Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

गुठीको जग्गामा चलेका सार्वजनिक विद्यालय हराउँदै

विहीबार, १४ बैशाख २०७४

काठमाडौं १४ बैशाख/काठमाडौं उपत्यकामा गुठीको स्वामित्वमा रहेका, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका सार्वजनिक विद्यालय हराउने अवस्थामा पुगेका छन् । भौतिक पूर्वाधार र बालमैत्री नभएका मात्र होइनन्, गुठी चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ ।

विद्यालयमा भौतिक र शैक्षिक गुणस्तर नभएका कारण स्थानीय अभिभावकको सार्वजनिक विद्यालयमा रुचि घट्दै गएको हो । सबल धोला प्राविमै पढेका स्थानीय आफूले पढेको विद्यालयमा अहिले आफ्ना छोराछोरी पढाउन नसकेको बताउँछन् । गुठीको स्वामित्वमा रहेका जग्गा र भवन उनीहरूले नेै प्रयोग गर्दा विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन् । विद्यालयको भवन गुठीको जग्गामा बनेकाले विद्यार्थी कम हुँदै गएपछि गुठीले नै प्रयोग गर्न थालेको छ ।

व्यवस्थापन समिति गठनमा कठिनाइ
शान्ति निकुञ्ज मावि भागवतीबारीका स्रोतव्यक्ति कृष्ण विष्टले सबल धोला विद्यालयमा नेपाली नागरिक अभिभावक नभएका कारण विद्यालय व्यवस्थापन समिति गठन गर्नसमेत कठिनाइ भएको बताए । सो विद्यालयको रजिस्ट्ररमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म २६ जना भर्ना भएका छन् । नियमित रूपमा १० जनाको हाराहारीमा विद्यार्थी रहेको पाइएको उनले बताए । भर्ना भएका विद्यार्थी पनि कुनै चाडपर्वमा घर जाँदा विद्यालयमा विद्यार्थीको खडेरी हुने गरेको स्रोतव्यक्ति विष्टले बताए ।

यस्ता छन् समस्या
जिल्ला शिक्षा अधिकारी आचार्यका अनुसार गुठीको स्वामित्व, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका विद्यालय आफैँ पीडित अवस्थामा रहेकाले विद्यार्थीको खडेरी भएको बताए । न्यूनतम पूर्वाधार नहुँदा विद्यालय विद्यार्थीमैत्री र बालमैत्री हुन सकेका छैनन् । विद्यालयमा शौचालय, उपयुक्त कक्षाकोठा, खेलमैदान, ल्याबलगायत पूर्वाधार कमजोर छन् । ‘विद्यालयको आफ्नो जग्गा नहुँदा भवन बनाउन पाइँदैन, पूर्वाधार नै नहँुदा यस्तो अवस्थामा शिक्षकले मात्र विद्यार्थी आकर्षित गर्न सक्दैनन्,’ आचार्यले भने । समस्या समाधानका लागि सार्वजनिक जग्गा भएका ठाउँमा विद्यालयको नाममा पास गरेर पूर्वाधार तयार गरी विद्यार्थी आकर्षित गर्न सकिने उनले बताए ।

गुठीका विद्यालयमा विद्यार्थी अत्यन्त कम
सबल बहालस्थित सबल धोला प्राविमा न त खेलमैदान छ न त बालमैत्री भवन नै । विद्यार्थी पनि अत्यन्त कम छन् । मजदुरका छोराछोरी मात्र विद्यालयमा पढ्न आउँछन् ।

सबल धोला प्रावि एउटा उदाहरण मात्र हो, काठमाडौंमा दर्जनौँ सार्वजनिक विद्यालयको हालत यस्तै छ । काठमाडौंमा २५ भन्दा कम विद्यार्थी हुने सामुदायिक विद्यालयको संख्या २४ छ । समस्या रहेकामध्ये अधिकांश गुठीको स्वामित्व र सत्तलमा सञ्चालन भएका विद्यालय छन् ।

भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेको खबर ।

प्रतिक्रिया