Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको एक महिना : परिणाम देखापरिनसकेको स्विकार

बुधबार, १२ असोज २०७३

काठमाडौं - शिक्षा मन्त्री धनीराम पौडेलले आफू मन्त्री भएको एक महिना पुरा भएपनि परिणाम देखा पर्ने गरी काम हुन नसकेको स्विकार गरेका छन् ।

परिणाम देखा पर्ने गरी काम गर्न के कुराले अड्चन ल्यायो भन्ने कुरा स्पष्ट नपारिकन फेसबुक स्टाटस मार्फत् वितेको ३० दिनको आत्म समिक्षा गर्दै पौडेलले केही सकारात्मक कामको शुरुवात गर्ने आधार बने पनि परिणाम देखापरिनसकेका उल्लेख गरेका हुन् ।

'शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको आज एक महिना भएछ' उनले लेखेका छन्, 'यस बीचमा चिकित्सा शिक्षा विषयको एउटा विधेयक सदनमा पेश भै सैद्धान्तिक छलफल सकिएको छ । २१ महिनादेखि खालि विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिवको पदपूर्तिको लागि म.प.मा (मन्त्री परिषद्मा) प्रस्ताव लगिएको छ ।'

मन्त्री पौडेलले एक महिनाम गरेका यी दुई काम बाहेक अन्य महत्वपूर्ण काम थुर्पै बाँकी भएको जानेरै परिणाम देखा परिनसकेको उल्लेख गरेका हुन् भन्ने बुझ्न कठिन छैन ।

किन भने यतिखेरको सबै भन्दा महत्वपूर्ण काम शिक्षा नियमावली निर्माण हो, जुन अहिलेसम्म हुन सकेको छैन । नियमावलीको अभावले असार १५ गते जारी भएको शिक्षा ऐनको आठौं संशोधनले गरेका ब्यवस्था कार्यान्वयनका लागि अन्यौल कायम छ ।

खास गरी अस्थायी शिक्षक ब्यवस्थापन, विद्यालय शिक्षाको तहगत परिवर्तन संगै चालु शैक्षिक सत्रमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले दिने परीक्षा जस्ता विषय अस्पष्ट भएको छ । एकातिर शिक्षा ऐनले विद्यालय शिक्षालाई प्रारम्भिक देखि कक्षा १२ सम्म भनेको छ, अर्कातिर शिक्षा मन्त्रालयनै कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको कार्यालयमा नयाँ नियन्त्रक खटाएको छ ।

जबकी शिक्षा ऐनले ब्यवस्था गरे अनुसार विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा १२ मा हुने छ । जसका लागि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिएको छ ।

त्यसो त बोर्डमा पदाधिकारी नियुक्तिको काम पनि अलपत्र नै छ । लोक सेवा आयोगको अध्यक्षको संयोजकत्वमा बन्ने समितिले सिफारिस गरेपछि बोर्डमा अध्यक्षको नियुक्ति हुने प्रावधान छ । तर मन्त्री पौडेलले त्यो समिति गठन गर्न समेत सकेका छैनन् ।

यही विचमा चिकित्सा शिक्षाको वेथिती विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीको नवौं अनशन समेत शुरु भएको छ ।

'तै पनि आशातिर नजरले हेर्दै शुभकामना दिनुहुने सबैप्रति आभार सहित धन्यवाद दिन चाहन्छु' उनले फेसबुक स्टाटसमा लेखेका छन्, 'साथै राष्ट्र, राष्ट्रियता, जनता र जनअधिकारप्रतिको निष्ठा, विश्वास र समर्पण एवं नेपालको शैक्षिक क्षेत्रको विकासको दायित्वप्रति प्रतिवद्ध भएर अगाडी बढ्ने प्रण गर्दछु ।'

साउन २० गते गठित पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पौडेलले भदौ १० गते शिक्षा मन्त्रीको पदभार सम्हालेका थिए । प्रधानमन्त्री भएको १० दिन पछि साउन ३० गते दाहालले गरेको तेश्रो पटकको मन्त्रीमण्डल विस्तारमा माओवादीले पौडेललाई शिक्षा मन्त्रीका रुपमा चयन गरेको थियो । तर, सत्ता गठबन्धनको मुख्य दल काँग्रेस भित्रको किचलोले पौडेलले विना विभागीय मन्त्रीका रुपमा सपथ खाएका थिए ।

पढ्नुहोस् : नयाँ शिक्षा मन्त्री पौडेल, मन्त्री चयन ढिलो हुनुका भित्रि कुरा

शिक्षा मन्त्रालय माओवादी केन्द्रकै भागमा राख्न सत्ता साझेदार दुई दलका शिर्ष नेताहरु पुनः सहमत भए पछि विना विभागीय मन्त्री भएको १३ दिनमा  पौडेललाई शिक्षा मन्त्री हुने बाटो खुलेको थियो ।

पढ्नुहोस् : शिक्षा मन्त्रालयबारे शिर्ष नेताहरुको निर्णय, पौडेल नै शिक्षा मन्त्री

यो संगै गत भदौ १० गते शिक्षा मन्त्री पौडेल र राज्यमन्त्री धनमायाँ विक खनालले पदभार सम्हालेका थिए ।

 एडुखबरले मन्त्री पौडेलसंग गरेको कुराकानी पढ्नुहोस् : तलमाथि गर्न सकिएला कि भन्ने नसोच्दा हुन्छ : शिक्षामन्त्री पौडेल

प्रतिक्रिया