Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

शैक्षिक सुधारका केही पक्ष

आइतबार, २७ चैत्र २०७३

विद्यालय सबै समुदाय, वर्ग, समूह, धर्म, जातजाती, सम्प्रदायको एक मात्र निर्विवाद साझा मन्दिर हो । विद्यालय समुदायको आवश्यकता परिपूर्तिको लागि समुदायकै पहलमा समुदायमै स्थापना भएको पवित्र सँस्था हो । नेपालमा औपचारिक शिक्षाको शुरुवाती चरणमा राणा शासकहरुले उनीहरुकै पहलमा स्थापना गरेका विद्यालयहरु बाहेक सरकारले समुदायमा गएर सिधै स्थापना गरिदिएका विद्यालयहरु शायदै कमै होलान् । कुनैपनि स्थानमा नयाँ विद्यालय स्थापना गर्नुपर्दा सोही स्थानका नागरिकले माग गरी आधारभूत न्यूनतम पूर्वाधारहरु पूरा गरेपछि मात्र सरकारी तवरबाट विद्यालय सञ्चालनको लागि अनुमति प्रदान गरिने कानूनी प्रावधान रहेको छ । यही कानूनी प्रावधानको जगमा अडेर जनताको पहल कदमीमा स्थापना भएका विद्यालयहरुको सच्चा सरोकारवाला भनेका सोही समुदायका जनताहरु नै हुन । यस मानेमा विद्यालयका सच्चा मालिक भनेको समुदाय नै हो र विद्यालयको गतिविधि, क्रियाकलाप तथा उन्नति अवनतिको सच्चा पहरेदारी गरी चासो राख्ने कार्य पनि समुदायबाटै हुनुपर्दछ ।

यति बेला सार्वजनिक शिक्षा र सो शिक्षासँग सम्बन्धित शिक्षाकर्मीहरु सार्वजनिक शिक्षाको गुणस्तर खस्किएको भन्ने विषयले आलोचनाको शिकार बन्नु परेको यथार्थ हाम्रो सामु छ । हामी शैक्षिक प्रशासनको व्यवस्थापन, विकास तथा सुधारको लागि सरकारी दाना पानी खाएर कार्यरत कर्मचारीहरु भनौ वा मनोनित पदाधिकारी वा जननिर्वाचित पदाधिकारी सबैले न यो आलोचनालाई पूर्ण स्वीकार गर्न सकेका छौ न अस्वीकार नै । आलोचना भित्र केही सत्यता भने पक्कै छ । अब आलोचनालाई डिफेन्सिभ तवरले प्रतिरोध मात्र गर्ने भन्दा पनि त्यस भित्रका सही तथ्यहरुलाई पत्ता लगाई क्रमिक सुधारको बाटो अवलम्बन गरिनु अत्यावश्यक छ ।

विद्यालय शिक्षाको विकास तथा सुधारको लागि कुनै एक पक्ष मात्र जिम्मेवार हुदैन । एउटा विद्यालयमा आवश्यक हुने न्यूनतम पूर्वाधार पूरा भएर मात्र अपेक्षित शैक्षिक विकास हुन सक्दैन । यसमा विभिन्न पक्षहरुको प्रभाव रहन्छ ।

सचेत एवं जागरुक अभिभावक

कुनै पनि समुदाय विद्यालयको काम, कार्वाहीमा चासो राख्दछ, विद्यालयलाई समुदायकै अभिन्न अंगको रुपमा लिन्छ, विद्यालयका हरेक क्रियाकलापमा सरिक हुन्छ तथा विद्यालयका असल कामको अनुसरण र प्रशंसा तथा खराब कामहरुको खवरदारी गर्दछ भने त्यस्तो विद्यालय तथा त्यसको शैक्षिक गतिविधिहरु कमसल हुन सक्दैनन् ।

अनुशासित एवं लगनशिल विद्यार्थी

हरेक शिक्षा प्रणाली तथा विद्यालयका हरेक क्रियाकलापको केन्द्र विन्दुमा विद्यार्थी रहन्छ । विद्यार्थीमा अनुशासन, लगनशिलता तथा मेहनती प्रवृतिको विकास भएका तथा विकास गराउन सफल भएका विद्यालयहरुको शैक्षिक अवस्थामा कसैले खोट लगाउन सकेको अवस्था छैन र हुदैन पनि । जिम्मेवार र समर्पित शिक्षक शैक्षिक सुधारको अर्को पक्ष हो । शिक्षा प्रणालीलाई गतिशिल बनाई कार्यान्वयन गर्ने प्रमुखकर्ता शिक्षक आफ्नो पेशा प्रति बफादार तथा इमान्दार भई जिम्मेवारी पूरा गरेमा मात्र विद्यालय शिक्षा प्रभावकारी र सफल हुन्छ । नियमित विद्यालयमा उपस्थित हुने, तोकिएको समय कक्षा क्रियाकलापमा सक्रिय रुपमा बिताउने, विद्यार्थीको सिकाई सुधारमा हरपल क्रियाशिल रहने, शिक्षण पेशाप्रति सम्मान गर्ने समर्पित र जिम्मेवार शिक्षक भएका विद्यालयहरु समुदाय एवं विद्यार्थीको मन, मष्तिष्क तथा विश्वास जित्न सफल छन् र शैक्षिक उपलव्धि हासिल गरी विद्यालयको गरिमा कायम गर्न सफल रहेकै छन ।    

जवाफदेही र उत्तरदायी प्रधानाध्यापक

नेतृत्वले देखाउने सही बाटोले नै सँस्थाको शैक्षिक दिशा निर्देश गर्दछ । विद्यालयको प्रशासनिक, शैक्षिक तथा व्यवस्थापकीय नेतृत्व विद्यालयको प्रधानाध्यापकले गर्ने गर्दछ । विद्यालयको प्रधानाध्यापक योग्य, सक्षम, शिक्षक तथा समुदायको विश्वासी हुनुपर्छ । विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकसँग योजना बनाउने, संगठन गर्ने, निर्देशन गर्ने, नियन्त्रण गर्ने, समन्वय गर्ने, सम्बन्ध निर्माण गर्ने, सुपरीवेक्षण गर्ने, स्रोतको खोजी र परिचालन गर्ने, निर्णय गर्ने जस्ता प्रशासनिक तथा व्यवस्थापकीय सक्षमताहरु हुनुपर्छ । विद्यालयले गरेका हरेक कार्यहरुको जिम्मेवारी लिने तथा उत्तरदायित्व वहन गर्ने, आवश्यक परेको खण्डमा जोखिम वहन गर्न सक्ने प्रधानाध्यापक विद्यालयमा आवश्यक छ । सक्षम, सक्रिय, क्रियाशिल, आत्मविश्वासी र नैतिकवान प्रधानाध्यापक भएका विद्यालयहरु शैक्षिक हिसाबमा कहिल्यै पछि नपरेका उदाहरण आलोचनाका बिच पनि अहिले हाम्रो सामु प्रशस्तै छन् ।

सहयोगी, सदगुणी एवं न्यायप्रेमी कुशल प्रशासन तथा नियामक निकाय

शैक्षिक प्रशासन सञ्चालन गर्ने निकायले शैक्षिक सुधारमा क्रियाशिल जुनसुकै पक्षलाई सधै सकारात्मक सहयोग गर्नुपर्छ । उसले गर्ने सुधारका क्रियाकलापमा सहभागिता जनाउनुपर्छ । कमी कमजोरी देखिएमा सुधारका लागि पृष्ठपोषण प्रदान गर्नुपर्छ । निकटता, सम्बन्ध तथा सम्पर्कका आधारमा कुनै पनि शैक्षिक सँस्था, निकाय, शिक्षक, प्रधानाध्यापक आदिलाई काखा र पाखा गर्नु हुदैन । कार्य सम्पादन तथा उपलव्धिको आधारमा पुरस्कार र दण्डको व्यवस्थापन गर्नुपर्छ । विद्यालयको शैक्षिक उन्नयनमा नै सदा समर्पित रहने सहयोगी, सदगुणी र न्यायप्रेमी कुशल प्रशासन सञ्चालन गर्न सक्ने खुबी भएका शैक्षिक प्रशासकहरुले शैक्षिक सुधारमा टेवा पु¥याएकै छन् ।

राम्रा र असल कार्यहरुको प्रचारप्रसार गर्ने सबल र सक्षम मेकानिजम

नराम्रा मानिने क्रियाकलापहरुको बढी प्रचारप्रसार गरी राम्रा कुराहरुलाई ओझेलमा पार्ने गरेको वर्तमान सन्दर्भमा विद्यालयले गरेका राम्रा अभ्यासहरुलाई बढीभन्दा बढी प्रचारप्रसार गरी अझ राम्रो गर्ने हौसला प्रदान गर्नुपर्दछ । यसको लागि मिडियाको भूमिका महत्वपुर्ण रहन्छ । असल अभ्यास तथा सफलताका कथाहरु प्रकाशन गर्ने कार्य पनि नियमित रुपमा गर्न सकिन्छ ।

निरन्तर सपोर्ट प्रणालीको सबलीकरण

विद्यार्थीको सिकाई स्तरमा सुधार ल्याउन कपषा क्रियाकलाप तथा विद्यालय सञ्चालन गतिविधिमा निरन्तर सहयोग गर्नको लागि स्थापित स्रोत केन्द्र तथा विद्यालय निरीक्षण प्रणालीलाई सशक्त तथा प्रभावकारी बनाउन सकिएमा विद्यालयको शैक्षिक सुधारमा अपेक्षित परीवर्तन ल्याउन सकिन्छ ।

विद्यालयको शैक्षिक सुधारका पक्षहरुलाई यति नै हुन्छ भनी सिमावद्ध गर्न नसकिए पनि माथिउल्लिखित सात पक्षहरु नेपालको सन्दर्भमा व्यवस्थित शैक्षिक प्रणाली निर्माणको दिशामा प्रमुख पक्षहरुको रुपमा लिन सकिन्छ । विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय, प्रधानाध्यापक, प्रशासन, सफल अभ्यास तथा सपोर्ट सिस्टम शैक्षिक सुधारका महत्वपूर्ण अवयवहरु हुन । यी अवयवहरुमा सही र व्यवस्थित  किसिमले हिट गर्न सकेमा शिक्षा प्रणाली सुधारमा कायापलट गर्न सकिन्छ ।

श्रेष्ठ शिक्षा विभागका उपनिर्देशक हुन् ।  

प्रतिक्रिया