विद्यालय जान पाउँदैनन् टोपेहरु


काठमाडौं १८ कात्तिक / उमेर भर्खर पाँच वर्ष । पढाइ सुरु गर्नुपर्ने बेला, तर यो उमेरमा टोपे (गुम्बाको पूजारी) बन्न गुम्बामा जानुपर्ने । यो उनीहरुको रहर नभए बाध्यता हो । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको चलन हो यो । 

आठ वर्षको उमेरमा गुम्बामा टोपे हुन पस्नुभएका २१ वर्षीय कन्जोक राङ्डोला तामाङ अहिलेसम्मको आफ्नो समय गुम्बामै बितेको बताउनुुहुन्छ । बौद्ध ज्ञान बाहेक अन्य पढाइलेखाइ गर्न नपाउनुभएका तामाङलाई अहिलेको प्रविधिबारे खासै जानकारी छैन् । गुम्बाको बसाइप्रति भने उहाँ सन्तुष्ट नै हुनुहुन्छ । 

गाउँको चलनअनुसार घरको कान्छो छोराले गुम्बामा टोपे बस्नैपर्ने नियमअनुसार आफू बसी रहेको तामाङले बताउनुुभयो । बाहिरी संसारबाट बिमुख लिमी हल्जी गुम्बाका टोपे तामाङलाई अहिले भने दिग्दारी लाग्न थालेको छ । 

उहाँका साथीसङ्गीहरू अहिलो काठमाडौं र अमेरिकामा अध्ययन गरिरहेका छन् । साथीसङ्गीहरू जस्तै आधुनिक शिक्षा लिन नपाएकोमा उहाँलाई खिन्न लाग्थ्यो तर गुम्बामा गरिने बौद्ध धर्मको ध्यानले उहाँलाई अहिले भने अरु कुरा केही होइन भन्ने लाग्न थालेको छ । घर परिवारबाट टाढा भएपछि सबै कुरा गुम्बाका टोपे नै हो भन्ने लागेको छ । अब उहाँले घरजम पनि नगर्ने सोच बनाई सक्नुभएको छ ।

कन्जोक राङ्डोला तामाङ लिमीको हल्जी गुम्बामा बस्ने नमुना युवा हुन् । उहाँ जस्तै हाल गुम्बामा ३५ जना ११ वर्ष उमेर समूहदेखि ३९ वर्षका तन्नेरी टोपेको रुपमा बसी रहेको नाम्खा–६, लिमीका खेण्डाप तामाङले जानकारी दिनुभयो । 

चलन पनि कस्तो ? सबैभन्दा पुरानो घरबाट कान्छो छोरालाई, लिमी बस्दै आएको घरपरिवारबाट जेठो छोरालाई, एकल महिलाका रूपमा रहेका घरपरिवारवाट साइलो छोरालाई टोपेका रूपमा पठाउनै पर्ने बाध्यकारी नियम भएको उहाँले बताउनुुभयो । लिमीका गुम्बामा टोपे पठाउने यो बाध्यकारी नियम नै हो । योभन्दा बाहिर कोही पनि जान सक्दैनन् । यद्यपि एकजना मात्र छोरा भएका घरले भने यसरी बाध्य भएर टोपे पठाउनुुपर्दैन । हल्जी गुम्बामा एघार सय वर्ष पुरानो मूर्ति रहेको छ । यही कारणले पनि गुम्बाप्रति लिमी हल्जीका बासिन्दा परम्परागत संस्कारप्रति प्रतिवद्ध रहेको स्थानीयको भनाइ छ ।
गुम्बामा छिरेका टोपेहरूले विद्यालय जान मात्र होइन, अधिकांशले घर गृहस्थीसमेत त्याग्छन् ।

गोरखापत्रमा राजन रावतले लेखेका छन् ।