Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

उत्कृष्ट नतिजाको अपेक्षा : भैंसीलाई पराल मात्रै खुवाएर बढी दुधको आशा जस्तै !

मंगलबार, १७ पुस २०७५

विद्यार्थी भन्नाले नियमित रुपले विद्याको आर्जनमा लागिरहने व्यक्ति, शिक्षण संस्थामा  अध्ययनरत व्यक्ति, छात्र छात्रा, शिष्यलाई जनाउने शब्द कोषमा अर्थ छ । त्यसैले विद्यार्थीको काम भनेको नै अध्ययन गर्नु हो । तर हिजो आजका विद्यार्थी अध्ययनमा मन भित्रैबाट रुची राख्दैनन् भन्ने गुनासो धेरै सुनिन्छ । यो गुनासो तर्फ आम रुपमा चर्चा र विश्लेषण भएको देखिदैंन । 

पठन पाठनमा विद्यार्थीको रुचि घट्र नतिजा कमजोर आयो भन्ने विषय मात्र उठान भएको पाइन्छ । समाजको विकास क्रम, सूचना तथा प्रविधिको तीव्र विकास, विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका नयाँ नयाँ आविष्कारहरुले प्रत्येक व्यक्तिलाई चाहेर वा नचाहेर त्यसतर्फ आकर्षित गरिरहेको छ ।

आजको एक्काइसौ शताव्दीको विद्यार्थी न त ऋषि कुल, गुरुकुल शिक्षाको जस्तो छ, न त हरेक किसिमले अभावमा बाँधेका गुरु र चेला जस्ता नै छन् । हरेक कुराहरु परिवर्तन भएका छन् । हामीले चलाएका कम्प्युटर, फोन, टेलिभिजन, घडी सबैमा आमूल परिवर्तन आइसक्यो तर खोइ त पुस्तक परिवर्तन भएको ? 

इण्टरनेट, एण्ड्रोइट तथा ओएस फोन, ग्याजेट, ल्यापटप, ट्याब, स्मार्ट टेलिभिजन, स्मार्ट घडीमा अभ्यस्त भइसकेका एवम् हुने क्रममा रहेका बालबालिकालाई पुरानै शैलीको छपाईमा आधारित पुस्तकले आकर्षण गर्न नसकेको तर्फ ध्यान जानु पर्दछ । हरेक विषयवस्तुहरु गुगलमा सर्च गरेर हेर्ने र अध्ययन गर्ने, गृहकार्य दिने र बुझाउने कार्य विद्यालयको एप्स मार्फत हुने, विभिन्न क्षेत्रमा अनलाइन मार्फत फाराम भर्न पाइने, होटल तथा यातायातको टिकट बुकिङ गर्न मिल्ने, अनलाइन सपिङ गर्ने, अनलाइन सञ्चार तथा सामाजिक सञ्जालमा अभ्यस्त भएका समाजमा हुर्केका बालबालिकाहरुको लागि सोही अनुसारको पाठ्यपुस्तक वा पाठ्य सामग्री व्यवस्थापन गर्न नसक्नुले अध्ययनमा विद्यार्थीको  रुची घट्दै गएको सत्य हो । 

हरेक मानिसले देखेको र अध्ययन गरेको कुरा मष्तिष्कमा चित्र वा भिडियोको रुपमा स्टोर गरेको हुन्छ । हाम्रो हालको पाठ्यसामग्रीहरु चित्र र भिडियोको रुपमा सहजै उपलव्ध छन् त ? अथवा विषयगत पुस्तकहरु ई–पुस्तकालयमा वा एप्स मार्फत अध्ययन गर्न सकिन्छ त ? पक्कै पनि छैन । निजी विद्यालयहरुमा केही रङ्गीन पुस्तकहरु प्रयोग गरेका तथा नगन्य रुपमा केहीले इ–क्लास र एप्सको माध्यमद्वारा शिक्षण सहजीकरण प्रक्रिया सञ्चालन गर्ने गरेको सुन्नमा आएता पनि सामुदायिक विद्यालयहरुको अवस्था दयनीय छ । 

पराम्परागत शैलीको पुस्तक त्यो पनि समयमा उपलव्ध हुन नसक्नुले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई ती पुस्तकले आकर्षण गर्न सकि रहेको छैन । निजी विद्यालयमा अभिभावकको जागरुकता, चर्काे फी तिर्नु, विद्यालय र शिक्षकको व्यावसायिक सक्रियताको चेपुवा आदिमा परेर विद्यार्थी अध्ययन गर्न बाध्य हुन्छन् । तर सामुदायिक विद्यालयका विद्यार्थी यस मामलामा स्वतन्त्र भएकै कारण पनि अध्ययनमा रुची राख्दैनन् । एउटा भर्खर बोली फुटेका बालबालिकाहरुलाई यदि मोबाइल फोन वा ट्याव दिने हो भने उसले त्यस भित्रको गेमहरु आइकोनहरु मार्फत सहजै खोल्न र खेल्न आपैm सिकिहाल्छन् । त्यस्तै यदि विद्यार्थीको पाठ्यसामग्रीहरु पनि यस्तै एप्स तथा इलेक्ट्रोनिक माध्यमबाट सजिलै प्राप्त गर्न  सकिने र अफलाइनमा नै अध्ययन गर्न मिल्ने गरी चित्र वा अडियो भिडियोको रुपमा उपलव्ध हुने हो भने पक्कै पनि त्यसले विद्यार्थीको ध्यान आकर्षण गराउन सकिन्छ । 

शिक्षा मन्त्रालय र सो मातहातका विभिन्न निकायहरुले कहिले काही इलेक्ट्रोनिक पठन सामग्रीहरु तयार गर्न कोशिस गरेको भएता पनि वास्तविक अर्थमा सफलता हासिल गर्न सकेको देखिदैन । अडियो भिडियो सामग्रीहरु, भर्चुअल क्लासरुमका कुराहरु यदाकदा सुनिन आएता पनि हालसम्म व्यवहारमा प्रभावकारी कार्यान्वयन भएको पाइदैन । यस्ता इलेक्ट्रोनिक अध्ययन सामग्रीहरुको निर्माण तथा सर्वसुलभ रुपमा उपलव्ध हुने व्यवस्था गर्न सकेमा विद्यार्थीलाई अध्ययन प्रति रुची जगाउन सकिन्छ । नत्र गुणस्तर, सिकाइ उपलव्धी, उत्कृष्ट नतिजाको आशा राख्नु भनेको भैंसीलाई पराल मात्र खुवाएर बढी दुधको आशा गर्नु सिवाय केही हुदैन । 

लामा पाटन माध्यमिक विद्यालय, पाटनढोका, ललितपुरका शिक्षक हुन् । 

प्रतिक्रिया