद्यार्थीले कति राम्ररी बुझेको छ ? बुझेको सिध्दान्तलाई ब्यवहारमा कत्तिको सिर्जनात्मक ढंगले अनुवाद गर्न सक्छ ? उसले त्यो बिषयमा प्रश्न गरेर, आफूले खोजेर अन्वेषण गरेर के नयाँ कुरो थप्न सकेको छ ? यी कुराको आधारमा परीक्षामा अधिक अंक पाउने र उत्तीर्ण हुने बुझाइ प्रधान, अन्वेषण प्रधान र ब्यवहारप्रधान नयाँ परीक्षाको  ब्यवस्था गर्नुपर्छ । अनि मात्र समाजमा ज्ञान र विज्ञानको विकास सम्भव हुन्छ । 

यसका लागि खालि लिखित परीक्षाका आधारमा मात्र परीक्षा पास हुने हालको ब्यवस्थाको खारेजी हुनुपर्ने हुन्छ । लिखित परीक्षाको साथ साथै, बुझाइको र सिर्जनात्मक ब्यवहारिक प्रयोगको प्रस्तुतिकरण, आम्ने साम्ने अन्तर्वार्ता, निवन्ध लेखन, सेमीनार, सामुहिक कार्य, नयाँ वस्तुको खोजीको आधारमा अंक पाउने र पास हुने नयाँ सर्वाङ्गीण बुुझाइ प्रधान, खोजी प्रधान र ब्यवहार प्रधान परीक्षा प्रणाली समाजवाद उन्मुख  शिक्षा प्रणालीले अपनाउनु पर्छ । परीक्षा एकैचोटि शैक्षिक बर्षको अन्तमा होइन, निरन्तर चलिरहनु पर्छ ।

श्रेष्ठ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य हुन् । 

प्रतिक्रिया