Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी तर्साउँदै मेडिकल कलेज

आइतबार, ०३ चैत्र २०७५

काठमाडौं ३ चैत / सरकारले तोकेभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले गण्डकी मेडिकल कलेजमा लगाएको ताला ४६ दिनपछि शनिबार खोलेका छन् । नयाँ पत्रिकाका अनुसार उच्च अदालत पोखराले कलेज सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खोलिदिएपछि न्याय पाउने विश्वासमा विद्यार्थीले कलेज र अस्पतालमा लगाएको ताला खोलेका हुन् । ताला खुले पनि कलेज र अस्पताल सञ्चालन भने अनिश्चित छ । 

‘न्यायालयको आदेशलाई सम्मान गर्दै न्याय पाउने विश्वासमा हामीले ताला खोलेका छौँ । यसको मतलब हाम्रो आन्दोलन टुंगियो भन्ने होइन,’ विद्यार्थी अगुवा अनित सिन्हाले नयाँ पत्रिकासँग भने, ‘हामी लाखौँ खर्च गरेर पढ्न आएका हौँ, यो वातावरण बनाउने जिम्मा सरकार र कलेज प्रशासनको हो ।’

गैरकानुनी शुल्कको विरोध गरेर आन्दोलनमा उत्रिएका विद्यार्थीलाई सबक सिकाउने भन्दै कलेज प्रशासनले धम्की दिँदै आएको थियो । त्यसैले विद्यार्थीहरू न्यायिक लडाइँबाट अगाडि बढ्न तयार भए पनि कलेज प्रशासनले ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरिरहेको छ । 

अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठलगायत फरार छन् भने दोस्रो तहका व्यवस्थापक कलेज र अस्पताल जिम्मा लिएर सञ्चालन गर्न तयार छैनन् । बिहीबार अदालतको आदेश आएपछि शुक्रबारै ताला खोल्न विद्यार्थी तयार भए पनि कलेज प्रशासनसँग सम्पर्क नभएकै कारण धकेलिएको थियो । शनिबार जिल्ला प्रशासनको समन्वयमा ताला खोलिएको थियो । विद्यार्थीले अस्पतालको ओपिडीसहित टिकट काउन्टरमा लगाएको ताला खोलेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीको भनाइ छ । प्रशासनिक र लजिस्टिक भवनको ताला भने कलेजका तर्फबाट जिम्मा लिने व्यक्ति नभएकाले खोलिएको छैन ।

कलेज तुरुन्त सञ्चालन नगरे व्यवस्थापकलाई थप कारबाही हुने कास्कीका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । ‘विवाद न्यायिक प्रक्रियामा गइसकेको छ, अब पनि अस्पताल र कलेज सञ्चालन नगरे प्रशासन अर्को कारबाही प्रक्रियामा जान्छ,’ उनले भने ।

सरकारले काठमाडौंबाहिरका मेडिकल कलेजलाई एमबिबिएसका विद्यार्थीसँग ४२ लाख ४५ हजारभन्दा बढी नउठाउन नियम तोके पनि गण्डकी मेडिकल कलेजले विनारसिद १० देखि १५ लाखसम्म बढी असुलेको थियो । विरोधमा विद्यार्थी आन्दोलित भएका थिए ।

दुखद संयोग : गण्डकी मेडिकल कलेजकै विद्यार्थी फेवातालमा मृत भेटिए

पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत शिशिर केसी शनिबार फेवातालमा मृत फेला परेका छन् । २२ वर्षीय शिशिर म्याग्दीको बेनी नगरपालिका–८  निवासी हुन् । बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक कोमल शाहका अनुसार प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँ खपौदी क्षेत्रनजिकै फेवातालमा उनको शव फेला परेको हो । 

प्रहरीका अनुसार केसीले एक सहपाठीलाई एमएमएस गरेर ‘मलाई खोज्न अन्त नजानू, फेवातालमा आउनू’ भनेका थिए । उनले एसएमएसमा भनेकै ठाउँमा शव भेटिएको प्रहरीको भनाइ छ । शनिबार बिहान करिब साढे ७ बजे कोठाबाट निस्किएका केसीले आत्महत्या गरेको अनुमान छ । डराउने, मुटु हल्लिनेजस्ता समस्याबाट पीडित उनले केही समययता औषधि सेवन गर्दै आएका उनका सहपाठीले बताएका छन् ।

प्रधानमन्त्रीको निर्देशनमा सतर्कता केन्द्र र शिक्षा मन्त्रालयद्वारा किस्ट मेडिकल कलेजमाथि छानबिन

प्रशासन र मेडिकल काउन्सिलमा उजुरी दिने विद्यार्थीलाई धम्की र प्रलोभन

शिक्षा मन्त्रालय सहसचिव डा. हरिप्रसाद लम्साल भन्छन्–कलेजको अनुगमन गर्‍यौँ, कागजात सबै मागेका छौँ

नयाँ पत्रिकामा पोखराबाट गोविन्द सुवेदी र रोहितराज पराजुलीले लेखेका छन् । 

प्रतिक्रिया