Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

शुक्रबार, १५ बैशाख २०७४

काठमाडौ १५ बैशाख/निजी विद्यालयले चर्को शुल्क असुलेको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले संस्थागत विद्यालयको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयबाट बढी लिएको शुल्क फिर्ता दिन दबाब दिने उद्देश्यले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १५ वैशाखमा जिल्ला शिक्षा कार्यालय तथा शिक्षा विभागमा तालाबन्दी गर्ने, १७ वैशाखमा शिक्षामन्त्री, शिक्षा मन्त्रालयका अधिकारी, प्याब्सन, एनप्याब्सनका पदाधिकारीहरू, निजी विद्यालय सञ्चालकहरूलाई सार्वजनिक बहिष्कार गर्ने र १८ वैशाखमा सरकारी सवारीसाधन सञ्चालनमा अवरोध गर्नेलगायतका थप कार्यक्रमको घोषणा गरेको हो ।

बैठकमा संविधानले प्रदान गरेको माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न, आगामी बजेटमा २५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउन तथा मापदण्डविपरीत बढाइएको शुल्क फिर्ता गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । यसैबीच, बिहीबार शुल्क वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्याब्सन र एन प्याब्सनका केन्द्रीय र सबै जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । विद्यार्थी संगठनले बुधबार चर्को शुल्क लिने उपत्यकाका ५३ विद्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेको थियो । तर, ट्रस्टद्वारा सञ्चालित विद्यालयमा भने आन्दोलनका कार्यक्रमले नछुने महरले बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया