Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

अस्थायी टहरामा असुरक्षित पढाइ

शुक्रबार, ०५ कार्तिक २०७३

काठमाडौं ५ कात्तिक / गत वर्ष वैशाखको भूकम्पको धक्काले विद्यालय भवन भत्कियो । महिनौंसम्म विद्यालय बन्द भए । विद्यालय सञ्चालन गर्न मान्द्रो र जस्ताको अस्थायी शिक्षण केन्द्र (टीएलसी) को स्थापना गरियो । मान्द्रोका टहराहरू भत्किँदै गए । भूकम्पको धक्काले विद्यालय भवन पूर्णक्षति भई टीएलसीमा कक्षा लिइरहेका विद्यार्थी च्यातिएको मान्द्रोकै कारण असुरक्षित भएको विद्यालयले जनाएको छ ।

‘टीएलसी चलाउनका लागि मात्र चलाएजस्तो भएको छ,’ भक्तपुर नगरपालिका साकोठास्थित विद्यार्थी निकेतन उच्च माविकी प्राचार्य सर्जनी जोशीले भनिन्, ‘मान्द्रो फाटेर गयो, कलिला बालबालिका मान्द्रोबाटै असुरक्षित छन् । हातगोडामा मान्द्रोको छेस्का पसेर घाउ हुने गरेको छ ।’ दिन प्रतिदिन बढ्दो चिसो र टीएलसीको होहल्लाले बालबालिकालाई पढाइमा केन्द्रित गराउन समेत गाह्रो भएको उनले बताइन् । भूकम्पको धक्काले जिल्लाका ६४ सामुदायिक विद्यालय पूर्णरुपमा क्षति भएको जिल्ला शिक्षा कार्यालय भक्तपुरको तथ्यांकमा उल्लेख छ । ती विद्यालयले विद्यार्थीहरूका लागि टीएलसीको व्यवस्था गरी कक्षा सञ्चालन गरिरहेका छन् । तर, अस्थायी टहराको पढाइ प्रभावकारी बन्न नसकेको शिक्षकहरूको गुनासो छ । ‘मान्द्रोको टहरा फाट्दै गयो, बालबालिकालाई जोखिममा पढाउनुपरेको छ,’ विद्यार्थी निकेतनकै शिक्षक गणेशभक्त शिल्पकारले भने, ‘पढ्नुको सट्टा बच्चाहरूको हातखुट्टामा मान्द्रोको छेस्का पसेर हैरान छ, मान्द्रोका कारण बालबालिका घाउ भएर घर गएको अभिभावकको गुनासो छ ।’ ‘टीएलसी वैज्ञानिक पनि छैन,’ उनले भने ।

अस्थायी टहरामा दायाँबायाँ कक्षाको दोहोरो हल्लामा विद्यार्थीलाई पढाइ केन्द्रित गर्नसमेत समस्या परेको उनी बताउँछन् । अधिकांश विद्यालयहरू टीएलसीमा सञ्चालन भएको र विद्यालयको वातावरणकै कारण पठनपाठन प्रभावित हुने गरेको शिक्षकहरू बताउँछन् । विद्यालय भवनहरू तत्काल स्थायी निर्माण गर्नुपर्नेमा टीएलसीले मात्र जाडो महिनाभरि कक्षा सञ्चालन गर्न गाह्रो हुने विद्यालयले जनाएको छ । ‘यो टीएलसी ६ महिनाको लागि मात्र हो,’ भक्तपुर दरबार स्क्वायरस्थित श्रीपद्म उच्च माविका प्राचार्य राम हाडाले भने, ‘भूकम्प गएकै डेढ वर्ष नाघिसक्यो, पुनर्निर्माणको केही ठोस निर्णय आएको छैन ।’

मान्द्रो च्यातिँदै गएपछि विकल्पको लागि जस्ताले बारेर कक्षा सञ्चालन गरेको उनले बताए । श्रीपद्म उच्च मावि नमुना विद्यालयमा समेत छनोटमा परेको छ । टीएलसीमा बढ्दै गएको चिसो र होहल्लाका कारण बालबालिकालाई सिकाइको वातावरण नभएको शिक्षकहरू बताउँछन् । ‘मान्द्रोको टीएलसीमा बालबालिका असुरक्षित बन्दै गएपछि जस्ताले बार्दै गएका छौं,’ उनले भने, ‘जाडो महिनाभरि कसरी टीएलसीमा बच्चाहरूलाई राख्ने अन्योलमा छौं ।’ अस्थायी टहरा बालबालिकाका लागि वैज्ञानिक र सुरक्षित नभएको उनीहरू बताउँछन् । ‘बच्चाहरूलाई खेल्ने, पढ्ने, सिक्ने वातावरण नै छैन,’ भक्तपुर नगरपालिकाको यालाछेंस्थित शारदा उच्च माविका शिक्षक सुन्दर राजचलले भने, ‘मान्द्रोको टहरामा बच्चाहरूलाई बढी चोटको सम्भावना छ, कलिला हातखुट्टामा छेस्का पस्ने, खेल्ने, पढ्ने पढाउने वातावरण छैन, ‘कक्षाको आवाज जुधेर होहल्ला हुन्छ, पढाइ केन्द्रित गराउ मुस्किल छ ।’

कान्तिपुरमा लीला श्रेष्ठले लेखेको खबर ।

प्रतिक्रिया