Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

जस : अपजस बोक्न बाध्य शिक्षकको भोगाई

शनिबार, ०६ कार्तिक २०७३

पेशाले शिक्षक सिन्धुपाल्चोक चौताराका सिताराम घिमिरे साहित्यमा अमित घिमिरेको नामबाट लेख्छन् । उनी अमूर्त चित्रकार पनि हुन् । साप्ताहिक पत्रिकाका सम्पादक प्रकाशक समेत रहेका घिमिरे स्थानीय रेडियो स्टेशनमा शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्छन् । तिम्रो यादमा (कथा संग्रह २०५४), आर्तनादहरु (विविध साहित्यिक रचना २०६१), प्रजातन्त्र (संयुक्त लेखन, हाइकु संग्रह २०६१), सलह (लघुकथा संग्रह २०६२) र पत्थर (कविता संग्रह २०६२) हाम्रो वर्णमाल २०६३ र स्थानीय पाठ्यक्रम २०६९ आदि उनका प्रकाशित कृति हुन् । यो साताको शिक्षा साहित्यमा घिमिरेको लघुकथा : जस 

अघिल्लोपटक माष्टरहरुले विद्यार्थीको कम अंक प्राप्ति र कमजोरीलाई सुधार ल्याई भविष्यमा राम्रो, जेहेन्दार बनाउने उद्देश्यले कडिकडाउ साथ परीक्षाको नतिजा निकालियो ।

सारा अभिभावक क्रुद्ध भए, ‘ब्याड फेर्नुपर्छ’ एकाध भनाभनसम्म भएथ्यो ।

माष्टरहरुको लापर्वाही र कमजोरीको ठूलो आलोचना भएथ्यो ।

यसपल्ट अघिल्लो कमजोरी र लापर्वाही मनन् गरेर भविष्यमा चेत आएर राम्रो गर्लान् कि भनेर फुल्का तवरले नतिजा तयार गरे ।

दुई वर्षेलाई, केटीलाई, जनजाति, टुहुरा, अपांग, आर्थिक स्थिति आदि इत्यादिलाई गरेर प्रायः सबै कक्षाका सबैलाई सहानुभूति साथ उत्तीर्ण गरे ।

पुनः अभिभावक क्रुद्ध भए....‘माष्टरहरु आफू जाति हुन...... सबैलाई होलसेलमा पास गराएछन् । चारको किताव चिन्न नसक्नेलाई पाँच पास गराए.... ब्याड फेर्नुपर्छ .....।’

माष्टरहरु आउने साल के गर्ने सोच बनाउँदै रहे ।

प्रतिक्रिया