Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

शिक्षक साथी ! हामी कोइली बन्ने कि काग ?

विहीबार, २६ फागुन २०७३

“भूकम्प अघिसम्म (२०७२ वैशाख १२) मेरो बच्चा यही स्कुल नजिकैको बोर्डिङ्गमा पढ्थ्यो, भूकम्पले धेरै हल्लायो केटाकेटी डराए । छोरा त यहाँ बस्नै मानेन, पठाइदिएँ आफ्नै गाउँतिर अहिले गाउँकै बोर्डिङ्मा पढि रा’ छ ।”

आफ्नो गाउँभन्दा धेरै टाढा अन्यत्र (अर्कै जिल्ला) मा दुई वर्ष अघि शिक्षक सेवा आयोग उत्तीर्ण गरेर आएका एक जना शिक्षकले उहाँकै स्कुल नजिकैको चिया पसलमा मसँग गरेको संवाद । कुरा गर्दै गर्दा सरले आफुले पढाउँदै आएको सामुदायिक विद्यालय र छोरो पढ्ने गरेको निजी विद्यालय दुबै देखाउनु भयो ।

मैले दुइटै विद्या मन्दिर हेरेँ ।

सरको सामुदायिक विद्यालय विशाल आयातनमा फैलिएको दुई तल्ले पक्की भवन, वाल कम्पाउण्ड भएको, कक्षा १२ सम्म मात्र नभई वी.एड. सम्म पढाइ हुने त्यो पहाडी जिल्लाको माउ स्कुल नै थियो । भूकम्पले त्यो स्कुललाई केही क्षति गरे जस्तो देखिएन ।

उता कच्ची भवन भूकम्पले केही चर्काएका पर्खालहरु ढुङ्गाको टाली छाएको । मुस्किलले ५,७ जनाको जहान बस्न मिल्ने । माटो र ढुङ्गाले बनेको पहाडे घर जुन बोर्डिङ्ग रहेछ !

मलाई के नमिलेको, के नमिलेको जस्तो लाग्यो !

सोचेँ, स्कुल भनेको भवन र कम्पाउण्डमात्र होइन रहेछ ।

अरु पनि केही रहेछ ।

केही दिन अघि शिक्षकहरुको एउटा तालिममा जाने अवसर मिल्यो । जुन सकारात्मक अनुशासन सम्वन्धी थियो । त्यहाँ प्रशिक्षकले एउटा खेल खेलाउनु भयो जसमा सहभागी मध्ये कुनै एक जना साथीको राम्रा कुरा 'सकारात्मक पक्ष' उजागर गर्नुपर्नेथ्यो । तालिममा सामुायिक विद्यालयका २५ जना शिक्षक सहभागी थियौँ । एक जना म्यामले जुरुक्क उठेर छेउमा बस्नु भएको अर्को म्यामको नाम लिदैँ स्तुति गाउन थाल्नु भयो ।
“उहाँ एकदमै निष्पक्ष मान्छे, छोरा र छोरीमा विभेद गर्नु हुन्न । उहाँले आफ्नी छोरीलाई छोरा सरह  स्कुल पढाउनु हुन्छ” अझ थप्दै जानुभो “कतिपय मान्छे त छोरालाई बोर्डिङ्ग र छोरीलाई सामुदायिक स्कुल पठाउँछन् उहाँले दुवैलाई बोर्डिङ्ग स्कुल पढाउनु भएको छ ।”

स्तुति गान गाइनु भएको म्याम मख्ख हुनु भयो । शिक्षकको जमातले उहाँको निष्पक्षता र न्यायशीलता माथि गजुर लगाइदियो तालीको गड्गडाहटले ।

मलाई ताली पड्काउन जाँगर चलेन !

फेरि के नमिलेको के नमिलेको जस्तो लाग्यो ।

२०७१ सालमा शिक्षक सेवा आयोग पास गर्नुअघि प्राइभेट बोर्डिङ्ग स्कुलमा पढाइरहेको मान्छे म । २०५८ देखि पूरा १३ वर्ष पढाइएछ बोर्डिङ्ग स्कुल ।

धेरै जना सरकारी माड्साबका बच्चा पढाइयो । तिनताका सरकारी माड्साब र म्यामहरु मसँग खुब छलफल गर्नुहुन्थ्यो । “मेरो बच्चालाई यसरी पढाइदिनुस् यसरी फुक्र्याइदिनुस्”

“मेरी छोरीको गणित विषय कमजोर छ विषयगत टिचरलाई भेट गराइदिनुस् ।” आदि आदि ।

उहाँहरुको कुरा गम्भीरता पूर्वक त सुनिन्थ्यो तर भित्रभित्रै हाँस उठ्थ्यो ।

फेरि पनि केही नमिलेको जस्तो ..........

नमिलेको कुरा र बेथिति विद्वान् पाठक अनि शिक्षक मित्रहरुले अघिनै बुझिसक्नु भो । हाम्रो आफ्नै पारा भाका र सामुदायिक स्कुल सिध्याउने खेल । आफ्नो घुँडामा आफैले बञ्चरो हान्ने प्रवृत्ति ।

माथि उल्लेख भए मध्ये पहिलो शिक्षकले त्यत्रो सुविधा सम्पन्न, योग्य शिक्षकले सुसज्जित आफ्नै स्कुललाई पत्याउनु भएन र छेउको बोर्डिङ्गमा बच्चा लगेर हाल्नु भो । 'भलै पछि आफ्नै गाउँको बोर्डिङ्ग पाठाउनु भो' उदाहरणका, तालिममा आउनु भएको म्यामले आफ्नै गाउँमा रहेको आफूले पढाउने स्कुल छोडी प्राइभेट बोर्डिङ्गमा छोराछोरी दुवैलाई पढाउँदा न्यायशीलता र निष्पक्षता देखियो रे । त्यस्तै बोर्डिङ्ग स्कुलमा दिनै पिच्छे जस्तो धाएर यसो गर, उसो गर भनी त्यहाँका टिचरलाई अर्ती दिने माड्साबले दैलो अगाडिको आफ्नै स्कुलमा छोराछोरी लाने हिम्मत गर्नु भएन ।

यी त केही उदाहरण मात्र हुन् । खोजी पस्दा अनेकन् होलान् ।

हामी सामुदायिक स्कुलका शिक्षक कुन हैसियत र नैतिकतामा टेकेर उभिएका छौँ ?

माथिका उदाहरण नै काफी होलान् । शिक्षक साथीहरु १ जसले जे जे भने पनि जसले जे जे गरे पनि अन्तत ः स्कुल बनाउने हामी शिक्षकले नै रहेछ । कमाण्डरले त आदेश न दिन्छ, गोली कहाँ र कसरी पड्काउने त सिपाहीले न जान्दछ ।

हामी पनि चक डष्टर चलाउने सिपाही त हो नि । किन हामीले आफ्नो स्कुलमा छोराछोरी नलाने ? संसारमा मानिसले सवभन्दा प्यारो ठान्ने वस्तु आफ्नै सन्तान अनि तिनको शिक्षा दिक्षा आफ्ना सन्तान राम्ररी पढून भनेर प्राइभेट स्कुल हाल्ने अनि आफू चैँ सरकारी तलब डकार्दै अरुको छोराछोरीलाई कसरी पढाउने ?

के कति पढाइयो त रिजल्टले नै देखाइराछ ।

आफ्ना सन्तान चाहिँ राम्रा हऊन्, अरुका भाँडमा जाऊन ?

हामी कति स्वार्थी ? हामी कति मतलबी ? हामीले स्पर्धा गरेर शिक्षक बनेका होइनौ ? के प्राइभेट स्कुलका शिक्षकभन्दा हाम्रो योग्यता र अनुभव कम भयो ? के प्राइभेट स्कुलको शिक्षकभन्दा हाम्रो तलब सुविधा कम भयो ? के उनीहरुले देशी विदेशी अनुदान पाए हाम्रा स्कुलले पाएनन् ? यी र यस्ता प्रश्नहरु हामी आफैले आफैलाई गरौँ । जवाफ सबै भेटिन्छ ।

भूकम्प गएताका आफ्नै पीडित नागरिकलाई त्रिपाल दिन विदेशीको मुख ताक्नु परेको हाम्रो बाध्यता । हामी देश अनुसारको राम्रो बेतन भोगी हौँ । निजामती कर्मचारी सरह तलब दिएको छ राज्यले । हाम्रा प्रथम श्रेणीका शिक्षकले जि.शि.अ. 'आफ्नै हाकिम' भन्दा बढी तलब स्केल बुझ्छन् । हाम्रा प्रा.शि. तृतीय श्रेणीका शिक्षकले देशका खातिर रणभूमिमा गएर लड्ने, मृत्यृको खेल्ने सिपाहीले भन्दा बढी तलब बुझ्छन् । अब के पुगेन हामीलाई ? अझैँ के चाहियो हामीलाई ? के ले छेक्यो हामीलाई ? के ले बर्बाद पा¥यो हाम्रा स्कुललाई ?

जवाफ प्रष्ट छ, लगनशीलता, कर्तव्यपरायणता र इमान्दारिताले ।

हुन त शिक्षक र सिपाहीको तुलना गर्दा चर्को आलोचना खेपिने पो हो कि ? तर म डराउन्न हामीमा सिपाहीमा जति बफादारिता छैन, लगनशीलता र कर्तव्यपरायणताबाट बिमुख छौँ हामी अधिकांश सरकारी शिक्षक ।

साथीहरु मलाई तपाइँहरु कुलाघाती, आत्मघाती जे भन्नुस् म खपुँला तर हाम्रो यथार्थता यही हो । आफ्ना सन्तान अर्काको विरादरीमा लगेर छोड्ने, अर्कै गुरुकुलमा लगेर जिम्मा लाउने गुरुजन दोषी कि त्यसको विरोध गर्ने दोषी ?

अब कुरो आउँछ आफ्ना सन्तान किन आफ्नो स्कुल लैजाने ?

सामुदायिक विद्यालय प्रति अभिभावकहरुमा रहेको वितृष्णाको अन्त्य गर्न लैजाने ।

हामी शिक्षक जे जे भए पनि समाजका आदर्श हौँ । हाम्रा हरेक भनाइ र गराइबाट समाजले पाठ सिकिरहेको हुन्छ । जब हामी हाम्रै सन्तानलाई निजी विद्यालय पठाउँछौ भने अरुले कसरी हाम्रोमा बच्चा पठाउने ? हामी स्वयम्ले दिने शिक्षालाई आफैँले पत्याउँदैनौ भने अरुले कसरी पत्याउने ? हामीले निजी विद्यालयमा छोराछोरी पढाएर तिनका विज्ञापन गर्दिएका हुँदा रैछौँ । तिनका ‘ब्राण्ड एम्बेस्डर’ बन्दिँदा रैछौँ ।

त्यसैले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन, शिक्षकमा थप दायित्वबोधको आभाष ल्याउन पनि सरकारी सामुदायिक शिक्षकका छोराछोरी सरकारी सामुदायिक विद्यालयमै पढ्नु पर्छ । सन्ताननै नभएका शिक्षक वा विद्यालय शिक्षा पार गरिसकेका शिक्षकका सन्तानमा यो कुरा लागु नहुन सक्छ । घरपायक काम गर्न पाएका शिक्षक त्यसैगरी आफ्नो घरभन्दा टाढा दूर दराजमा बसी छोराछोरी आफ्सँग राख्न नपाएका शिक्षकले पनि आफ्नो घर 'जहाँ बालबच्चा छन्' नजिकैको सामुदायिक विद्यालयमा लगी पढाउने हिम्मत राख्नु पर्छ । हामीले यति मात्र गर्न सक्यौँ भने पनि बिस्तारै हाम्रा विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्छ ।

निम्न मध्यम वर्गीय अभिभावक पनि छोराछोरी कहाँ पढाऊँ भन्ने चिन्ताबाट मुक्त हुन्छन् । बुझेका, पढेलेखेका अभिभावक बढ्दै जान्छन् र तिनबाट रचनात्मक सुझाव सल्लाह पाउँदै जान्छौँ र तीसँग आँखा जुधाएर कुरा गर्ने साहस राख्छौँ ।

हुन त सामुदायिक विद्यालय सुधार्ने यो उपाय एक मात्र कडी त होइन । त्यहाँभित्र विविध जटिलता छन् जो अहिले लेखी साध्य छैन । तर हामी शिक्षकले अरुका सन्तानका माझमा आफ्ना सन्तानलाई राख्ने र एकै नजरले सबैलाई हेर्ने चेष्टा ग¥यौँ भने सम्पूर्ण विद्यार्थीनै आफ्ना सन्तान हुन्छन् । सुधारका लक्षण देखिदै जान्छन् ।

मैले यो लेख निजी विद्यालयको बिरोध गर्न लेखेको होइन । राज्यको नियम कानुन अनुसार खुलेका, चलेका प्राइभेट स्कुलहरु प्नि आवश्यक छन् । स्वतन्त्रता, प्रजातान्त्रिक परिपाटीमा स्वच्छ प्रतिस्पर्धा राम्रै कुरा हो । अबका सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने साहस जुटाउनु पर्छ ।

अवोध, निश्चल सबैका सन्तानलाई आफ्नै सन्तानको आँखाले हेर्नुछ ।

मेरा शिक्षक साथी ! मलाई गाली गरे गर्नुस । हामीले आफ्ना सन्तानलाई आफ्नै छानामुनि राख्नु पर्छ । आफ्नो अण्डा अर्काको गुँडमा छोडेर हिड्ने मृदुभाषी कोइली होइन बरु अर्का र आफ्ना नछुट्याई सबैलाई समान वात्सल्य मातृत्व दिन सक्ने कटुभाषी नै सही काग बन्नुपर्छ ।

अब हामी शिक्षक कोइली होइन काग नै बन्नुपर्छ ।

(गौतम जनता मा.वि. गौरीडाँडा, महोत्तरीका शिक्षक हुन् ।)

प्रतिक्रिया