Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

जनकपुरमा खुल्यो मुस्लिम महिला विद्यालय

मंगलबार, ०९ असोज २०७५

काठमाडौं ९ असोज  / मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा मुस्लिम महिला विद्यालयको उद्घाटन गरेका छन्। मुस्लिम समुदायकै लगानीमा जनकपुर उपमहानगरपालिका–२३ बेलामा स्थापित ‘जामिया हजरत आसिया सिद्दिकिया इन्स्टिच्युट’को मुख्यमन्त्री राउतले सोमबार उद्घाटन गरेका हुन्।

अन्नपूर्ण पोष्टका अनुसार मुख्यमन्त्री राउतले यस्ता विद्यालयले धार्मिक तथा महिला शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। ‘शिक्षामा पछाडि परेको मुस्लिम समुदायका बालिकाका लागि समाजकै लगानीमा महिला विद्यालय खोल्नु प्रशंसनी कार्य हो’, उनले भने ।

छोरीहरूको शिक्षा अभिवृद्धिका लागि हुने कार्यले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ योजनालाई सहयोगसमेत पुग्ने विश्वास उनले व्यक्त गरे। प्रदेश सरकारले छोरीहरूको शिक्षामा अभिवृद्धि मात्र नभई रोजगारीका लागि विशेष योजना ल्याइरहेको उल्लेख गर्दै उनले छोरी शिक्षालाई प्राथमिकतामा राख्न अभिभावकलाई आग्रह गरे।

इन्स्टिच्युटका संस्थापक मो. अलिमुद्दिन नुरीले विद्यालयले २ सय बालिकालाई आवासीय सुविधासहित ३ सय बालिकालाई उर्दू, हिन्दी र अंग्रेजीमा शिक्षा दिइने जानकारी दिए। प्राविधिक शिक्षामा सिलाइकटाइ र कम्प्युटर शिक्षा दिएर बालिकालाई गुणस्तरीय जीवनयापन सीप सिकाइने नुरीको भनाइ थियो।

विद्यालयलाई माध्यमिक तहसम्मको बनाउने योजना रहेको सुनाउँदै उनले सरकारी सहयोगका लागि मुख्यमन्त्रीसँग आग्रह गरेका थिए। विद्यालयको भौतिक संरचना सात कट्टा जग्गामा निर्माण भएको छ।

‘निजी विद्यालयलाई हेला’ 

निजी विद्यालयलाई प्रदेश सरकारले हेला गरेको गुनासो सरोकारवालाले गरेका छन्। निजी विद्यालयको स्तरोन्नति, शैक्षिक गुणस्तरमा सुधार वा अन्य कुनै पनि विषयमा प्रदेश सरकारले चासो नदिएको विद्यालय सञ्चालकको भनाइ छ। 

जनकपुरस्थित मोनास्टिक इङ्लिस बोर्डिङले सोमबार आयोजना गरेको विद्यार्थीको वृत्तिविकाससम्बन्धी कार्यक्रम उद्घाटनमा वक्ताले यस्तो गुनासो गरेका हुन्। एन–प्याब्सन धनुषाका जिल्ला अध्यक्ष विश्वलाल सिंहले प्रदेश सरकारबाट अहिलेसम्म निजी तथा आवासीय विद्यालय हेलामै परेको बताए।

‘प्रदेशको शिक्षा सुधारका लागि निजी विद्यालयको पनि योगदान छ’, अध्यक्ष सिंहले भने, ‘निजी विद्यालयका तर्फबाट गलत काम भएको छ भने त्यसको अनुगमन प्रदेश सरकारले गर्नुपर्ने हो। तर, प्रदेश सरकार गठन भएपछि आयोजना भएका शिक्षा दिवसको कार्यक्रम होस् वा बाल दिवस सबैमा सरकारी विद्यालयलाई मात्र सहभागी गराउने परिपाटीले हाम्रो आवश्यकता नै नरहेको महसुस भएको छ।’ प्रदेशको समृद्धिका लागि निजी विद्यालयको लगानीले पनि ठूलो योगदान पुर्‍याइरहेको उल्लेख गर्दै उनले त्यस लगानीको कदर गरिदिन प्रदेश सरकारसँग अनुरोध गरे।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले भने प्रदेश २ मा शिक्षाको उन्नतिका लागि निजी विद्यालयको अहम भूमिका रहेको बताए। ‘निजी विद्यालयले पुर्‍याएको योगदान सराहनीय छ’, मन्त्री साहले भने, ‘तर, प्रदेशमा हामीले मातृभाषाको लडाइँ पनि लडेका छौं। त्यसैले अंग्रेजीका साथै मातृभाषालाई पनि पठनपाठनमा समावेश गराइए अझ बढी उपयोगी हुन्थ्यो।’

प्रदेश २ बाट लोकसेवामा उत्तीर्ण भई सरकारी जागिरको अवसर पाउनेको संख्यामा कमी आएको हुँदा त्यसतर्फ पनि निजी विद्यालय सञ्चालकको ध्यान जान आवश्यक रहेको उनको भनाइ थियो। ‘अंग्रेजी सिकाउने प्रयासमा राष्ट्रभाषा र मातृभाषामाथिको नियन्त्रण कमजोर भएर जाने हुनाले निजीका विद्यार्थी लोकसेवामा अब्बल हुन सकिराखेका छैनन्’, उनले भने।

दुई दिवसीय कार्यक्रममा विभिन्न निजी विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन्।

अन्नपूर्ण पोष्टमा मनिका झाले लेखेको खबर । 

प्रतिक्रिया