नयाँ‌ पुस्‍ता : होस्टेल आकर्षण


काठमाडौं ८ बैशाख/पाल्पा तानसेनकी सुचिता गिरी तीन वर्षदेखि काठमाडौं बुद्धनगरस्थित ‘बुद्ध गल्र्स होस्टेल’मा बस्दै आएकी छन् । कान्तिपुर कलेज, बुद्धनगरमा स्नातक तह तेस्रो वर्ष अध्ययनरत् उनलाई कोठामा एक्लै बसेको अनुभव छैन । शुरुका केही समय उनी कलंकीमा बुवासँगै बसिन् । तर, सार्वजनिक गाडीको यात्रामा धेरै समय लागेपछि कलेज नजिकैको होस्टेलमा बस्न थालिन् ।

होस्टेलमा बस्दा कोठामा हुने दैनिक तनाब बेहोर्नुनपर्ने बताउँछिन्, प्रियंका गुप्ता । इलामकी उनी ०६९ सालमा बुद्धनगरस्थित ‘स्वर्णिम संसार गल्र्स होस्टेल’मा बस्न आइपुगिन् । ‘होस्टेलमा बस्ने भनेपछि त्यहाँ कस्ता साथीहरू होलान् ? आमाबाबाले जस्तै माया गर्ने मान्छे हुन्छन् कि हुँदैनन्जस्तो लाग्थ्यो,’ उनी भन्छिन्, ‘अब त बानी परिसक्यो ।

बाहिर एक्लै बस्नुभन्दा होस्टेलमा धेरै आनन्द हुने रहेछ ।’ ‘सीए क्याप–३’ मा अध्ययनरत् गुप्ता सीएतर्फको सन् २०१५ की नेपाल टपर हुन् । होस्टेलमा पारिवारिक वातावरण भएकाले मन लागेको काम गर्न र घुम्न जान स्वतन्त्र रहेको उनको भनाइ छ । कोठामा बस्दा पढाइमा मात्र नभएर अरू कुरामा धेरै समय बित्ने भएकाले विद्यार्थीका लागि होस्टेल उपयुक्त हुने उनको ठम्याइ छ ।

काठमाडौंमा कोठा, पानी, वातावरणलगायत समस्या भएकाले विद्यार्थीले यसप्रति रुचि देखाउने ‘नेपाल होस्टेल एसोसिएसन संघ’की संस्थापक किरण राजभण्डारी बताउँछिन् । भन्छिन्, ‘तीन वर्षयता होस्टेलमा बस्नेहरू बढेका छन् । बाहिरका मात्रै नभई काठमाडौंभित्रकै मान्छे पनि आउने गरेका छन् ।’

सहज दिनचर्या

एभरेस्ट नर्सिङ कलेज, तीनकुनेमा नर्सिङ पढिरहेकी पूजा भण्डारी भाडाको कोठाको समस्या देखेरै होस्टेलमा बस्न आइन् । नर्स भएकाले कामबाट राति आउँदा घरबेटीले गेट खोल्न आनाकानी गर्ने समस्या थियो । भन्छिन्, ‘हामी पढ्नकै लागि यहाँ आएकाले घर व्यवहारभन्दा पढाइ महत्वपूर्ण हो । होस्टेलमा सम्पूर्ण काम अरूले नै गरिदिन्छन् ।

सुचिता गिरी पनि होस्टेलमा रमाएकी छन् । एक्लै बस्नुभन्दा साथीहरूसँग होस्टेलमा बस्दा धेरै कुरामा सहज हुने उनको भनाइ छ । होस्टेलमा दैनिक सामना गर्नुपर्ने समस्याहरू छन्जस्तो लाग्दैन उनलाई । बरु कोठामा एक्लै बसेका साथीहरूले सुनाउने पानीदेखि घरबेटीको गालीसम्मको कथाले उनलाई होस्टेल बसेर ठिकै गरेजस्तो लाग्छ ।

मनोरम वातावरण

स्वर्णिम संसार होस्टेलमा बस्ने महिलाहरू कलेज बिदा भएको समयमा साथीहरूसँग घुम्न जान्छन् । त्यसो त, अरू समयमा पनि सा“झपख उनीहरू बाहिर जानुपरे घरमा फोन गर्ने र सूचना दिने, फारम भर्ने, वार्डेनलाई सोध्नुपर्ने हुन्छ । सीमित मान्छेबाहेक अरू कोही प्रवेश गर्न पाउँदैनन् । होस्टेलमा कसैका लागि छुट्टै कोठाको व्यवस्था छैन । साथीसँग बसेर पढ्छन्, नबुझेको कुरा एकले अर्कालाई सोध्छन् । कहिलेकाहीँ टीभी हेर्छन् । इन्टरनेटको पनि व्यवस्था छ । होस्टेलमा बस्दैआएकाहरू भन्छन्, ‘यहाँ छुट्टै संसार छ ।’
सीजीएमसी कलेजमा ‘जर्नालिजम एन्ड मास कम्युनिकेसन’ अध्ययनरत् शान्ति राईलाई होस्टेलको वातावरणले लोभ्याएको छ । धरानकी राई स्कुल पढ्दा पनि होस्टेल नै बस्थिन् । स्कुुल छँदा सबै कक्षाका विद्यार्थी एकै ठाउँमा बस्ने भएकाले हल्ला धेरै हुने, खानाको समस्या, सरसफाइ नहुने हुन्थ्यो । यहाँ एउटै समूहका र पढ्नेहरू मात्रै भएकाले वातावरण फरक रहेको उनले बताइन् । भन्छिन्, ‘अब त यतै रमाउन थालियो । वातावरण पनि अध्ययनमैत्री छ । साथीहरू पनि मिलनसार छन् ।’

होस्टेल पनि आफ्नो घरजस्तै रहेको ठान्छिन्, गिरी । विभिन्न चाडपर्वमा उनीहरू यहीँ बसेर रमाइलो गर्छन् । होस्टेल सञ्चालकहरू मिलनसार भएकाले यस्तो वातावरण उपलब्ध भएको ठान्छिन्, उनी । गएको फागुमा पनि उनीहरूले एकअर्काेमा रङ दलेर रमाइलो गरे । आफ्नो घरपरिवार छाडेर यहाँ बस्न आएकाले उनीहरूलाई एक्लो अनुभव गर्न दिनु नहुने बताउँछिन् बुद्ध होस्टलकी सञ्चालिका भण्डारी । भन्छिन्, ‘अहिले उनीहरूका लागि अभिभावकजस्तै सबैथोक हामी हौँ । त्यसैले उनीहरूसँग घुलमिल भएर बस्नुपर्छ ।’

समस्याका कुरा

होस्टेलमा बस्दै आएका युवतीहरूको खास गुनासा छैनन् । बरु यसलाई बस्न उपयुक्त ठाउँ हो भनिरहेका छन् । पाँच महिनाअघि बुद्ध होस्टेलमा बस्न आएकी तनहुँ, दुलेगौँडाकी सुदीक्षा वाग्लेको होस्टेलप्रति खासै गुनासो छैन । तर, कहिलेकाहीँ खानामा समस्या हुने उनले बताइन् । ‘धेरैलाई बनाएको खाना कहिलेकाहीँ मिठो लाग्दैन ।’ उनले थपिन्, ‘कहिलेकाहीँ घरको सम्झनाले खुबै सताउँछ । तर, भनेको समयमा फुत्त भेट्न जान पाइँदैन ।’

यसभन्दा पहिले उनी केएमसी कलेजको होस्टेलमा बस्थिन् । त्यहाँ बस्दा वाग्लेलाई धेरै कुरामा चित्त बुझेको थिएन । मोबाइल पनि बोक्न नपाइने, साथीहरू ल्याउन नपाइने, एक किसिमले जेल बसेको जस्तै अनुभव बटुलेको उनले बताइन् । भन्छिन्, ‘कलेजको होस्टेलमा बस्न सकिँदैन । मान्छेलाई अलिकति स्वतन्त्रता पनि हुनुपर्छ नि ।’

घरमा जस्तो मन लागेको कुरा गर्न नपाइने कारणले अमात्यलाई कहिलेकाहीँ होस्टेल बसाइ दिक्क लाग्छ । छुट्टी भएको समयमा बाहिर घुम्न जान पाइए पनि होस्टेलमा स्वतन्त्र छु भन्ने अनुभवचाहिँ नहुने उनले बताइन् । भन्छिन्, ‘साथीहरू ल्याउन पाइँदैन, मन लागेको कुरा खान पाइँदैन, कहिलेकाहीँ रुममेटसँग कुरा मिल्दैन, बिरामी हुँदा पनि फरक खाने कुरा हुँदैन । यस्तो बेलामा भने दिक्कै लाग्छ ।’

पछिल्लो समय होस्टेलहरूबीच पनि अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । केटीलाई मासिक साढे सातदेखि आठ हजार र केटाहरूलाई आठदेखि नौ हजार तोकिएको छ । यो रकममा प्रत्येक वर्षको वैसाख १८ गते हुने वार्षिक उत्सवमा पाँच सय बढाउने मापदण्ड भए पनि धेरै होस्टेलमा यस्तो भएको पाइँदैन । धेरैले सेवाभन्दा पैसा कमाउने व्यवसायको रूपमा मात्र हेर्ने गरेका छन् ।

कोइराला भन्छन्, ‘पछिल्लो समय होस्टेल धेरै खुलेकाले यहाँभित्र पनि केही कमजोरी त देखिन्छ । तर, विद्यार्थीको आत्मसन्तुष्टि र सेवासुविधालाई हामी प्रमुख ठान्छौँ ।’०७० सालतिर केही निजी होस्टेलमा लागूऔषधको प्रयोग भएको भन्दै लागूऔषध अनुसन्धान ब्युरोबाट धेरै होस्टेलमा अनुगमन पनि भयो । होस्टेलमा आउनेहरू पनि सबै असल मान्छे नहुने बताउँछिन् भण्डारी । आफ्नो होस्टेलहरूमा उनले चुरोट खानसमेत प्रतिबन्ध लगाएकी छन् । भन्छिन्, ‘कहिलेकाहीँ खराब नियत बोकेका मान्छेहरू पनि आइपुग्छन् । आफूले खोजेको जस्तो वातावरण नपाएपछि उनीहरू फर्किन्छन् । अनुशासनहीन कतिलाई त मैले निकालिदिएको पनि छु ।’

कति छन् होस्टेल ?

काठमाडौं उपत्यकामा मात्रै अहिले दुई सय ७५ वटा होस्टेल दर्तामा आएका छन् । बाहिरी जिल्लाहरूमा भने कास्की, मोरङ र चितवनमा मात्र होस्टेल दर्ता भएको छ । यी तीनवटा जिल्लामा पनि लगभग दुई सय जति होस्टेल दर्ता छन् । तर, अब काठमाडौंमा होस्टेलको संख्या नियन्त्रण गर्नुपर्ने भण्डारीको भनाइ छ । भन्छिन्, ‘पुग्ने मात्रामा होस्टेलहरू खुलिसके । योभन्दा धेरै होस्टेल भयो भने विकृति आउँछ ।’ होस्टेल एसोसिएसन संघका अध्यक्ष सुवास कोइराला अब यस क्षेत्रमा लगानी सुरिक्षत नरहेको धारणा राख्दै भन्छन्, ‘काठमाडौंमा लगभग बीस हजार विद्यार्थीका लागि होस्टेलको आवश्यकता थियो । अब यो संख्यालाई पुग्ने होस्टेल खुलिसके ।’

निजी होस्टेल सञ्चालकहरूले आफ्नै संघ/संगठन खोलेर होस्टेलको हक/हितका लागि काम पनि गरिरहेका छन् । कलेजले आफ्नै उद्देश्यले खोलेका होस्टेलहरू यो संगठनभित्र आउँदैनन् । त्यस्तै, कामदारहरूलाई निजी होस्टेलमा राख्न नपाउने नियम छ । विद्यार्थी र कामदारहरूको बीचमा सह–सम्बन्ध नहुने भएकाले यस्तो गरिएको भण्डारीको भनाइ छ । तर, अब कामदारहरूका लागि पनि छुट्टै होस्टेल खोल्ने प्रक्रियाअघि बढेको उनले बताइन् ।

अन्नपूर्ण टुडेमा प्रकाशित खबर ।