Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

नियन्त्रकमा बतास, परीक्षाको गिर्दो शाखलाई मर्यादित बनाउन चुनौति

विहीबार, २८ बैशाख २०७४

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकमा डम्बरकुमार बतास नियुक्त भएका छन् । बतासको नियुक्तिसँगै बोर्डले १५ दिन पछि नयाँ नियन्त्रक पाएको छ । नियुक्ति भएसँगै एडुखबरसँग कुरा गर्दै बतासले परीक्षालाई मर्यादित र समयमा सञ्चालन गर्न आफू र आफ्नो टिम कृयाशिल हुने बताए ।

'परीक्षा जस्तो संवेदनशिल कुरामा पछिल्लो समय हेलचक्र्यार्इं देखियो, यस्ता अवस्थालाई निर्मूल पारी स्वच्छ र विश्वसनीय परीक्षा म र मेरो टिमको मुख्य कार्य हुने छ' उनले भने, 'मर्यादित परीक्षाले देशकै शैक्षिक अवस्थाको प्रतिनिधित्व गर्ने भएकोले हामी त्यस कुरामा गम्भिर भएर कार्य गर्ने छौं ।'

परीक्षालाई अमर्यादित र अस्तव्यस्त तवरले सञ्चालन गरेको भन्दै कक्षा १२ को परीक्षा चलिरहेका बेला गत बैशाख १३ गते नियन्त्रक सन्तोष अर्याललाई हटाएपछि बोर्डको परीक्षा शाखा काम चलाउ रुपमा सञ्चालन हुँदै आएको थियो ।

नयाँ नियन्त्रकको नियुक्ति सँगै कक्षा ११ को परीक्षा सञ्चालन मुख्य चुनौती देखिएको छ । पहिलो चरणको निर्वाचनका कारण एक महिना पछि थकेलिएको परीक्षा दोश्रो चरणको निर्वाचनका कारण फेरी सार्ने बोर्डको तयारी छ ।

पढ्नुहोस् : कक्षा ११ को परीक्षा फेरी पनि सर्ने

'बल्ल कार्यभार सम्हालेको छु, के कसरी गर्ने भन्ने बारेमा बोर्डमा छलफल गरेर मात्रै औपचारिक निर्णय गर्ने छौं' नवनियुक्त नियन्त्रक बतासले भने, 'चुनाव अघि गर्न त सकिदैंन, तर पछि कहिले गर्ने भन्ने बारेमा अहिल्यै भन्न सक्ने अवस्था रहेन ।'

कक्षा १२ को परीक्षामा विद्यार्थी संख्या यकीन नगरिकनै हचुवाका भरमा प्रश्नपत्र छपाई र वितरण गरिएको जस्तै कक्षा ११ को तयारी पनि त्यस्तै छ की भन्ने शंका निवारण नगरी हतारमा निर्णय नगर्ने बतासले बताए ।

'अहिले सम्मको तयारी र त्यसको आधिकारिकता पुष्टि भएपछि मात्रै अघि बढ्छौं' उनले भने, 'कक्षा १२ कै जस्तो तयारी पो छ की ! यस अघिको घटनाले शंका गर्ने ठाउँ बनाईदिएकोले सचेत भएको छु ।'

विक्रम सम्बत २०२७ सालमा तनहुँको दमौलीमा जन्मेका बतास जनप्रशासनमा स्नातकोत्तर हुन् । २०५२ सालमा बारा जिल्लामा सहायक जिल्ला सरकारी न्यायाधिवक्ताका रुपमा सरकारी सेवा प्रवेश गरेका बतास २०५३ सालमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्मा शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन् ।

२०६३ देखि २०६६ सम्म परिषद्को पोखरा कार्यालयका प्रमुख, गत जेठ देखि तीन महिना लाहान नकार्यालयका प्रमुख रहेका बतास त्यस अघि परिषद्कै अनुगमन शाखा प्रमुख थिए ।

गत भदौमा लहानबाट बोर्डको केन्द्रिय कार्यालय भक्तपुर आएपनि ९ महिना देखि उनी जिम्मेवारी विहीन थिए ।

प्रतिक्रिया