एकले अर्कोलाई, अर्काेले अझ अर्कोलाई : गोलचक्करमा सामुदायिक शिक्षा


गाउँका होस् या शहरका, कुनै एक विद्यालयको अवलोकन वा विद्यालय आवद्ध सरोकारवालाहरुसँँग भलाकुसारी गर्यौं भने विद्यालयहरुमा समस्याहरुको खात र आवश्यकताहरुको चाङै भेटिन्छ । राम्रो मनसायले विद्यालयहरुमा पस्यौं भने पनि त्यहाँको शैक्षिक, भौतिक वातावरणले सामुदायिक विद्यालयहरुप्रति नकारात्मक भावनाको विकास गराइदिन्छ । त्यसमा हुन त व्यक्ति बिशेषको सोच, नजरले फरक पार्ने एउटा सत्य भए पनि व्यक्तिको सोचलाई सकारात्मक बनाउने कि नकारात्मक भन्ने कुराको निर्धारण गर्नमा वातावरणले प्रभाव पारिरहेको हुन्छ ।

सामुदायिक विद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने पछिल्लो समयमा विकसित हुँदै गइरहेको ‘प्रवृत्ति’ झांगिनुमा विद्यालयहरुमा दिनानुदिन बढ्दै गइरहेको समस्याहरु नै मुख्य कारक हुन् भन्दा अत्युक्ति नहोला । अझ विद्यालयहरुमा बढिरहेको समस्यालाई समाधानको बाटोमा नलगी ‘टुलुटुलु हेर्ने शैक्षिक ठेकेदारहरु’, ‘यो मेरो जिम्मा होइन भन्ने प्रवृत्ति’, ‘सरकारी काम हो भनेर जागिरे मनोवृत्तिमा चल्ने जागिरे शिक्षक’ बढी जिम्मेवार छन् । हुन त सामुदायिक विद्यालय बिग्रदै जानुका पछाडि समुदाय पनि जिम्मेवार नभएको होइन तर समुदायलाई नै जिम्मेवार बनाउनेतिर हामीले कहिले पनि ध्यान दिन नसक्दा अवस्था जटिलतातिर मोडिँदै गएको छ ।

सामुदायिक विद्यालयहरुको विकल्प छैन भन्ने जमातको बीचमा रहेर पनि सामुदायिक विद्यालयप्रति आर्कषण ऋणात्मक हुनुले सामुदायिक विद्यालयहरुलाई उकास्न चिन्तन होइन, चिन्तामात्र गर्छन् भन्ने देखिएको छ । चिन्ताले चितामा पु¥याउँछ भन्ने आहानजस्तै गरी कतै हाम्रो चिन्तामात्रले सामुदायिक विद्यालयहरुलाई एकदिन चितामा त पुर्याउँदैन ? भन्ने प्रश्नतिर हाम्रो चिन्तन केन्द्रित हुनु जरुरी बनेको छ । यसैले यो विषयमा आजैदेखि होइन, अहिलेदेखि नै चिन्तन गरौं र सामुदायिक विद्यालयहरुलाई धरासायी हुुनबाट बचाऔं ।

सामुदायिक शिक्षाको सन्दर्भमा एकले अर्कोलाई र अर्काेले अझ अर्कोलाई देखाउने संस्कार हामीसामु विद्यमान छ । जस्तै, कुुनै एक विद्यार्थीको पढाइको सन्दर्भमा शिक्षकले विद्यार्थीलाई, विद्यार्थीले शिक्षकलाई, शिक्षकले अभिभावकलाई, अभिभावकले फेरि शिक्षकलाई, शिक्षकले प्रधानाध्यापकलाई, प्रधानाध्यापकले विद्यालय प्रशासनलाई, विद्यालय प्रशासनले विद्यालय ब्यवस्थापन समितिलाई, समितिले अभिभावक र जिल्ला शिक्षा कार्यालयलाई, प्रअले जिशिकालाई, जिशिकाले विभागदेखि मन्त्रालयलाई, मन्त्रालयले सरकारलाई, सरकारले पनि विद्यार्थी, शिक्षक, अभिभावकलाई नै समस्याको कारक बनाउने गरिएको छ । जहाँबाट समस्या आएको हो, त्यहीँबाट समस्या समाधान गर्नुको सट्टा एकले अर्कोलाई समस्या थोपरिदिने हाम्रो संस्कारले समस्याहरुकै गोलचक्करमा हाम्रा विद्यालयहरु रुमलिरहेको प्रष्ट देखिन्छ ।

हुन त चुनौती र समस्या विहिन संसारको कल्पना गर्न सकिँदैन । तर, समस्या छ भनेर हात बाँधेर बस्ने कि समस्या समाधान गर्नका लागि पहल गर्ने भन्ने सवाल महत्वपूर्ण हो । सामुदायिक विद्यालयहरुमा समस्या समाधानका लागि प्रयास नै नभएको भने होइन तर पनि ती प्रयासहरुले माखो मार्न नसक्दा वा समाधान सामुदायिक विद्यालयमैत्री र केन्द्रित हुन नसक्दा अधिकांश सामुदायिक विद्यालयहरुको हालत दयनीय नै छ । अहिले सामुदायिक विद्यालयहरुमा विशेषतः दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्ने, विभिन्न ठाउँबाट बसाइँसरी आएर फुटपाथे व्यापार गर्ने, गरिब, मजदुरहरुका सन्तानहरु पढिरहेका छन् ।

यसलाई अझ स्पष्ट रुपमा भन्ने हो भने संस्थागत विद्यालयमा वा भनौं पैसा तिर्न नसक्ने विद्यालयमा पढाउन नसकेर ‘बाध्य’ बनेका अभिभावकहरु सामुदायिक विद्यालयहरुमा पढाउने गर्छन् । यसले पैसा भएका, सरकारी कर्मचारीका, नेताका, ठूलाठूला व्यापारीका सन्तानहरु ठाँटिएर संस्थागत विद्यालयमा पढ्छन् भने गरिबहरु झुत्रेझात्रे भएर सामुदायिक विद्यालयहरुमा जान विवस छन् । यो स्थितिले शिक्षाले नै वर्गीय भेद निम्त्याइरहेको छ । अतः यो विषय हलुका विषय होइन । यो गम्भीर समस्या समाधान गर्ने प्रमुख दायित्व सरकारकै हो । सरकारकै भए पनि समस्या समाधानमा सरकार आफैले पहल गर्ने चरित्रको विकास गराउनका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिक दल, शिक्षाविद्हरुको साझा अभियान जरुरी छ ।