Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल

शुक्रबार, ०१ चैत्र २०७५

काठमाडौं १ चैत / सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट वञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । 

पटकपटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १०औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्मको अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध विद्यार्थीले २४ असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल मेडिकल काउन्सिल र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा हस्ताक्षरसहित न्याय माग्दै उजुरी दिएका थिए ।

अतिरिक्त शुल्क नदिए परीक्षा फर्म नै भर्न नदिने कलेजको चेतावनी दिएकाले हस्तक्षेपका लागि जिल्ला प्रशासन गुहार्नुपरेको उनीहरूको भनाइ छ । तर, समस्या समाधान गर्नुको सट्टा कलेज सञ्चालकहरूले उजुरी दिने विद्यार्थीका नाममा मात्र चासो राखेका थिए । ‘कलेज सञ्चालकहरू उजुरी गर्ने विद्यार्थीको नाम खोज्दै आएका थिए, विद्यार्थीले नाम नलेखी हस्ताक्षर मात्र गरेका थिए, नामै भए पनि हामीले दिने कुरै भएन,’ ललितपुर जिल्ला प्रशासनका नासु तेजप्रसाद दाहालले भने ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रहरीसहितको टोली कलेज पुगेर छलफल गरेपछि कलेजले विद्यार्थीसँग अतिरिक्त रकम नलिने सहमति भएको थियो । त्यही आधारमा विद्यार्थीले आन्तरिक परीक्षा दिन पनि पाए । तर, उजुरी दिने विद्यार्थी छानीछानी कलेजले फेल गराएको छ । कापी जाँच्ने शिक्षकले पास गराइसकेका विद्यार्थीलाई कलेज सञ्चालकले फेल गराएका थिए । यसरी विद्यार्थीमाथि अन्याय भएको भन्दै दुई प्राध्यापक डा. सुदीप आचार्य र डा. अमिता प्रधानले राजीनामा दिएका छन् । 

‘किस्ट कलेजले बढी शुल्क लिन खोजेपछि विद्यार्थी उजुरी दिन जिल्ला प्रशासन कार्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम पुगेका रहेछन् । उजुरी दिने विद्यार्थी पहिचान गरी कलेजले परीक्षामा फेल गराएको भेटियो,’ काउन्सिलका अधिकारीले भने । कलेजको आन्तरिक परीक्षामा फेल भएका विद्यार्थीले काउन्सिलमा उजुरी गरेका छन् । 

मेडिकल काउन्सिल स्रोतका अनुसार आन्तरिक परीक्षाको नम्बर शिक्षकले दिनुपर्नेमा किस्टमा सञ्चालकले दिएको खुलेको छ । उजुरी दिने विद्यार्थी पहिचान गरेर सञ्चालक आशिष थापालगायतले नै फेल हुनेगरी नम्बर दिएको काउन्सिल स्रोतले जनाएको छ । कलेजले मंसिर अन्तिम र पुसको सुरुतिर पहिलो वर्षको आन्तरिक परीक्षा लिएको थियो । त्यसको १५–२० दिनको अन्तरमा दोस्रो वर्ष र माघको अन्तिम र फागुनको सुरुतिर तेस्रो वर्षको आन्तरिक परीक्षा लिएको थियो । विश्वविद्यालयले लिने अन्तिम परीक्षा पनि फागुन अन्तिम वा चैतको सुरुतिर हुन्छ । 

मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बास्कोटा भन्छन्–विश्वविद्यालयले कापी नजाँचेसम्म कलेजको बदमासी रोकिँदैन

ललितपुरका सिडिओ प्रेमराज जोशी भन्छन्–प्रहरीसहित कलेजमै गएर थप रकम नलिने निर्णय गराएका 
हौँ, त्यही कारण विद्यार्थी फेल गराएको भए कारबाही हुन्छ

डाक्टर बन्न कलेज हिँडेका ६९ विद्यार्थी न्याय माग्दै प्रशासनको ढोकामा

नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् । 

प्रतिक्रिया