Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

‘कथी भेलौ बौवा !’ एक शिक्षकप्रति घरबेटी आमैको चासो

शनिबार, १४ फागुन २०७३

 दुई दशक अघि देखि संस्थागत विद्यालयमा पढाउँदै आएका  उदयपुर ठोक्सिलाका नन्दलाल आचार्य हालैमात्र सिराहाको जनसेवा माविमा अध्यापन गराउन प्रवेश गरेका छन् । २०३० साल असार २८ गते भगवती आचार्य र विष्णुप्रसाद आचार्यका सन्तानका रुपमा जन्मिएका आचार्य लेखनमा पनि उत्तिकै सकृय छन् । विभिन्न पत्रपत्रिकामा दर्जनौं कविता, कथा, समालोचना, लेख÷निबन्धहरू र थुप्रै नाटक÷एकांकीहरू प्रकाशित उनको  ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (०६७) नाटक÷ एकांकी संग्रह उनका प्रकाशित कृति हो । यो साताको शिक्षा साहित्यमा उनकै लघुकथा 'बोर्डिङ्गे माष्टर' :

अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।

‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।

‘कथी भेलौ बौवा !’ (के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् ।

‘के हुनु र आमा ! स्कूलमा मरेर काम गर्छु, यहाँ पनि स्कूलकै काम गर्नुपर्छ । गरेको देख्ने कोही होइन । काम पछि माम भेट्नुपर्ने हो तर यहाँ बाँच्नसम्म पाइन्न । भोकै र तिर्खै खटिरहनुपर्छ । यसो केही भन्न खोज्यो कि तलब दिएकै छ नि त भनिन्छ ।’ उनले दुखेसोका साथ स्पष्टीकरण दिए ।

‘ओ तोहोर बात भेलै । महिना लागले हमरा कोठाभाडा ला न !’ (त्यो तिम्रो कुरा भयो । महिना लाग्यो मलाई कोठाभाडा देऊ ।) डेरा मालिक्नीको कर्कस बोली फेरि गुञ्जियो । उनी तर्सिए ।
‘दिन्छु आमा ! दिन्छु । पेट काटेर भए पनि दिन्छु । ट्युसन पढाएर भए पनि जोहो गरेको छु । स्कूलले दिएको तलवले मुखमा माड लगाउन त धौधौ हुन्छ । घरभाडा पु¥याउन त उही हो ।’ उनको तर्क सुनेर मालिक्नी गम खान थालिन् ।

‘हँ, हमर पोतों पढैछे । स्कूलों हमरा सभक मारमे पारै छै । तूँ सभ टिउसनके नाम पर हमरा सभक खर्चा बढाबै छी ।’ (हँ, मेरो नाति पनि पढ्छ । स्कूल पनि हामीलाई मारमा पार्छ । तिमीहरू पनि ट्युसनको नाममा हाम्रो खर्च बढाउँछौ ।)

‘ए बाबा ! दान मागेको छैन । लुटेको पनि होइन । मानसिक श्रम गरेर दुई पैसा कमाएको त हो नि । बोर्डिङ्गे माष्टर भए पछि तलवकै भरमा बाँच्ने कुरा आएन । ट्युसन पनि नपढाए त भाग्नुको विकल्प रहन्न ।’ सुनिल सरले पनि मुखभरिको जवाफ फर्काए ।

आमै चुपचाप मुण्टो हल्लाउँदी भइन् ।

प्रतिक्रिया